काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेका छन् । सर्वसाधारणले नाराबाजी गरेपछि उनी केहीबेरमै फर्किएका छन् ।
गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि छोटो मन्तव्य राखेर फर्किएका हुन् ।
युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन ।
त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए ।
त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’