ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो, निक्षेप ५ खर्ब
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको बैंकले जनाएको छ । साथै, हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको बैंकले बताएको छ । ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
खुकुलो मौद्रिक नीतिको खबरले साढे १५ अर्बको कारोबार, ५ कम्पनीको सेयरमा सर्किट
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ का लागि खुकुलो मौद्रिक नीति सार्वजनिक गर्ने खबरले लगानीकर्ता उत्साहित भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारसँग सम्बन्धित नीतिहरूमा सहज गर्ने चाल पाएपछि लगानीकर्ताहरू उत्साहित भएर सेयर बजार बढेको सेयर जानकारहरू बताउँछन् । यसपटकको मौद्रिक नीतिमा पुँजी बजार सुधारका लागि सेयर कर्जामा तोकिएको व्यक्तिगतमा १५ र संस्थागतमा २० करोडको सीमामा केही परिवर्तन गर्न सक्ने आँकलन लगानीकर्ताहरूले गरेका छन् । साथै, सेयर कर्जाको १२५ प्रतिशतको जोखिम भारलाई १ सय प्रतिशतमा झार्ने, लोन टू भ्यालू रेसियोलाई सुधार गर्ने, बैक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर बिक्री गर्न पाउने व्यवस्था गर्न सक्ने भएकाले पुँजी बजार बढेको एक लगानीकर्ताले बताए । उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा चित्रण गरेपछि पनि लगानीकर्तामा मनोबल बढेको छ । संसदका दुई ठूला दलको नै संयुक्त सरकार बनेपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको ती लगानीकर्ताले बताए । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंक बढेर २ हजार ४२४.३२ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ अकंमा पुगेर बन्द भएको थियो भने मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा बन्द भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेदेखि पुँजी बजारमा रौनकता छाउन थालेको हो । बिहीबार ३१२ कम्पीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १ लाख ८४ हजार ७१२ पटक खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । बुधबारका दिन १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ र मंगलबार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्सेमा लामो समयपछि बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त, र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, कुमारी बैंकको ९.५३ प्रतिशत, प्रभु बैंकको ९.५१ प्रतिशत, रिभरफल्स पावरको ९.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।
चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयातमा रोक लगाउन सरकारलाई निर्देशन
काठमाडौं । चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भिर असर पारेको र विभिन्न रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । उनले नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने पनि बताए । ‘चुरोडमा प्रयोग हुने फलेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भिर रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिन्छौं’, उनले भने । उनले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धि कच्चा पदार्थहरुको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।
माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो सुविधा आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहकका साथै देश विदेश यात्रा गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । अन्य कार्डभन्दा फरक रहेको ‘नियोन क्रेडिट कार्ड’ को डिजाइन आकर्षक रहेको छ । ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसामार्फत सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम भएको बैंकले जनाएको छ । नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरिका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरूमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् । साथै ५ हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन् । यसबाट ग्राहकले प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति गर्ने विश्वास बैंकले लिएको छ । नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुट सम्बन्धी विवरणको बारेमा बैंकको वेभसाइट, सामाजिक सञ्जाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने बैंकले जनाएको छ । नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकको योजना छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नियोन क्रेडिट कार्ड सुविधाले ग्राहकको नवीनतम आकांक्षाहरू सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
देशको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको जानकारी दिए । ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन’, उनले भने । उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ ।
जुसको बट्टामा लुकाइएको ४ करोडको कोकिनसहित ठमेलको होटलबाट २ विदेशी पक्राउ
काठमाडौं । जुसको बट्टामा लुकाएर ल्याइएको १ किलो १०० ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई बिहीबार लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको हो । अन्सारीलाई असार १ गते काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्यासुल लुकाइ छिपाइ गरी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनको साथबाट १ केजी १०० ग्राम बराबरको कोकिन बरामद गरिएको ब्युरोले जनाएकाे छ । अन्सारीले काठमाडौं-९ पिङगलास्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीका अनुसार असार १ गते कतार एयरलाइन्सबाट नेपाल आएका ओबोडोइफुलाले कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर कोकिन ल्याएको पाइएको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे । उनले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताए । उनले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए । उनले मुख्य दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको जानकारी दिए । ‘हामी सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचिमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीजी चौथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले के महशुस गरेका छौँ भने देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ’, उनले भने । उनले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताए ।
नेपालकै इतिहासमा पहिलो पटक राष्ट्र बैंकमा अहिले विदेशी मुद्राको थुप्रो लागेको छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राकाे थुप्राे लागेकाे बताएका छन् । बिहीबार काठमाडौंमा रास्वपाले आयोजना गरेको ‘नीति मन्थन’ (मौद्रिक नीतिबारे अन्तरक्रिया) कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालकै इतिहासमा यति धेरै विदेशी मुद्राको थुप्रो राष्ट्र बैंकमा लागेको सायद पहिलोपटक होला ।’ अर्थविद्समेत रहेका डा. वाग्लेले अर्थतन्त्रका वित्तीय र मौद्रिक गरी दुई पांग्रा हुने र त्यसैले वाह्य तथा आन्तरिक पाटाहरूलाई डोर्याउने तर्क गरे । यसै कारणले मौद्रिक नीतिमा सबैको ध्यान जाने उनले बताए ।