विकासन्युज

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सेवाग्राहीलाई फिर्ता हुने

काठमाडौं । सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ ।  त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो ।  प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो । त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो ।  अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ । सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने  छ ।

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

काठमाडौं । देवानगञ्ज गाउँपालिका-३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ । सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ । सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन् । सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।

आज खिर खाएर मनाइँदै साउन १५, किन खाइन्छ आजको दिन खिर ?

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरम मसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउनमा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने यसका जानकारहरूको भनाइ छ । तर यसको कुनै शास्त्रीय वचन भने कतै पाइँदैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन नेपाली समाजमा छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउखट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रशोधित दूधमा तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ‘ल्याक्टोज’ र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ । यस वर्ष आठौँ खिर दिवस मनाउन लागिएको हो ।

देशका अधिकांश भागमा वर्षा हुने, ३ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको  सम्भावना  छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ ।

वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्ग पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका-९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका-३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी-कुलेखानी-काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार जाजरकोट-डोल्पा सडक अन्तर्गत मूलपानी खोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र रघुगङ्गा गाउँपालिका-२ मा आज बिहान खरेको पहिरोले यो सडक पनि बन्द भएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

धनुषा कर्फ्यु: बिहान ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।  कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचारु रहने छन् । त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ ।

७ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई बिहीबार (आज) पक्राउ गरेको छ ।  चेक अनादरमा छ र बैंकिङ कसुरमा एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय र रु एक लाख आठ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ ।  कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।  

राष्ट्रका नाममा सम्बोधनपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । सुनसरीबाट सुरु भई तराई-मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव र त्यसबाट उत्पन्न सुरक्षा अवस्थाबारे देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । शीतल निवासका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई तराई-मधेशमा उत्पन्न तनाव साम्य पार्न सेना परिचालन भए/ गरेको जानकारी गराए । राष्ट्रपतिलाई सुनसरी, सिरहा लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति सेनाको परमाधिपति समेत हुन् । प्रधानमन्त्रीले सम्बोधनका क्रममा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका थिए ।  उनले सरकार शान्ति-सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको र हिंसामा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका थिए । शीतल निवासमा भइरहेको भेटमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, तराई-मधेशमा विकसित घटनाक्रम तथा सरकारले अघि बढाएका सुरक्षा र शान्ति स्थापनासम्बन्धी प्रयासबारे छलफल हुने जनाइएको छ ।