नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५ औं वर्षमा प्रवेश
काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्नका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताए । लघु, घरेलु तथा साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको बताए । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले ३५ वर्षमा महासंघ सात वटै प्रदेश, सबै जिल्ला, ३४१ वटा पालिकाहरुमा क्रियाशील रहेको भन्दै ३५ हजार भन्दा बढी उद्योगहरु महासंघका सदस्य रहेको बताए । उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको उनले बताए । सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीति मार्फत यसको व्यवस्था हुनुपर्ने बताए । देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुहरुको बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको निर्यात गृह स्थापनाका लागि महासंघले दिएको सुझावलाई बजेटमा नसमेटिएकोले यसलाई सुधार गरिनुपर्ने उनले बताए। महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै महासंघको स्थापना भएको स्मरण गराउँदै यस्ता उद्योगहरुलाई अर्थतन्त्रको इञ्जिन भनेर भने पनि व्यवहारमा देख्न नसकिएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार अञ्जना श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु शेभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका सचिवहरु महेन्द्र चित्रकार र रुद्र न्यौपाने, केन्द्रिय महिला उद्यमी समिति वागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रिय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो, सचिव दीपा शाक्य, महासंघ काठमाडौं जिल्ला अध्यक्ष सीता कार्कीलगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसकै अवसर पारेर महासंघ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासंघका संगठनहरुले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।
वाग्मती सरकार चालु आवकै हाराहारीमा ६० अर्बको बजेट ल्याउँदै
वाग्मती । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि ६० अर्ब रूपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए । आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताए । आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ । वाग्मती सरकारले चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रूपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार रूपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रूपैयाँ रहेको छ ।
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुंगा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए । ‘मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो,’ उनले भने, ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना ९डिसिआरएल०ले सहकार्य गरेको छ । निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ ।’ जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना ९डिसिआरएल०को सहकार्यमा निर्माण हुनेछन् । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी २ लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि २ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरू विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए । डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए । बिरुवा वितरण यसैबीच डिभिजन वन कार्यालय खोटाङले यस वर्ष विभिन्न प्रजातिका ८० हजार बिरुवा गाउँलेलाई वितरण गर्ने तयारी गरेको छ । कार्यालयको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत डालेघाँस, धुपी सल्ला, तेजपत्ता, जाकाराण्डालगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा उत्पादन गरेर वितरण हुन लागेको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भाँडबेँसीमा ४० हजार खयरका बिरुवा उत्पादन गरिएको छ । प्रतिगोटा १० रुपैयाँका दरले सामुदायिक वन उपभोक्ता समितिलाई भुक्तानी दिनेगरी खयरका बिरुवा उत्पादन गर्न लगाइएको डिभिजन प्रमुख दाहालले जानकारी दिएका छन् । डिभिजन वन कार्यालय खोटाङ तथा सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका बिरुवा यसै वर्ष वितरण गरिने जनाइएको छ । उत्पादित बिरुवा सामुदायिक वन उपभोक्ता समितिलाई निःशुल्क उपलब्ध गराइने छ ।
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताएका छन् । सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकांक्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय संगठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन् । सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग अभिवृद्धि, व्यापार लगानी र पर्यटनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने र विकासका गतिविधिमा सबै नागरिकलाई समाहित गरी गरिबीको दुष्चक्रमा परेका दशौँ लाखलाई त्यसबाट मुक्त गर्न बिम्स्टेक क्षेत्रमा अथाह अवसर र सम्भावना छन् ।’ प्रधानमन्त्रीले संगठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र र विविध सामथ्र्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा संगठनले क्रमशः प्रगति गरेको बताएका छन् । जनता–जनताबीचको सम्पर्क विस्तारको मुख्य भूमिकामा रहेको नेपालले यस क्षेत्रको साझा समृद्धिका लागि सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर अर्थपूर्ण साझेदारी र एकता तथा मैत्रीको भावनाका साथ काम गर्ने बताएका छन् । बिम्स्टेकको सफलतामा नै यो क्षेत्रको शान्ति, समृद्धि र जनताको साझा हित निहित रहेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले विकास परियोजनाको कार्यान्वयनका लागि बृहत् राजनीतिक प्रतिबद्धता तथा समझदारी कायम गर्न अपरिहार्य भएको बताएका छन् । उनले गत महिनादेखि लागू भएको बिम्स्टेक बडापत्र जनता केन्द्रित विकासका साथै बिम्स्टेक क्षेत्रको समग्र विकासमा सहयोगी भएको उल्लेख गरेका छन् । व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाी मुुलुकहरूको उपक्षेत्रीय संगठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो ।
नेको इन्स्योरेन्सद्वारा बिमा सर्भेयरको सूची दर्ता गर्न आग्रह
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरूलाई सूची दर्ता गर्न आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका इच्छुक व्यक्ति वा संस्थालाई सूची दर्ताका लागि आग्रह गरेको हो । आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा सूची दर्ता गराउन सकिने कम्पनीले जनाएको छ ।
नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने , न्यूनतम मूल्य कति ?
काठमाडौं । नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ । हकप्रद सेयरमा आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र आवेदन पेस गर्न सक्नेछन् । आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पाइनेछ । साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, के-के छन् मुख्य एजेण्डा ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको पाँचौं वार्षिक साधारण सभा आज पर्वतको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त सभले संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । वार्षिक साधारण सभा प्रयोजनार्थ संस्थाले गत जेठ १८ गते बुक क्लोज गरिसकेको छ ।
थानकोट-चन्द्रागिरि-चित्लाङ सडक एक महिना बन्द हुने
मकवानपुर । थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक डिभिजन कार्यालय, काठमाडौंका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए । यो सडकखण्ड मर्मत गर्न ३ करोड ९३ लाखमा ठेक्का लागेको छ । उनले सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरूपमा सडक बन्द गरिने बताए । थानकोट चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो । ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्नेलगायत काम गरिने इन्जिनियर श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले थानकोट–चन्द्रागिरी–चित्लाङ सडकको विकल्पमा फाखेल–सिस्नेरी–कान्तिराजपथ–त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेका छन् ।