भारतको बियर बजार बढ्दो, प्रतिव्यक्ति खपत २ लिटर !
काठमाडौं । भारतमा बियर खपत लगातार बढिरहेको छ । योसँगै देशमा बियर बजार पनि तीव्र गतिमा बढिरहेको छ । सन् २०२८ सम्म भारतीय बियर बजार ६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ बराबर पुग्ने अपेक्षा गरिएको छ । तर, बियरको प्रतिव्यक्ति खपतको हिसाबले भारत अझै पनि विश्वको बाँकी देशको तुलनामा धेरै पछाडि छ । भारतमा प्रतिव्यक्ति वार्षिक दुई लिटर बियर खपत हुन्छ भने युरोपेली देश चेक गणतन्त्रमा प्रत्येक व्यक्तिले एक वर्षमा १ सय ४० लिटर बियर खपत गर्छ । यतिमात्र होइन, विश्वका १० सबैभन्दा मूल्यवान बियर ब्रान्डलाई हेर्दा कुनै पनि भारतीय ब्रान्ड यसमा समावेश छैन । यो सूचीमा अमेरिकाको वर्चसश्व छ । यसमा मेक्सिको र जापानका दुई–दुई ब्रान्ड, चीन र हल्यान्डका एक–एक ब्रान्ड छन् । मेक्सिकन ब्रान्ड ‘कोरोना एक्स्ट्रा’ यस सूचीमा पहिलो नम्बरमा छ । यसको बजार मूल्य १० अर्ब ४० करोड डलर बराबर छ । यो बियर मेक्सिकन कम्पनी ग्रुपो मोडेलोले उत्पादन गरेको हो र यो विश्वका विभिन्न देशमा निर्यात गरिन्छ । हल्यान्डको बियर ब्रान्ड हेइनकेन यस सूचीमा दोस्रो स्थानमा छ, जसको मूल्य ९ अर्ब डलर छ । अमेरिकी ब्रान्ड बुडवाइजर र बड लाइट तेस्रो र चौथो स्थानमा छन् । तिनीहरूको बजार मूल्य क्रमशः ७ अर्ब ४० करोड डलर र ५ अर्ब ४० करोड डलर छ । यस्तै, मेक्सिकन ब्रान्ड मोडेलो स्पेसलको बजार मूल्य ५ अर्ब २० करोड डलर, त्यसपछि चीनको स्नोको ४ अर्ब ३० करोड, अमेरिकाको कुर्सको ३ अर्ब ३० करोड, जापानको आसाही ३ अर्ब १० करोड, किरिन ३ अर्ब १० करोड र अमेरिकाको मिलर लाइटको बजार मूल्य २ अर्ब ९० करोड डलर बराबर छ । युरोपेली देश चेक रिपब्लिकमा बियरको प्रतिव्यक्ति खपत विश्वमा सबैभन्दा बढी छ । यस देशमा प्रत्येक व्यक्तिले एक वर्षमा १ सय ४० लिटर बियर खपत गर्दछन् । सबैभन्दा बढी बियर पिउने सन्दर्भमा, १० मध्ये ९ देश युरोपका छन् । चेक गणतन्त्र बाहेक यसमा अस्ट्रिया, रोमानिया, जर्मनी, पोल्यान्ड, आयरल्यान्ड, स्पेन, क्रोएसिया र लाटभिया पर्छन् । शीर्ष १० मा परेको एक मात्र गैर–युरोपेली देश नामिबिया हो । यो अफ्रिकी देशमा हरेक व्यक्तिले वार्षिक ९५.५ लिटर बियर पिउने गर्छन् । यो सूचीको पुछारमा इन्डोनेसिया रहेको छ । यस इस्लामिक देशमा बियरको वार्षिक खपत ०.७ लिटर छ । किंगफिसर भारतको सबैभन्दा ठूलो बियर ब्रान्ड हो जसको बजार हिस्सा लगभग ४७ प्रतिशत छ । एजेन्सी
आवेदन यथावत राखि मातृभूमि लघुवित्तले दोस्रोपटक माग्यो सीईओ
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन आह्वान गरेको छ । यसअघि आवेदकहरूले दिएका आवेदन यथावत राखि समय थप गरी पुनः सीईओका लागि दरखास्त आह्वान गरेको हो । यसअघि गत साउन २ गते आवेदन आह्वान गर्दै साउन ९ गतेसम्म सीईओका लागि आवेदन आह्वान गरेको थियो । तर, सो अवधिमा परेका आवेदनको सुनुवाई नगर्दै पुनः दोस्रोपटक सीईओका लागि आवेदन आह्वान गरेको हो । अब लघुवित्तको सीईओ बन्न इच्छुक व्यक्तिले साउन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।
राजमार्गका होटलमा बासी खानेकुरा बिक्री गरेपछि…
काठमाडौं । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । ‘फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ, बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने । पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताए । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उनले जानकारी दिए । जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।
साउनमै ऋण उठाउँदै सरकार, १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना ७ दिनभित्र हटाउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र सडक पेटी अतिक्रमण गरी बनाईएका संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिका नयाँबजार जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका सडक पेटी अतिक्रमण बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । ‘केही जग्गाधनी तथा मोहीहरूले सडकको दाँयाबाँया सडक पेटी अतिक्रमण गरी स्थायी÷अस्थायी संरचना निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू ७ दिन भित्र हटाई दिनुहुन अनुरोध छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यदि उक्त अवधिमा ती संरचना नियमानुसार अघि बढ्ने बताइएको छ ।
युरो र पाउण्डको मूल्य घट्यो, डलर र खाडी मुलुकको मुद्रा स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (साउन १५ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.५३ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ तोकिएको छ । हिजो सोमबार युरोपियन युरो एकको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६२ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ तोकिएको छ ।
सुरु भयो लाभांश सिजन, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिएपछि लाभांश सिजन सुरु भएको छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासोको विषय बन्न थालेको छ। यही बीचमा आर्थिक वर्ष सकिएको १५ दिनमै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई प्रतिफल बाँड्न थालिसकेका छन् । लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखा परिक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २१ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
आज खिर खाएर साउन १५ मनाइँदै
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १ सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।