‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’
वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन् । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेका छन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुन्छिन् । ‘आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ’, उनले भने, ‘कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।’ रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उनले बताइन् । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेकी छन् । ‘आमासँग लुगा सिलाउने सिकेँ । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ’, उनले भनिन्, ‘लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।’ डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुन्छिन् । सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेकी हुन् । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउँछिन् । ‘हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ’, उनले भनिन्, ‘वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।’ पहिरन बनाउन गाउँकै मानिस उनको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । ‘बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ’, उनले भनिन्, ‘सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ । रासस
यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँमा निर्धारण गरिएको छ । यो संस्थापक सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौं सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् । सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।
नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने
काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभा डाकेको छ । कोषको असार ९ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो । सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ । सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ ।
साढे १५ करोड लागतमा बिर्तामोड-शनिश्चरे सडक कालोपत्र
झापा । झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडक करिब साढे १५ करोड रुपैयाँको लागतमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा-६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन् । ‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब ५ सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी ७ मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए । सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो,’ उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।’ सडक कालोपत्रका लागि २५ करोड रुपैयाँको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिए पनि निर्माण कम्पनीले १५ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको छ ।
हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएको सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखिएको जानकारी दिएको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी, तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । उक्त सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म दिन सकिनेछ ।
प्रतिकित्ता ५०० रुपैयाँमा सर्पोट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । हाल संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहने सेयरधनीले ३५ दिनभित्र काठमाडौं टेकुस्थित कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् । तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।