१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
ढोरपाटन । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा काठमाडौंदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारीसाधान ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताए । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ । रानाले भने, ‘अहिले निकै ठूलो पानी परिरहेको छ, माथिबाट पहिरो पनि निरन्तर खसेको हुँदा खुलाउन समस्या भएको छ, यद्यपि मेसिन लगाएर काम गरी रहेका छौं, रात्रिबसहरू सडकमा रोकिएका छन्, रुकुमपश्चिम, जाजरकोटलगायतका ठाउँमा जाने यात्रुहरु छन्, अन्य धेरै गाडीहरू पनि पहिराले गर्दा रोकिएका छन् ।’ बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरूपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरा जाँदा करिडोर पूर्णरूपमा ठप्प भएको हो ।
भारतीय नम्बरको हुण्डाई हुइँक्याएर काठमाडौंमा गैरकानुनी धन्दा, केजीका केजी चाँदी राखेर यसरी हुन्छ बिक्री
काठमाडौं । भारतीय नागरिकले काठमाडौंमा आएर गर्ने अर्को अपाराधिक कार्यको खुलासा भएको छ । भारतीय नागरिकले काठमाडौंमा आएर खुलेआम रुपमा चाँदीका गरगहना बिक्री गर्ने गैर कानुनी कार्यको खुलासा भएको हो । भारतीय नागरिकले भारतीय नम्बर प्लेटको गाडीमा नै आएर काठमाडौंमा गैरकानुनी आएर काम गरेको खुलेको हो । केही दिनअघि ललितपुरबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको सवारी साधनमा अबैध रुपमा चाँदीको गरगहनाहरु ल्याई अबैध रुपमा काठमाडौका विभिन्न स्थानमा बिक्री बितरण गरेको सूचना प्रहरीसमक्ष पुगेको थियो । सो खबर स्थानीयले प्रहरीलाई गरेपछि प्रहरीले त्यसको खोजतलास गर्दा अबैध कार्य गरेको भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले त्यस्तो गतिविधि गर्नेको निगरानी गर्दा काठमाडौंको सानो गौचरणस्थित अटो सर्भिसेज प्रा.लि.नामको अटो वर्कशप भित्र रोकी राखेको अवस्थामा हुण्डाई कम्पनिको भारतीय नम्बर प्लेटको रातो रंगको हुण्डाईको गाडी चेकजाँच गर्दा सो गाडीमा चाँदीका गरगहना भेटिएका छन् । ‘सो गाडीको पछाडी पट्टीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा १४.२५० केजी चाँदीको गरगहनाहरु फेला परेको छ, उक्त गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरिएको छ,’ सीआईबीले भनेको छ । सीआईबीले उक्त कार्यमा संलग्न भारतीय नागरिक २२ वर्षीय विनोद सर्राफ,भारत रक्स्यौलका २६ वर्षीय बिकि कुमार साह र सवारी चालक पर्साका ३४ वर्षीय श्रवण प्रसाद कानुलाई पक्राउ पनि गरेको छ । सीआईबीले थप अनुसन्धानका लागि उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
काठमाडौं महानगरले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा
काठमाडौं । एसईई फेल भएका अथवा ननग्रेडेड भएका विद्यार्थीहरूका लागि काठमाडौं महानगरपालिकाले तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षामा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका विद्यार्थीका लागि तयारी कक्षा सुरु गरिएको महानगरले जनाएको छ । परीक्षामा सहभागी भई दुईवटा ननग्रेडेड भएका विद्यार्थी ८सय ७३ जना रहेका छन् । विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरू पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएकाे महानगरकाे भनाइ छ । महानगरभित्रका सामुदायिक विद्यालयहरूले गएको वर्षभन्दा यो वर्ष एसईई नतिजा सुधारेका छन् । एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५ सय ४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको महानगले जनाएको छ । गएको वर्ष अर्थात २०७९ सालको एसईई परिक्षार्मा एक सय ५० जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । महानगरका ५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना उत्तीर्ण हुँदा ८ सय ७३ जनाले पुनः परीक्षा दिनुपर्ने भएको छ ।
१४ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रूपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ । एसपी बोगटीका अनुसार गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरू बरामद गरिएको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
सिटिजन्स बैंक र कावासोती हस्पिटलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुर स्थित कावासोती हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ ग्राहकहरूले कावासोती हस्पिटलका सेवामा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिन गएकाे बताएकी छिन् । त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा नियुक्ति नहुने बताएकी हुन् । ‘त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए, त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ, शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । मन्त्री श्रेष्ठले यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार समेत व्यक्त गरेकी छन् । साथै, उनले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्यबारे जिम्मेवार सबैले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत उल्लेख गरेकी छन् । ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ, यो विनियम मस्यौदा गरि जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्छु,’ उनले लेखेकी छिन्, ‘साथै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले–हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिनैपर्छ ।’
असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौ : प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए । उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने जानकारी दिए । ‘२८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं, अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं’, उनले भने । प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने जानकारी दिए ।
दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन
काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आइतबार संसद बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले–कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको उनले बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए । उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए । एमाले–कांग्रेस गणतन्त्र ,संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए ।सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरू खाल्न सुरु गर्दा एमाले र कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप उनले लगाए । उनले सरकारले तत्काल कुनै पनि अनैतिक काम नगर्ने जानकारी दिए ।