विकासन्युज

प्रतिकित्ता ५०० रुपैयाँमा सर्पोट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । हाल संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहने सेयरधनीले ३५ दिनभित्र काठमाडौं टेकुस्थित कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् । तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

घोराही उपमहानगरपालिकाको बजेट २ अर्ब १५ करोड

देउखुरी । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आइतबार १५औं नगरसभामा आगामी बजेट सार्वजनिक गरेकी हुन् । घोराहीले चालु आवभन्दा २६ करोड ९४ लाख १८ हजार रुपैयाँ बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजारमध्ये ११ करोड ६३ लाख २० हजार रुपैयाँ अर्थात १४.०२ प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार रुपैयाँ अर्थात ८५.९८ प्रतिशत चालु खर्च रहेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजारमध्ये ३ करोड ६० लाख रुपैयाँ अर्थात ९८.७३ प्रतिशत पुँजीगत खर्च र ४ लाख ६२ हजार रुपैयाँ अर्थात १.२७ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजार मध्ये ५५ करोड ७१ लाख १२ हजार रुपैयाँ अर्थात ३५.६८ प्रतिशत चालु खर्च र १ अर्ब ४३ लाख ८६ हजार रुपैयाँ अर्थात ६४.३२ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ । कुल बजेटमध्ये १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२.३५ प्रतिशत चालु खर्च र १ अर्ब १५ करोड ६७ लाख ६ हजार रुपैयाँ अर्थात ४७.६५ प्रतिशत पँजीगत खर्च रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट ३० करोड ३१ लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ७० लाख २६ हजार ६ सय एक, संघीय रोयल्टी बाँडफाँटबाट ९ लाख ७३ हजार ३ सय ९९ संघीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार, र संघीय विशेष अनुदानबाट ७५ लाख रुपैयाँ व्यहोरिने जनाइएको छ । प्रदेश समानीकरण अनुदानबाट २ करोड २० लाख ४७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानबाट २ करोड २४ लाख ६२ हजार र प्रदेश समपूरक अनुदानबाट १ करोड ४० लाख रुपैयाँ व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो । असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको उपमहानगरले आइतबार बजेट ल्याएको हो । बजेटमाथिको छलफलका लागि यही असार ११ गते बिहान ७ बजे नगरसभाको बैठक बोलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आइतबार नगरसभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ ४८.६५ प्रतिशत र पुँजीगततर्फ ५१.३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेस गरेकी हुन् । उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट ८५ करोड रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संशाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् । उपमहानगरले वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरिएको अर्यालले बताइन् । यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल ११ मा एक सय बेडको अस्पताल स्थापनाका लागि रु पाँच करोड छुट्याएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि उल्लेख छ । बजेटमा बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ । शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको र शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड रुपैयाँ छुट्याइएको र ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्याएको पनि अर्यालले उल्लेख गरिन् । उपमहानगरले विद्यार्थीसँग नगरप्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयमा १० थप गरी २५ रुपैयाँ गराउने जस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । यस्तै यसवर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाइ, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड र उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेट विनियेजन गरिएको छ । मुख्य राजमार्ग, भित्री सडक सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । बजेटमार्फत जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध सङ्ग्रहालयजस्ता स्थानलाई नगरको गौरव सम्पदाका रूपमा प्रवर्द्धन गर्ने भनिएको छ । जितगढी किल्ला नजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् । बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि १ करोड, पैदलमार्गमा शिवमूर्ति निर्माणका लागि १करोड र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि १ करोड रुपैयाँ बजेटमा समावेश छन् । बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीयस्थलहरु जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने, रात्रिकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रूपमा रहेका छन् । बुटवललाई रोजगार र स्वरोजगारका स्थापित गर्न गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि रु तीन करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् । बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड रुपैयाँ छुट्याएको छ । मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतिक्षालय निर्माणका लागि रु दुई करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको बजेटमा उल्लेख छ । यस्तै, वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख तथा बुटवल वडा नम्बर १४ देखि १९ का ६ वडालाई ११– करोड रुपैयाँ विशेष विकास कार्यक्रममार्फत खर्च गर्ने गरी व्यवस्था गरिएको छ । बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । खेलकुदमा बुटवल १६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड रुपैयाा छुट्याएको बुटवलले आगामी आर्थिक वर्षमा मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ । यस्तै, खेलाडी उत्पादनका लागि खेलाडीलाई छात्रवृत्ति, प्रशिक्षण खर्च तथा पारिश्रमिक दिने र नगरको खेलकुद टोली निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

योजना आयोगद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन

काठमाडौं । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आज आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो । सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले हालसम्म ७६ प्रतिशतभन्दा बढी भौतिक प्रगति र ७० प्रतिशतभन्दा बढी वित्तीय प्रगति रहेको बताए । आयोजनाका लागि पछिल्लो समय १८ महिना समय थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने विश्वास कोइरालाले व्यक्त गरे । आयोगका सदस्य डा. फुयालका अनुसार आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् । ‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या देखिएको छ,’ फुयालले भने ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’ यी समस्या कसरी समाधान गर्ने भन्ने बारे आयोजनाले समयमै सोच्नुपर्ने उनको भनाइ छ । साथै, यी समस्या समाधान गर्न सने सुरुङमार्ग निर्धारित समयभित्रै सम्पन्न हुने देखिएको डा. फुयालले बताए । अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीसमेत सहभागी थिए ।

गरिमा विकास बैंकका ग्राहकलाई यी संस्थाको वस्तु तथा सेवामा ६० प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएकाे छ । बैंकका अनुसार सम्झौतापश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार Mentorlab edx ले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् । Mentorlab edx ले बालबालिकालाई Coding र AI(Artificial Intelligence) बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी विकास बैंकका ग्राहकले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित NG Market का वस्तु तथा सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभरि १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

निर्जीवन कम्पनीहरूले बेचे २६ लाख बीमालेख, राष्ट्रिय बीमा कम्पनी आक्रामक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले २६ लाख बढी बीमालेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूले २६ लाख ८ हजार ७९२ वटा बीमालेख बिक्री गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरूले २.८१ प्रतिशत अर्थात् ७१ हजार ३७६ वटा बीमालेख बढी बिक्री गरेका हुन् । ११ महिनाको अवधिमा विभिन्न ६ वटा कम्पनीको बीमालेख संख्या बढेको छ भने विभिन्न ८ कम्पनीको बीमालेख संख्या घटेको देखिन्छ । समीक्षा अवधिमा गत वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको बीमालेख संख्या बढेको छ । यस कम्पनीको ३०८.०५ प्रतिशत बढेर २ लाख ५ हजार ३४२ वटा बीमालेख बिक्री गरेको छ । गत वर्षको जेठसम्म कम्पनीले ५० हजार ३२२ वटा बीमालेख बिक्री गरेको थियो । यस्तै शिखर इन्स्योरेन्सको १८.०१ प्रतिशत बढेर २ लाख ८५ हजार ७३२ वटा, नेपाल इन्स्योरेन्सको १२.५९ प्रतिशत बढेर १ लाख ८५ हजार ९६४ वटा, नेको इन्स्योरेन्सको ९.४३ प्रतिशत बढेर २ लाख ७५ हजार ५६५ वटा, प्रभु इन्स्योरेन्सको ३ प्रतिशत बढेर १ लाख १२ हजार ८७६ वटा र दि.ओरिएन्टल इन्स्योरेन्सको २.५७ प्रतिशत बढेर ३७ हजार ३०७ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा विभिन्न ८ वटा निर्जीवन बीमा कम्पनीको बीमालेख संख्या गत वर्षको तुलनामा घटेको छ । नेशनल इन्स्योरेन्सको ०.१६ प्रतिशत घटेर ३० हजार ५१२ वटा, आइजिआई प्रूडेन्सियलको ३.७६ प्रतिशत घटेर २ लाख १४ हजार २९१ वटा, हिमालयन एभरेष्टको ४.२५ प्रतिशत घटेर २ लाख २९ हजार ६४० वटा, एनएलजी इन्स्योरेन्सको ५.३८ प्रतिशत घटेर १ लाख ७३ हजार ६१४ वटा बीमालेख बिक्री गरेका छन् । यस्तै, सिद्धार्थ प्रिमियरको १२.११ प्रतिशत घटेर २ लाख ७५ हजार ६०७ वटा, सगरमाथा लुम्बिनीको १४.०६ प्रतिशत घटेर २ लाख ६२ हजार ६५४ वटा, सानिमा जिआईसीको १५.८६ प्रतिशत घटेर १ लाख ३५ हजार २७१ वटा र युनाइटेड अजोडको १८.२० प्रतिशत घटेर १ लाख ८४ हजार ४१७ वटा बीमालेख जारी गरेका हुन् ।

सलिको र डेल्क्रेडा नेपालबीच उधारो बिक्री बीमा प्रवर्द्धन गर्न समझदारी

काठमाडौं । नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बीमासम्बन्धी विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपालबीच असार ४ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली बजार अनुरूप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ जसबाट व्यवसायी लगायत सरकारलाई पर्याप्त लाभहरू हुने देखिन्छ । समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रूपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु बताइएको छ । यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ । साथै, डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तर रूपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ । उधारो बिक्री बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुनेछ । व्यवसायलाई हुने फाइदाहरू यस प्रकारका छन्ः  जोखिम न्यूनीकरणः उधारो बिक्री बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ । क्रेडिट व्यवस्थापनः उधारो बिक्री बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउँदछ । वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ । स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन्। सरकारलाई हुने फाइदाहरू  आर्थिक स्थायित्वः सरकारले उधारो बिक्री बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ। कर राजस्वमा वृद्धि उधारो बिक्री बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ । सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्री बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ ।

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिक ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका हुन् । उनले ठगिएका नागरिकको सम्बन्धमा आफूले काम गरिरहेको बताए । फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको उनको भनाइ छ । उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशतमात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए । उनले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।