विकासन्युज

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बराल र सहायक महाप्रबन्धकमा थापा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव(नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव–नियुक्त सहायक महाप्रबन्धक थापा विगत ७ वर्षदेखि यस विकास बैंकमा आबद्ध थिए । हाल उनले प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

टेकुबाट भद्रकाली सर्‍यो प्रहरी परिसर काठमाडौं

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबादेखि काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ। यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो । भद्रकालीस्थित भवन कुल ८० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ । भवन आठ तलाको छ ।

आजदेखि एकीकृत कारोबार गर्दै समता घरेलु र मनकामना स्मार्ट लघुवित्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकीकृत कारोबार सुरु गर्दैछ । गत जेठ २९ गते काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर-५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो । मर्जरपछिको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा-७ मा रहनेछ । यस्तै, डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।

सर्वसाधारणका लागि आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले बिक्री गर्न लागिएको सेयर संख्या भने खुलाएको छैन् । कम्पनीको उक्त संस्थापक सेयर संस्थापक सेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो । यो सेयर खरीद गर्न इच्छुकले असार २३ गतेले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।

वर्षाका कारण नारायणगढ-बुटवल सडक विस्तारको काम ठप्प

नवलपुर ।  निरन्तर परेको वर्षाको कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको कामभन्दा पनि यातायात सहजरूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए । ‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोत घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको १ सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ । ‘निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’ निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले बताए ।

८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा ८ वटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ । विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिए । विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुंगा खानीको प्रवर्द्धन सम्पन्न गरेको र उक्त समयमा ५८ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

बाढीपहिरोका कारण मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ५४ घाइते

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बाढीपहिरोमा परी काठमाडौं एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ । यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौं तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् । यसैगरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी परिहामै परी एक सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् । भारी वर्षाका कारण आज पनि देशभरिकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दियालो बंगला सर्वसाधारणका लागि खुला

चितवन । भरतपुरमा रहेको दियालो बंगला आइतबारबाट सबैका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गरेका हुन् । नेपाल ट्रष्टको मातहतमा रहेको बंगला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो । मन्त्री तामाङले इतिहास जोडिएको बंगला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहाने जो कोहीका लागि महत्वपूर्ण हुने बताए । उनले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान हुने र भाडादर घट्ने हुँदा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरले सञ्चालन र व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ, यसले पनि पर्यटकको सङ्ख्या वृद्धिमा योगदान गर्नेछ,’ मन्त्री तामाङले भने । ट्रष्टले पूर्वराजपरिवारको सम्पत्तिको अध्ययन, अवलोकन एवं आवश्यकताअनुसार प्रयोग गर्दै आएको उनले बताउनुभयो । महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको अवसर पारी ट्रष्टसँगको सहमतिमा महानगरपालिकाले बंगला सबैका लागि खुला गरिएको बताइन् । उनले भनिन्, ‘वषौंदेखि आमनागरिकले के होला भनेर उत्सुकताका साथ हेरिरहेको दरबार अब प्रत्यक्ष हेर्न पाउने छन् । यसले आन्तरिक र बाह्य पर्यटक बढाउने आशा छ ।’ अब कार्यविधि बनाएर सञ्चालन बंगलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताइन् । भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बंगला सञ्चालनमा ल्याउन सकिएको उनको भनाइ छ । उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा सञ्चालनसम्बन्धी सम्झौता भइसकेको थियो । ट्रष्टले ट्रष्टले ९२ लाख रुपयाँमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो । भरतपुर महानगरपालिका–१ मा रहेको बंगलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ । भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले राजपरिवारको इतिहाससँग जोडिएको ठाउँ भएर पनि आमनागरिकको पहुँचभन्दा बाहिर रहेकाले महानगरले सबैका लागि खुला गर्न पहल गरेको बताए । उनका अनुसार ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय छ । बंगलाको पश्चिमतर्फ रहेको नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । ट्रष्ट सञ्चालक समितिका सदस्य सुनिता गौतमले पर्यटन प्रवर्द्धनका लागि दियालो बंगला उपयुक्त स्थान रहेको बताइन् । राजपरिवारको इतिहास बुझ्न यो बंगला महत्वपूर्ण रहेको भन्दै उनले ट्रष्टले यसअघि पोखराको रत्नमन्दिरसमेत सबैका लागि खुला गरिसकेको जानकारी दिइन्। मकवानपुरमा रहेको कान्ती इश्वरी गृहसमेत संञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । होटल व्यवसायी महासंघक अध्यक्ष दिनेशकुमार चुकेले पर्यटन प्रवर्द्धनका लागि स्थानीय र नीजि क्षेत्रको सहकार्यमा भएको काम उदाहरणीय रहेको बताए। सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न सके पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने उनको भनाइ छ ।