विकासन्युज

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६ सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’  सम्पन्न भएको छ।  अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरूको उपस्थिति थियो ।  कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्नु पारेका थिए । साथै उनले कम्पनीको बारेमा बोल्दै कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहेनत र प्रविधिको प्रयोग मुख्य रहेको र अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरुमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको बताए ।  आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरूको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरी सहयोग गरिरहने बताए । यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८२।८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेको बताए ।  उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनाहरु प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष  परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई  थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ ।  उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड वितरण गरेका थिए । अभिकर्ताहरूको सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय  उपस्थिति थियो । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रूपमा गर्ने गर्दछ । 

निर्माण व्यवसायी महासंघले नै ‘मिस नेपाल’ प्रतियोगीका लागि भोट मागेपछि...

काठमाडौं । देशको पूर्वाधार विकास र निर्माण व्यवसायीहरूको हकहितका लागि काम गर्ने छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ ले आफ्ना पदाधिकारीका पारिवारिक सदस्यलाई सुन्दरी प्रतियोगितामा जिताउन भोट मागेको पाइएको छ । महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षर र संस्थाको आधिकारिक छापसहित जारी गरिएको एक पत्रमा ‘मिस नेपाल प्रतियोगिता २०२६’ की प्रतिस्पर्धी प्रतिमा खड्काका लागि भोट माग्दै सहयोगको अपील गरिएको हो। प्रतियोगी खड्का काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी छोरी हुन् । चलानी नम्बर समेत उल्लेख गरिएको उक्त पत्रमा सिंगो महासंघका सदस्यहरूलाई सम्बोधन गर्दै क्युआर कोडमार्फत प्रतिभोट १० रुपैयाँका दरले नेपाल पे, इसेवा, खल्ती वा आईएमई पेमार्फत भुक्तानी गरी भोटिङ गरिदिन अनुरोध गरिएको छ । महासंघजस्तो गरिमामय संस्थाले यसरी भोट मागेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

लुटपाट गर्ने ‘कर्मा समूह’ का नाइकेसहित ५ जना पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् ।  प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताए ।  प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो ।  उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौंमा लगातार अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  उनका अनुसार हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाइएको छ । उनीहरुले काठमाडौको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए ।  पछिल्लोपटक यो समूहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए ।  आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त समूहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कल बाइपास गर्ने गिरोह पक्राउ

काठमाडौ‌ं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) नेटवर्कमाथि कारवाही चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट–५ का २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौं शंखरापुर–१ की २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर कृष्णपुर–७ स्थायी घर भई भक्तपुर सूर्यविनायकमा बस्दै आएका २१ वर्षीय जेनित झुकाल तथा भक्तपुर सूर्यविनायक–१ का ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले दुरसञ्चार ऐन, २०५३ विपरीत भीओआईपी प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको खुलेको सीआईबीले जनाएको छ । अनुसन्धानका क्रममा बरामद भएका उपकरण तथा सामग्रीहरू NPR77casino.com, IME88.com र Khalti88.com लगायतका अनलाइन बेटिङ प्लेटफर्म सञ्चालनमा समेत प्रयोग भइरहेको तथ्य फेला परेकाले त्यसतर्फ पनि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १६ पोर्ट र ११२ पोर्टका सीम बक्स (भीओआईपी) डिभाइस, १९५ वटा एनसेल सिमकार्ड, ल्यापटप, मोबाइल फोन, राउटर, ब्याट्री, इन्भर्टर, यूपीएस, इन्टरनेट हबलगायत भीओआईपी सञ्चालनमा प्रयोग हुने ठूलो परिमाणका उपकरण बरामद गरेको जनाएको छ । सीआईबीका अनुसार प्रोशेस गुरुङ र मुना श्रेष्ठलाई साउन १४ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।  त्यस्तै, जेनित झुकाल र कृष्ण नगरकोटीलाई साउन १५ गते भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद प्राप्त गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार उक्त समूहले भीओआईपी प्रविधिमार्फत गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरी राज्यलाई राजस्व नोक्सानी पु‍र्याउने गतिविधि सञ्चालन गरिरहेको आशंका गरिएको छ । यसबाहेक, बरामद भएका उपकरणहरू अनलाइन बेटिङ नेटवर्कसँग समेत जोडिएको देखिएकाले संगठित आर्थिक तथा साइबर अपराधको कोणबाट पनि विस्तृत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

पूर्वराष्ट्रपतिले गरिन् पूर्वप्रधानमन्त्री नेपाललाई सम्मान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टीका पूर्वमहासचिव तुल्सीलाल अमात्यको २९औं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गर्दै नेपाललाई सम्मान गरेकी हुन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक रूपान्तरण तथा सार्वजनिक जीवनमा पु‍र्‍याएको योगदानको कदरस्वरूप नेपाललाई सम्मान गरिएको हो । पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेपाल एकै मञ्चमा सहभागी भएको उक्त समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वमन्त्री, सांसद, वाम आन्दोलनसँग आबद्ध नेताहरू, बुद्धिजीवी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतिष्ठानले प्रत्येक वर्ष अमात्यको स्मृति दिवसका अवसरमा विभिन्न क्षेत्रका योगदानशील व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

युट्युबमार्फत भ्रामक सामग्री फैलाउने भुसाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ घर भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३१ वर्षीय जनक भुसाललाई इलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा शनिबार बुटवलबाट पक्राउ गरिएको हो । साइबर ब्युरोका अनुसार ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानलमार्फत देशको विद्यमान परिस्थितिलाई प्रत्यक्ष असर पर्ने खालका भ्रामक भिडियो सामग्री तयार गरी प्रसारण गरिएको पाइएपछि पक्राउ गरिएको हो । ब्युरोले ती सामग्रीमार्फत अफवाह फैलाउने, जातीय तथा धार्मिक हिंसा भड्काउने, हिंसात्मक तथा ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न निषेध गरेका सामग्री र विभिन्न जातजाति तथा समुदायबीचको सद्भाव खलबल्याउने प्रकृतिका सामग्री प्रसारण गरिएको जनाएको छ । ब्युरोका अनुसार भुसालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। साइबर ब्युरोले सामाजिक सद्भाव, सार्वजनिक शान्ति तथा राष्ट्रिय सुरक्षामा असर पर्ने भ्रामक सामग्री उत्पादन वा प्रसारण नगर्न तथा त्यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

मोज्तबा खामेनेई खोज्दै मोसाद र सीआईए, भेटिएन कुनै सुराक

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईको खोजीमा इजरायल र अमेरिकाका गुप्तचर निकायहरू सक्रिय रूपमा लागेको दाबी गरिएको छ । बेलायती अखबार ‘द टाइम्स’को रिपोर्टअनुसार इजरायलको मोसाद र अमेरिकाको सीआईएले संयुक्त रूपमा इरानका नयाँ सर्वोच्च नेताको लुक्ने स्थान पत्ता लगाउने प्रयास गरिरहेका हुन् । रिपोर्टका अनुसार गत फेब्रुअरीको अन्त्यतिर तत्कालीन सर्वोच्च नेता अली खामेनेईको हत्या भएपछि मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन् । उक्त आक्रमणमा उनी स्वयं पनि गम्भीर घाइते भएको दाबी गरिएको छ । विभिन्न रिपोर्टहरूमा मोज्तबा खामेनेईको स्वास्थ्य अवस्था राम्रो नरहेको उल्लेख गरिएको छ । उनका चोटपटकबारे गम्भीर घाइतेदेखि शारीरिक अवस्था बिग्रिएकोसम्मका फरक–फरक दाबी गरिएका छन् । उनलाई बोल्नसमेत समस्या हुने भएकाले हालसम्म कुनै सार्वजनिक सम्बोधन नगरेको र उनका सबै वक्तव्य लिखित रूपमा मात्र जारी हुने गरेको बताइएको छ । द टाइम्सका अनुसार मोज्तबाको यही मौनता नै मोसाद र सीआईएका लागि उनलाई खोज्न सबैभन्दा ठूलो चुनौती बनेको छ ।  रिपोर्टमा दाबी गरिएअनुसार उनले १५० दिनभन्दा बढी समयदेखि न त फोनमा कुरा गरेका छन्, न त ल्यापटप नै खोलेका छन् । उनी अज्ञात स्थानमा भूमिगत बंकरमा बसिरहेको बताइएको छ । रिपोर्टअनुसार मोज्तबा खामेनेई दिनको उज्यालोमा बंकरबाट बाहिर निस्कँदैनन् । अमेरिकी जासुसी उपग्रहले आफूलाई पहिचान गर्न सक्ने डरका कारण उनी बाहिर नआउने बताइएको छ । त्यसैले उनको खोजीका लागि इजरायल र अमेरिका इरानभित्र रहेका आफ्ना गुप्तचर सञ्जालमा निर्भर रहेको दाबी गरिएको छ । त्यस्तै, मोज्तबाको मृत्यु फेब्रुअरी २९ मै भएको वा पछि घाइतेकै कारण मृत्यु भएको हुन सक्ने चर्चा पनि चलिरहेको रिपोर्टमा उल्लेख छ । साथै इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीर्सी)का अधिकारीहरूले उनी जीवित रहेको भन्दै गलत सूचना फैलाइरहेको आशंका पनि गरिएको छ । द टाइम्सका अनुसार मोसादले इरानभित्र रहेका आफ्ना एजेन्टमार्फत मोज्तबा जीवित छन् कि छैनन् र उनी कहाँ लुकेका छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ । मोसादका एक पूर्वअधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘मोज्तबाले फोन प्रयोग नगरे पनि यदि उनी जीवित छन् भने कुनै न कुनै माध्यमबाट अवश्य सञ्चार गरिरहेका होलान्, जस्तै कागजी चिर्कटमार्फत सन्देश आदानप्रदान ।’  त्यसैले उनलाई पत्ता लगाउने मुख्य आधार मानव गुप्तचर नै हुने विश्वास गरिएको छ । रिपोर्टमा थप दाबी गर्दै भनिएको छ कि सीआईएले अल–कायदा प्रमुख ओसामा बिन लादेनलाई पनि सन्देश बोक्ने कुरियरमार्फत ट्र्याक गरेर पत्ता लगाएको थियो ।  मोसादका अर्का एक पूर्व अधिकारीका अनुसार मोज्तबा अत्यन्त गोप्य रूपमा बस्ने गरेका छन् र आईआरजीसीले उनको वास्तविक स्थान लुकाउन उनका डुप्लिकेटसमेत प्रयोग गरिरहेको हुनसक्छ । एआईले पाँच वर्षमै मानव बुद्धिलाई उछिन्ला ? मस्कको चेतावनी कत्तिको जायज ?

बीमा रकमका लागि ‘विवाह’ को नाटक गर्दै श्रीमतीको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हमिरपुरमा एउटा यस्तो हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले मानवीय संवेदनालाई नै स्तब्ध बनाएको छ ।  त्यहाँ एक व्यक्तिले आफ्नै श्रीमतीको नाममा रहेको ४४ लाख रुपैयाँ बीमा रकम हात पार्नका लागि उनको हत्या गरेको पुष्टि भएको छ । घटनाको भित्री पाटो केलाउँदा ती व्यक्तिले साढे दुई वर्षअघि मात्रै ती महिलासँग प्रेम विवाह गरेका थिए । यो महिलाको दोस्रो र पुरुषको तेस्रो विवाह थियो ।  योजनाबद्ध रूपमा गरिएको भनिएको उक्त विवाहलगत्तै ती पुरुषले श्रीमतीको ठूलो रकमको बीमा गराएका थिए । बीमा रकम हडप्न उनले आफ्ना साथीहरूसँग मिलेर हत्याको डरलाग्दो षड्यन्त्र रचेको भारतीय प्रहरीले जनाएको छ । गत जुलाई २९ को राति हमिरपुरको लालपुरा क्षेत्रमा सडकको छेउमा ती महिलाको शव फेला परेको थियो । सुरुवातमा प्रहरीले यसलाई सामान्य सडक दुर्घटना मानेको थियो । तर, अनुसन्धान गर्दै जाँदा जाँदा घटनाको ४८ घण्टाभित्रै रहस्यको पर्दाफास भयो । दुर्घटना नभई नियतवश गरिएको हत्या भएको र त्यसको मुख्य योजनाकार उनकै श्रीमान रहेको प्रमाण प्रहरीले फेला पारेको छ ।  हाल प्रहरीले अभियुक्त श्रीमान् र हत्यामा संलग्न उनका साथीहरूलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही अघि बढाएको छ । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)