विकासन्युज

विशाल बिल्डिङ, कंक्रिटको काठमाडौं (फोटोफिचर)

काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो । तर, अहिले कंक्रिटको पहाड बनेको छ । तस्बिर न्यूज एजेन्सी नेपाल  

दुर्गाको बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसको अध्यापन गराउन अनुमति, अराजकता रोक्लान् ?

काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए । विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो । नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए । सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए । विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए । यो मेडिकल कलेजको सञ्चालक दुर्गा प्रसाईं हुन् । आफ्नो मेडिकल कलेजले अध्यापनको लागि सीकृति नपाएको आवेगमा सो प्रसाईंले अराजक किसिमका अभिव्यक्ति दिँदै आएका थिए । उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्ने बताउँदै आएका थिए भने बैंकरलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने अभिव्यक्ति दिँदै आएका थिए । अब सरकारले उनको मेडिकल कलेजलाई अनुमति दिएको छ । उनी भने अब आफ्नो अराजक अभिव्यक्ति र गलत कार्यहैली रोक्ने धेरैको अपेक्षा छ ।

१३ बिघा सरकारी जग्गा ७ भीआईपीको कब्जामा, टेरेनन् अदालतको आदेश, कर्मचारीको हारगुहार

काठमाडौं । पछिल्लो समय सरकारी जग्गा अतिक्रमण हुने विषय सामान्य भइसकेको छ । सामान्य मानिसभन्दा पनि राजनीतिक रुपमा ठूलो पहुँच भएका व्यक्तिहरुले सरकारी जग्गा अतिक्रमण गरेर अन्ततः आफ्नै नाममा नामसारी गर्न सफल हुन्छन् । त्यस्तै हेटौंडा पनि यस्तै विषयले अहिले प्राथमिकता पाएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा ठूलो समस्या भएको छ । केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण भएको छ । यसले केन्द्रलाई आफ्नो व्यवसाय गर्न समस्या भइरहेको बताएको छ । ‘केन्द्रका नाममा भएका जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्, कार्यालय प्रमुख सरोजकुमार यादवले भने, यसले माछापालन प्रभावित भएको छ ।’ कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाईं, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए । उनीहरुले जग्गा फिर्ता गर्न नमान्नुको कारण राजनीतिक पहुँच भएको बुझिएको छ । अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उनले जानकारी दिए । अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ । ‘अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए’, प्रमुख यादवले भने, ‘त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर, पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।” अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ । ‘अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ’, प्रमुख यादवले भने । तर, उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।’ यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताए । ‘अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भने, ‘त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।’ कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताए । उनले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिए । रासस

अब मधेसमा पनि एमबिबिएस पढाइ, ७५ प्रतिशत विद्यार्थी निःशुल्क पढ्न पाउने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए । सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । रासस

दशैंमा ठूल्ठूला सहरमा खसीबोका सप्लाई गर्ने बजार, खेतिपाती छोडेर बाख्रा पालनमा आकर्षण

फाइल फाेटाे काठमाडौं । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएक ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भने, “खसीबोका पाँच हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । “व्यापारको टुङ्गो हँुदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ”, उनले भने । पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताइन् । राईले मासिक पाँच लाख रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, “पुख्र्यौली पेसा खेती किसानी हो, तर विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु ।” प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उनी बताउँछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् । धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । प्रत्येक साता एक सयदेखि एक सय ५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताए । काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए । सबै खर्च कटाएर मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ । चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ । उनले वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको बताए । धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उनले जानकारी दिए ।

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि अर्थसमितिमा छलफल हुँदै, आइतबार बोलाइयो बैठक

काठमाडौं । आइतबार अर्थ समितिको बैठक बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । पछिल्लो समय बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको विषयमा व्यापक छलफल भएको छ । त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

जर्मनले नेपाललाई वित्तीय र प्राविधिक गरी ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

  काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ । सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो। वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्त्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ । जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । सो क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरणलगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ । नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले गरेका थिए भने जर्मन सरकारको तर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी संघीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेकी थिइन् । सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको पनि उपस्थिति थियो ।  

महासंघले गर्‍यो प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई सम्मान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई रु तीन लाख रुपैयाँसहित सम्मान गरेकाे हाे । उनी प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । यसैगरी, महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख २५ हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे छ । सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरू प्रतिभावान छन्,’ अध्यक्ष ढकालले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकार सँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’ २१ वर्षीया गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी हुन् । पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालकाे लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ ।