विकासन्युज

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा

काठमाडाैं । भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलालाई दिइएको छ । मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन भएको बताइन् । उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको जानकारी दिइन् । अर्याल आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए । अख्तियारले अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरिएकाे छ ।

किसान र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । दुबै कम्पनी एकापसमा गाभ्ने/गाभिने गरी राष्ट्र बैंकबाट स्वीकृति पाएपछि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका नाममा असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भएअनुसार कारोबार रोक्का गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

यसकारण लगानीकर्ताको रोजाइमा पर्दैछ फाइनान्स समूह

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा सूचिकृत १३ समूहमध्ये फाइनान्स समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढ्यो । सो समूह  १२८.८३ अंकले बढेसँगै २४६९.३० बिन्दुमा कायम भएको छ । आइतबार रिलायन्स फइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यति मात्रै होइन कारोबार रकमको आधारमा पनि सबैभन्दा धेरै फाइनान्सकै कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने सबै फाइनान्स समूहकै रहेका छन् । आइतबार पोखरा फाइनान्स, रिलायन्स फइनान्स र नेपाल फाइनान्स कारोबार रकमको शीर्ष तीन स्थानमा रहेका छन् । पोखरा फाइनान्सको मात्रै १७ करोड १३ लाख रुपैयाँको बारोबार भएको छ । यस्तै रिलायन्स फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ र नेपाल फाइनान्सको १३ करोड १६ लाख रुपैयाँ बराबरको बारोबार भएको छ । बिहीबार पनि यस समूहको सेयर सबैभन्दा धेरै १.८२ प्रतिशतले बढेको थियो भने बुधबार यो समूह २.६२ प्रतिशतले बढेको थियो । पछिल्लो केही दिन यता फाइनान्स समूहमा लगातार हरियाली छाएको छ । बजेटपछि लयमा फर्किन नसकेको सेयर बजार मौद्रिक नीतिको प्रतिक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । तेस्रो त्रैमासिक रिपोर्टमा केही फाइनान्स कम्पनीहरूकाे वित्तीय विवरण सकारात्मक देखिएका कारण पनि फाइनान्स समूह लगातार लगानीकर्ताको रोजाइमा पर्न थालेको लगानीकर्ताहरूको धारणा छ । लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कुनै पनि समूह बढ्नु र घट्नुमा अहिलेको अवस्थामा लगानीकर्ताले मौद्रिक नीति कुरेको हुनसक्ने बताउँछन् । ‘लगानीकर्ताहरूले कुन क्षेत्र रोज्नुहुन्छ त्यो त उहाँहरूको रोजाइको कुरा हो, तर अहिलेको अवस्थामा कुनै क्षेत्र बढ्नु र घट्नु भनेको लगानीकर्ताले मौद्रिक नीति कुरेका हुन सक्छन्,’ उनी भन्छन्, ‘मौद्रिक नीतिले सेयर बजारमा सुधार आउँछ कि आउँदैन, लगानीकर्ताहरूले गरेको माग पूरा हुन्छ कि हुँदैन र बजेटमा भनिए अनुसारको सुधार हुन्छ कि हुँदैन भन्ने अझै पनि दोधारमा नै छन् लगानीकर्ताहरू ।’ विगत केही महिनाबाट ओरालो यात्रामा रहेको सेयर बजार मौद्रिक नीतिले थोरै मात्र सम्बोधन गरिदियो भने सुधारको बाटोमा रहेको लगानीकर्ताहरूकाे भनाइ छ । यस्तै अर्का लगानीकर्ता तारा फुलेल बजारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूमा प्रयाप्त मात्रामा पैसा थुप्रिएका कारण पनि यो समूह लगानीकर्ताको रोजाइमा परेको बताउँछन् । ‘अहिलेको अवस्थामा बैंकमा पैसा थुप्रिएको छ, त्यति मात्रै होइन केही लामो समय लगानी गर्न चाहने लगानीकर्ताहरूको रोजाइमा पनि फाइनान्स पर्न सक्छ त्यसकै कारण हुनसक्छ फाइनान्स समूहमा हरियाली छाएको हाे।’ बजारमा फाइनान्स कम्पनीको सेयर मूल्य क्रमश बढिरहेको छ । पछिल्लो दुई वर्षयता सेयर बजारले उकालो यात्रा तय गर्न सकिरहेको छैन । तुलनात्मक रूपमा राम्रो वित्तीय सूचक भएका वाणिज्य बैंक कारोबार रकमका आधारमा टप २० भित्रै पर्न छोडिसकेका छन् । अधिकांश बैंकको सेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । डेढ सय रुपैयाँकै हाराहारीमा मूल्य झर्दा पनि वाणिज्य बैंकको सेयर लगानीकर्ताको रोजाइमा परेको देखिँदैन । फाइनान्स समूहको सेयर मूल्य भने दिनप्रतिदिन उकालो लागिरहेको छ । सेयर बजारका जानकारहरू भने फाइनान्सको सेयर संख्या थोरै भएका कारण चलखेल गरेर मूल्य बढाउने काम भइरहेको बताउँछन् । सेयर विश्लेषक मुक्ति अर्याल बजारले गति लिन नसकेका बेला कम सेयर भएका कम्पनीमा लगानीकर्ताको मुभ भइरहेको बताउँछन् । फाइनान्स कम्पनीमा बढी सेयर भएकाहरूले मूल्य बढाउन चलखेल गर्दा सिधासाधा लगानीकर्ता फस्ने जोखिम रहने उनकाे भनाइ छ ।

लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा, योगेश बने पहिलो

काठमाडौं । लाइफ कम्प्युटरले आयोजना गरेको छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ । आइतबार नाचघर जमलमा आयोजित एक कार्यक्रमकाबीच विजेताको घोषणा गरिएको हो । यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन् । त्यस्तै दोस्रो पद्मोदय माध्यमिक विद्यालयका सविना थापा र लिटल एञ्जल स्कुलका सुरेश महर्जन तेस्रो बनेको बताइएको छ । लाइफ कम्प्युटरले वि.सं २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गर्दै आएको छ । विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले आईटी क्षेत्रमा विद्यार्थीको सक्रियताले भविश्य उज्जवल बन्ने देखेको बताए । उनले विद्यार्थीले ‘कम्फर्ट जोन’बाट बाहिर आएर सुख र सुविधाको जिन्दगी त्याग्न सके प्रगति गर्न सकिने बताए । उनले समस्याको समाधानले अवसरको सृजना गर्ने बताए । जसले समस्याको समाधान गर्न उही व्यक्ति महान बन्ने उनको भनाइ थियो । लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले संस्थाले आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको बताए । ‘वेबसाइट कम्पिटिसन’को अवधारणा आफू अवसरबाट वञ्चित हुनुपर्दाको पीडाबाट जन्मिएको उनको भनाइ थियो । स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको र हामीले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ थियो । यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए ।

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

काठमाडौं । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा शुरू भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।

एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण

काठमाडौं ।  एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए ।उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने इच्छा व्यक्त गरे । एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे। डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाललगायतको उपस्थिति रहेको थियो ।

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन् । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ । यस सम्झौताअनुसार, नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । नबिल बैंकका सीईओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए । बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताए । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एक अर्कालाई सहयोग गर्ने बताए ।

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयुभी बुधबार सार्वजनिक हुँदै

 काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धी अटोकर्पले सेरेस ३को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको कम्पनीले जानकारी दिएको छ । सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभीप्रेमीबाट प्रशंसा बटुलेको कम्पनीले बताएको छ । ‘अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् । यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयुभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको कम्पनीको भनाई छ ।