विकासन्युज

दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५७३ मिलिमिटर वर्षा मापन

सुदूरपश्चिम । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ । यस्तै आइतबारनै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले खोजी गरिरहेको छ । शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ । सबैभन्दा बढी वर्षा मापन जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।’ अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ । धनगढीमा गएको १२ घण्टामा एकसय ८४.७ मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गरे । दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ ।

सम्पदा लघुवित्तले असार ३० गतेदेखि कारोबार सुरु गर्ने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि कारोबार सुरु गर्ने भएको छ । साधना लघुवित्त र सबैको लघुवित्त संस्था एक आपसमा मर्ज भई आगामी असार ३० गतेदेखि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले सम्पदा लघुवित्त वित्तीय संस्थालाई अनुमति दिएको हो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । यस्तै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् । एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेशन गर्नुपर्ने भएकाले असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने संस्थाले जनाएका छन् । साधना र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने गत बैशाख १२ गते अन्तिम सम्झौता भएको थियो । दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ ।

बैंकले विदेशी आयोजनामा मात्रै लगानी गर्दा हामीले ऋण पाएनौं : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था,नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका परियोजनामा मात्रै कर्जा प्रवाह गर्दा नेपाली लगानीका आयोजनाले ऋण नपाएको गुनासो गरेका छन् । सोमबार ईप्पानले पत्रकारहरूका लागि उर्जा विकास विषयकमा प्रशिक्षण दिँदै उनले यस्तो गुनासो गरेका हुन् । उनले बैंकले विदेशीले लगानी गरेका परियोजनामा मात्रै प्राथमिकता दिँदा नेपाली प्रबर्द्धक समस्यामा परेको बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले हाइड्रोपावरमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ, बैंकले विदेशी आयोजनामा सो सीमा लगानी गरेर नेपाली आयोजनामा लगानी नगर्ने अवस्था छ, यसले हामीलाई समस्या सिर्जना गरेको छ,’ उनले भने । उनले अब नेपाली लगानीकर्ताले ऋण नै नपाउने होकि भन्ने चुनौती थपिएको धारणा राखे । उनले विद्युत विधेयकको अस्पष्टताको कारण अब सरकारले आयोजना बनाउँछ, विदेशीले बनाउँछ वा निजी क्षेत्रले बनाउँछ भन्ने विषयको दुविधा देखिएको पनि बताएका छन् । अब नेपाली प्रबर्द्धकहरु हाइड्रोपावरमा अगाडि बढ्न सक्छौं कि सक्दैनौं भन्ने दुबिधा सिर्जना गरेको पनि बताए । उनले अहिले परियोजनाको प्रतिफलको पनि समस्या भएको बताए । ‘धेरैले आयोजनाको लागत कम भएका आयोजनाले पनि प्रतिफल दिन सकेका छैनन् भनिरहनु भएको छ, अहिले अधिकांश परियोजनाले प्रतिफल दिन सकेका छैनन्, ट्रान्समिसन र ब्याज लगायतका कारणले आयोजनाले प्रतिफल दिन नसकेका हुन्, जलविद्युतमा हरेक दु:ख छन्,’ उनले भने । यस्तै, उनले प्रदेश तथा स्थानीय तहले पैसा चाहियो भनेर दु:ख दिने गरेको गुनासो पनि गरे। सरकार एकातिर र निजी क्षेत्र अर्कैतर्फ दगुरिरहेको धारणा उनको छ ।

भारतीय क्रिकेटर धोनीसँग साढे १० अर्बको सम्पत्ति, दर्जनौं व्यवसायमा लगानी

काठमाडौं । महेन्द्र सिंह (एमएस) धोनी भारतका सबैभन्दा धनी क्रिकेटर हुन् । उनको कुल सम्पत्ति १० अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । उनको उत्कृष्ट क्रिकेट करियरले उनको कमाइमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यद्यपि, धोनीका धेरै यस्ता व्यवसाय र उद्यमहरूमा पनि लगानी छ, जसले उनको सम्पत्ति बढाउन मद्दत गरिरहेकाे छ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान एमएस धोनी चर्चित कपडा ब्रान्ड ‘सेभेन’ का मालिक हुन् । उनले विज्ञापनबाट पनि मनग्ये आम्दानी गर्छन्। चेन्नई सुपर किङ्स स्टारसँगै उनका अन्य धेरै व्यवसायहरू छन् । धोनीको गृहनगर राँचीमा माही रेसिडेन्सी नामक मिड रेन्ज होटल छ। यो एयरबीएनबी, ओयो र मेक माई ट्रिप जस्ता लोकप्रिय हस्पिटालिटी प्लेटफर्महरूमा सूचीबद्ध छ । धोनीले बैंगलोरमा एमएस धोनी ग्लोबल स्कुल पनि खोलेका छन्। यो सीबीएसई अंग्रेजी माध्यमको विद्यालय हो । माइक्रोसफ्टका सत्य नाडेलासँग साझेदारी गरेर यस विद्यालयले विद्यार्थीहरूलाई फरक प्रकारको शैक्षिक अनुभव प्रदान गर्दछ । धोनीले बेभरेज ब्रान्ड र चकलेट कम्पनी सेभेन इंक ब्रुजमा पनि लगानी गरेका छन् । यसले धोनीको सिग्नेचर हेलिकप्टर शटबाट प्रेरित भएर कप्टर सेभेन लन्च गरेको थियो । क्रिकेट स्टार धोनीले ठूलो जिम चेन पनि चलाउँछन् । यसको नाम धोनी स्पोर्ट्सफिट हो । उनी यसका मालिक हुन् । यो जिम चेन देशभरि २ सयभन्दा बढी स्थानमा सञ्चालन छन् । धोनीले आफ्ना विभिन्न व्यावसायिक उद्यममार्फत क्रिकेट आइकनको रूपमा आफ्नो हैसियत मात्र सीमित गर्दैनन्, यसले उनलाई एक सचेत उद्यमीका रूपमा पनि स्थापित गरेको छ। एजेन्सी

चितवनमा एक अर्ब लगानीकाे रिसोर्ट सञ्चालन

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा १ अर्ब रुपैयाँभन्दा माथिको लगानीमा  ‘मुनाल एण्ड मयूर’ रिसोर्ट सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहन अनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् ।उनले भने, ‘लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै  हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।’ रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’ समेत जडान गरिएका छन् । उनले भने, ‘रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ, सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन्, पौडीपोखरी भिल्लाभित्रै छन्, एउटा भिल्ला सञ्चालनमा आइसकेको छ, दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।’ उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । उनले भने, ‘यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौँ, संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ, यहाँभित्र पोलिक्लिनिकसमेत छ, विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।’ पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् । यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । व्यवसायी लामाले भने, ‘चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ, रिसोर्टमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी १ अर्बमाथि नै पुग्ने छ ।’ यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका हुन् । रासस

तेह्रथुम पावरको लकइन अवधि साउन २७ गते सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको लकइन अवधि आगामी साउन २७ गते सकिने भएको छ । कम्पनीले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि साउन २७ गते सकिने भएको हो । लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा) मा निष्कासन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँड गरेको थियो । कम्पनीको हाल २८ लाख कित्ता संस्थापक सेयर, ४ लाख कित्ता स्थानीय बासिन्दाको सेयर र १६ हजार कित्ता कर्मचारीको सेयर लकइनमा रहेको छ ।

२१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । कार्यालयले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका नवीकरण गर्न लागेको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ । साथै, कार्यालयले १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ । यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागी ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । इलेक्ट्रिक कारको वर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो । सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसंग जोडिएको छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारको टप स्पिड १४० किलोमिटर छ । यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै, सी३ को ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, एविएस, ईबीडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ । यूरो एनक्यापमा यसले सुरक्षाका लागी फोर स्टार रेटिङ पाएको छ ।