विकासन्युज

सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ, तर नेपालमा यो दर कायम हुन सकेको छैन, सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ ।’ मन्त्री पौडेलले सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने बताए । उनले भने, ‘यसबाट हुने रोगको रोकथामका लागि विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिन जरुरी देखिन्छ, यसका लागि यसको माग घटाउने सबैभन्दा प्रभावकारी विधि भनेको कर बढाउने नै हो ।’ नयाँ पुस्तमा सुर्तीजन्य पदार्थको प्रयोगको प्रवृत्ति बढ्दै गएको र यसको प्रयोग हुनबाट जोगाउन पाठ्यक्रममार्फत नै चेतना फैलाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो । बिमित व्यक्तिहरूले सरल ढंगबाट सेवा पाउन नसकेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई प्राथमिकतामा राखेर यससम्बन्धी ऐनलाई परिवर्तन गरी व्यवस्थित र सरलीकरण गर्न जरुरी रहेको बताए ।

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए । स्पोटेड फ्लाइक्याचर अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए । उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए । धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ । जाडो याममा यिनीहरु नियमित रुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्ते रुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए । ‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुसी लागेको छ’, वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’ नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए । रासस

भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल, पत्थरीको शल्यक्रिया गर्न १४ महिनापछि पालो

चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल भएको छ । बिरामीको चापकै कारण अस्पतालको अर्थोपेडिक विभागमा सोमबार दुई सय ५० जनाले मात्रै बहिरङ सेवामा टिकट पाएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले सोमबार बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिए । हिजो टिकट काटेका एक सय जनाभन्दा धेरै बिरामी उपचार नलिई फर्किन परेकाले बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुने उनको भनाइ छ । स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सय जनाभन्दा धेरै बिरामी आउने बताउँदै डा। पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे । डा. पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि १४ महिनापछिको पालो दिनुपर्ने अवस्था छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए ।

सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।  

विश्व बैंकबाट करिब १३ अर्ब ३३ करोडको सहुलियत सरकारद्वारा ऋण स्वीकृत

काठमाडौं । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । सोमबार सिंहदरबारस्थिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८१ साल साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् । उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडिआर अर्थात १ हजार मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । उनले सडक सुधार आयोजनाको स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यान्वयन गरी संघ सरकारले मूल्याङ्कन तथा अनुगमन गर्ने बताए । उनले तल्लो मोदी, नयाँ मोदी १३२ केभी प्रशारण लाइन आयोजना अन्तर्गत पर्वत जिल्लामा करिव ०.९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको बताए । सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ अनुसार १५ जिल्ला ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका २ लाख ७१ हजार ६ सय ४० गरिव परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए । उनले नेपाल सरकारको नाममा दर्ता रहेको कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका अन्तर्गत बासखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०–१७–७ विघाजग्गा उपयोग गर्न स्वीकृत दिने निर्णय भएको पति बताए ।

एआईबाट सेयर बजारको अनुगमन, तथ्यांक बैंक स्थापना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एआईको माध्यमबाट पुँजी बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेबोनले बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउने भएको हो । बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ अलटमेन्ट सफ्टवेयरमा प्राविधिक सुधार गर्ने, पुँजी बजारसम्बन्धी तथ्यांकहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक तथा पोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने, धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने, सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परीक्षण ढाँचा तयार गर्ने, सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने र बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बजारलाई स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाइ स्थायित्व तथा लगानीकर्ताको हित प्रवर्द्धन गरी जन विश्वास बढाइने, बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी नियमन तथा सुपरिवेक्षणमार्फत गलत अभ्यासलाई निरुत्साहित गर्ने, बजेटमा उल्लेख भएका वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने, हरित बण्ड, उर्जा बण्ड लगायत अन्य नवीन वित्तीय औजारहरूको निष्कासन तथा कारोबारको सहज व्यवस्था गर्न आवश्यक कानुनी व्यवस्था गरिने बोर्डले जनाएको छ । पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने, वित्तीय क्षेत्रका नियामक लगायत पुँजी बजारमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने निकायसँग नीतिगत तथा कार्यगत समन्वय बढाउन अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने, बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने, संघीय संरचनाअनुसार पुँजी बजारको नियमन पहुँच बढाउन प्रादेशिक कार्यालय स्थापना गर्न अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको बोर्डको भनाइ छ । धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरूको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने, वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारबाहीहरूको गैरस्थलगत सुपरिवेक्षण गर्नेछ । वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने, गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुन संशोधन गर्ने, बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने, आईपीओ निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणसम्बन्धी एकरूपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलन अध्ययन गरी कार्यान्वयन गरिने बोर्डको आगामी योजना छ । [pdf id=500546]

उपभोक्ता संरक्षण विभागले गर्‍यो व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले अनुगमनको क्रममा कैफियत भेटिएका ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ जरिवाना गराएको हो । गत आर्थिक वर्षमा विभागले ४ हजार २ सय ६९ पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ करोड २६ लाख रुपैयाँ बराबरको गुणस्तरहीन र म्याद गुज्रिएका विभिन्न वस्तु जफत गरी नष्ट समेत गरिएको विभागले जनाएको छ । जरिवानातर्फ सबैभन्दा बढी खाद्य पदार्थ बिक्री गर्ने २३४ व्यापारिक प्रतिष्ठानलाई ८६ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, १०१ रेडिमेड तथा थान कपडा पसललाई १९ लाख २२ हजार, अन्य पसललाई ४१ लाख ३५ हजार, किराना पसललाई १५ लाख ४५ हजार, होटेल तथा रेस्टररेन्टलाई ७३ लाख ९० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसललाई ८ लाख ६१ हजार, तरकारी पसललाई ५ लाख ३० हजार, मार्ट तथा मिनी मार्टलाई १५ लाख र फर्निचरलाई ४ लाख ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ । यसैगरी हार्डवेयरलाई ७ लाख ४० हजार, मिठाइँ पसललाई ११ लाख ७० हजार, डेरी उद्योगलाइृ १५ लाख र मदिरा तथा सूर्तिजन्य पसललाई १४ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताए । ढकालले विगत वर्षदेखि नेपाल र थाइल्याण्डबीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरहरूको सङ्केत गरेको बताए । ढकालले नेपाल र थाइल्यान्डबीचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिएका थिए । उनले नेपाल चिया, कफी र जडिबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सक्ने बताए । ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ–आफ्ना छुट्टै र विविधतायुक्त पर्यटकीयस्थलका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेजको विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सकिने बताए । भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग सहयोगको अपेक्षा रहेको बताइन् ।