विकासन्युज

साताको अन्तिम कारोबार दिन नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३३३ स्टकको ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर घटेसँगै कारोबार रकम पनि क्रमश घट्दै गएको छ । मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । विकास बैंकिङ उपसमूह ९ अंकले र म्युचुअलफण्ड ०.०७ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक बुधबार सर्वाधिक १.०३ प्रतिशत घटेको थियो । त्रिशूली जलविद्युतको सेयर सर्वाधिक ७.०९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार पनि कारोबार रकमको आधारमा सोही कम्पनी शीर्ष स्थानमा रहेको थियो । सो दिन कम्पनीको १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् । उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुुरु गर्नुपर्ने बताइन् । ‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस्, जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ’, उनले भनिन् । त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकिय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताए । कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताइन् । उनले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताइन् ।

पथलैया-हेटौँडा खण्डमा २ किलोमिटर ‘नमुना सडक’ एक साताभित्र तयार हुने

वीरगञ्ज । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दुरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमुना सडकका रूपमा स्तरोन्नति गर्न लागेको बताए । ‘यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ । पहिलो चरणमा पथलैया–हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौं,’ सूचना अधिकारी पाण्डले भने, ‘अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ, बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र ९डिबिएम० भइसकेको छ, दोस्रो चरणको अस्फास्ट कालोपत्र गर्ने काम दुईरतीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँं ।’ उनले वर्षा सुरु भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए । यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको लागत ४ करोड १२ लाख १७ हजार तीन सय ४८ रुपैयाँ रहेको छ । ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डको भनाइ छ । उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे । ‘हामीले परीक्षणको क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौँ, यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ,’ सूचना अधिकारी पाण्डले भने, ‘यो खण्डको सडक पहिलो चरणमा डिबिएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ, यो प्रविधिले सडक भासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौँ ।’

प्रतिनिधि सभाको विषयगत समितिमा सांसदहरू हेरफेर

काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन् । जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ । संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेको नाम हेरफेर गरिएको छ । त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानून न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको सभामुखले जानकारी दिए । त्यसैगरी रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ । टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ । सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ । प्रतिनिधि सभा सदस्य हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ भने असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पुर्याइएको छ ।

डेंगु फैलिन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग डेंगु संक्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेंगु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्, उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ, यसकारण पानी जम्न दिनु हुँदैन, यो काम व्यक्ति र समुदाय आफैंले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो,’ उनले भने । भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । ‘पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ, यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ, लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताए । ‘यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन, यो विषादी होइन, औषधीलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ,’ उनले भने । डेंगु सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔँ : सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिवद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको बताइन् । कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने जानकारी दिइन् । उनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्न सरकारको ध्यनाकर्षण गराइन् । लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरुलाई निरन्तरता दिनुपर्ने बताइन् । आफ्नो देशभित्र उत्पादन गर्न सकिने उत्पादनका वस्तुहरु पहिचान गर्दै उद्योग स्थापनामा जोड दिनुपर्ने बताइन् । वाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीहरुलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने जानकारी दिइन् । ‘विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्छ, निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्नुपर्छ, लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरुलाई निरन्तरता दिनुपर्छ’, उनले भनिन् । सांसद दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु आधा र अधुरा हुँदा खर्चिला बनेको बताइन् ।

बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रुपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानूनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भएपनि कानून कार्यान्वयन हुन नसकेको बताइन् । उनले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन् । कुनै कानूनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन् । कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने जानकारी दिइन् । ‘हाम्रो मुलुकी अपराध संहिताले त बाल विवाह गर्ने, गराउनेलाई कैद र सजाय नै तोकेको छ । तर यसका बाबजुद बाल विवाह हाम्रो देशमा निर्वाध रुपमा खुल्लम्खुल्ला कुनै रोकतोक बिनै भइरहेको छ । कार्यान्वयमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । शिक्षा र रोजगारीमा पनि लगानी बढाइयोस् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्नेकुरामा सरकारको ध्यान जाओस्’, उनले भनिन् । सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताइन् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

युरोपेली देशको भिसा पाउन किन गाह्रो छ ?

काठमाडौं । युरोपको सौन्दर्यले सबैलाई आकर्षित गर्छ । र, धेरै मानिस युरोप भ्रमण गर्न चाहन्छन् । तर, युरोपेली देशका लागि भिसा पाउन निकै गाह्रो छ । युरोपेली देशमा यात्रा गर्न एक विशेष प्रकारको भिसा आवश्यक छ, त्यो हो ‘सेन्जेन भिसा’ । युरोपेली देशहरूले मिलेर सेन्जेन क्षेत्र सिर्जना गरेका छन्, जहाँ भ्रमण गर्न सेन्जेन भिसा आवश्यक पर्छ । सेन्जेन क्षेत्रमा ती युरोपेली देश समावेश छन् जसले सेन्जेन सम्झौतालाई अपनाएका छन्, जसअन्तर्गत कुनै पनि सेन्जेन देशमा पासपोर्ट, भिसा वा परिचयपत्र बिना यात्रा गर्न सकिन्छ । सेन्जेन क्षेत्र २७ देश मिलेर बनेको छ । जसलाई सेगेन पनि भनिन्छ । यहाँ जानका लागि तपाईंलाई एउटा देशको सेन्जेन भिसा चाहिन्छ र यदि तपाईंले भिसा पाउनुभयो भने त्यहाँ गएपछि तपाईं बिना कुनै बाधा सेन्जेन क्षेत्रको जुनसुकै देशमा जान सक्नुहुन्छ । धेरै सेन्जेन देशहरूको भिसा पाउन गाह्रो छ । यी देश जानका लागि धेरै मानिसले अप्लाई गरेका भिसा आवेदनहरू अस्वीकार गरिन्छ । माल्टा, इस्टोनिया र बेल्जियम जस्ता देशहरूमा भिसा पाउन गाह्रो छ । त्यसैगरी युरोपमा आइसल्यान्ड, स्विट्जरल्यान्ड, लाटभिया र इटाली जस्ता केही देश छन् जसको भिसा सजिलै पाउन सकिन्छ । युरोपेली देशहरू घुम्नका लागि सबैभन्दा राम्रो मौसम गर्मी हो किनभने गर्मीमा पनि तापक्रम कम रहन्छ । युरोपमा अगस्टसम्म र कहिलेकाहीँ अक्टोबरसम्म गर्मीको मौसम हुन्छ, त्यसैले तपाईं यी महिनाहरूमा युरोप भ्रमण गर्ने योजना बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले ती सेन्जेन देशहरूबाट भिसाको लागि आवेदन दिन आवश्यक छ जहाँ भिसा अस्वीकार दर सबैभन्दा कम छ । एकपटक तपाईंले त्यो देशको लागि भिसा प्राप्त गरेपछि तपाईं सबै सेन्जेन देशहरूमा यात्रा गर्न सक्नुहुन्छ । तपाईंले पहिले जुन देशका लागि भिसा लिनुभएको छ त्यो देशमा जानुपर्ने छ, त्यसपछि तपाईं त्यहाँबाट बाँकी देशहरू भ्रमण गर्न सक्नुहुने छ । सबैभन्दा कम भिसा अस्वीकृत दर भएका सेन्जेन देशहरू देश अस्वीकृत दर आइसल्यान्ड- २.२ प्रतिशत स्विट्जरल्यान्ड- १०.७ प्रतिशत लाटभिया-११.७ प्रतिशत इटाली– १२ प्रतिशत लक्जेम्बर्ग- १७.७ प्रतिशत लिथुआनिया- १२.८ प्रतिशत स्लोभाकिया- १२.९ प्रतिशत जर्मनी- १४.३ प्रतिशत अस्ट्रिया- १४.३ प्रतिशत ग्रीस- १४.७ प्रतिशत एजेन्सी