विकासन्युज

त्रिदेवी मन्दिरमा महानगरको डोजर, सम्पदा प्रेमीले गरे स्वागत

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन शुरु गरेको छ । ठमेलको मुख्य केन्द्रमा रहेको प्रसिद्ध त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको हो ।  सोमबार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पुर्यारइरहेका संरचनाहरू हटाएको हो । त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो । यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ । सम्पदा प्रेमीहरूले भने महानगरको यो कदमको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन् ।    

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि सोमबार यहाँ आएका छन् ।      उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । 

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।      उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान तथा पहिचान उच्च र अक्षुण्ण राख्न योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए ।       विसं १९९७ मा बैतडीमा जन्मिएका वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र ‘नेताका साथी’लगायत कृति प्रकाशित छन् ।      यसैगरी, प्रज्ञाप्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार बोधिसव स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्वपूर्ण योगदान दिएर विश्वसमुदायमा नेपाली अध्यात्म, दर्शन र सभ्यताको विशिष्ट स्थान, पहिचान तथा सम्मान अभिवृद्धिमा योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठान सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए ।   विसं २००१ मा जनकपुरमा जन्मिएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन् । आनन्द अरुणका कृतिहरु अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन् । दुवै पुरस्कारको राशि जनही रु ७५ हजारसहित सम्मानपत्र रहेको छ । रासस 

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।      रास्वपाका प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ ।       आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।     

नेपाल लाइफको २५औँ वर्षमा ‘पुनर्जागरण योजना’, विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरिएको हो । यसअन्तर्गत २०८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो छुट योजना ल्याएको जनाएको छ । ३० दिनको अवधिमा लागू हुने यस योजनाबाट व्यतीत बीमालेख भएका बीमितहरूले उल्लेख्य लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नेपाल लाइफले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले योजना ल्याइएको बताए । उनले बीमितहरूलाई यस अवसरको उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गरे ।  

असिनाले ७४ सवारीसाधनको सिसामा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो । कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।  

व्यापक विनाशका र युद्धविरामकाबीच लेबनानीहरू घर फर्किंदै

काठमाडौं । यस हप्ता दक्षिणी लेबनानको लिटानी नदीमा कारहरूको लामो लाइन देखियो । १० दिने युद्धविराम पछि परिवारहरू घर फर्कन थालेका थिए । कासमीयेह पुल लगायतका मुख्य पूर्वाधारहरू क्षतिग्रस्त भएकाले स्थानीय अधिकारी र स्वयंसेवकहरूले हतारमा बनाएको अस्थायी क्रसिङको भर पर्न बासिन्दाहरू बाध्य भए । भग्नावशेष हटाउन र सवारी साधनहरूलाई मार्गनिर्देशन गर्न एक्साभेटरहरूले चौबीसै घण्टा काम गरे, जबकि केही चालकहरू तर्नका लागि कम गहिरो पानी हुँदै गाडीहरू अगाडि बढाए ।  बासिन्दाहरूको फर्किने प्रक्रिया दृढता र विनाश दुवैको बीचमा भयो । गाउँतर्फ जाने साँघुरो सडकहरूमा लामो गाडीहरूको लाइन थियो, जसमध्ये धेरै हालैका इजरायली हवाई हमलाहरूमा नराम्ररी क्षतिग्रस्त भएका थिए । नगरपालिकाहरूका टोली र नागरिक सुरक्षा टोलीहरूले सडकहरू खुलाउन र ट्राफिक व्यवस्थापन गर्न निरन्तर काम गरे । जब मानिसहरू गाउँ पुगे, धेरैले सबैतिर व्यापक विनाश देखे । पूरै छिमेकहरू भग्नावशेषमा परिणत भएका थिए, घरहरू भत्किएका थिए र आधारभूत सेवाहरू ठप्प थिए। केही बासिन्दाहरू आफ्ना घरका अवशेषहरूमाथि मौन उभिएका थिए भने, अरूहरू सामानको खोजीमा भग्नावशेषहरू पल्टाउँदै थिए । फर्किनेहरूको पहिलो लहरको बाबजुद, अनिश्चितता अझै उच्च छ । हिजबुल्लाहका अधिकारीहरूले चेतावनी दिएका छन् कि युद्धविराम नाजूक छ र इजरायली हमलाहरू कुनैपनि बेला फेरि हुन सक्छन्, त्यसैले उनीहरूले बासिन्दाहरूलाई खतरामा पर्न सक्ने ठाउँहरूमा नबस्न आग्रह गरेका छन् । नतिजा स्वरूप, केही परिवारहरू पहिले नै फेरि बाहिरिएका छन्, पुनर्निर्माणको योजनाहरू ढिलो गर्दै, किनकि सुरक्षा चिन्ताहरूले यस क्षेत्रको जीवनलाई छायामा पारेको छ ।   

निफ्राले शून्यमा झार्यो खराब कर्जा, वितरणयोग्य नाफा ५३.७७ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २८.५३ प्रतिशत घटेर ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७६ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेर २ करोड २२ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत घटेर १ अर्ब १० करोड ३५ लाख २ हजार रुपैयाँ र सञ्चालन नाफा २८.४२ प्रतिशत घटेर ९२ करोड २ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५२ लाख ४८ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ०.२३ प्रतिशत र कर्जा लगानी १६.५१ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७३.५५ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा शून्यमा झारेको छ । जबकि गत वर्षको चैतमा ०.२१ प्रतिशत खराब कर्जा थियो । बैंकका अनुसार आधार दर ६.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.०५ प्रतिशत थियो ।  बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर ३.९७ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा छ ।