विकासन्युज

मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौं । मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो । अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस यूनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए । अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिन पश्चात मिस यूनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइनेछ । मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् । इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेएका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए । ‘कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उनीहाँ सक्षम छन् भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौं ।’ नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरु सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताए । ‘प्राचार्य पदको दायित्व र जिम्मेवारी बोध हुँदैगर्दा यो कलेजलाई कसरी अगाडी बढाउने अध्ययन गरेको छु । अहिलेको ज्वलन्त समस्या शिक्षाको गुणस्तर नै हो । अध्ययनरत विद्यार्थीहरुको लागि शिक्षाको गुणस्तर सुधार्नु हाम्रो दायित्व हो । अहिलेको अवस्थामा विद्यार्थीहरु नेपालमा अध्ययन नगरी बाहिर जाने फ्लो बढेको छ । यसबाट हाम्रो कलेज पनि मारमा परेको छ । यी सबै विषयहरुमा सञ्चालक समिति, विद्यार्थी, शिक्षक र कर्मचारीसँग हातेमालो गरेर म अगाडी बढ्नेछु ।’ पदभार ग्रहण गर्दै प्राचार्य भण्डारीले भने । कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए । ‘कलेजको सर्वोत्तम हितमा प्राचार्य भण्डारी र उहाँको टीमले गरेको हरेक निर्णयलाई सञ्चालक समितिले स्वीकार गर्ने उनको भनाई छ । शिक्षक कर्मचारीका तर्फबाट बोल्दै सह–प्राध्यापक यमकृष्ण पौडेलले प्राचार्यको नियुक्तिसँगै कलेजमा रहेको द्विविधा हटेर गएको भन्दै आउँदा दिनहरुमा कलेजलाई सौहार्दपूर्ण रुपमा अगाडी बढाएर लैजाने सवालमा साथ र सहकार्य रहने बताए ।

प्रभु बैंकले बागलुङमा एकै दिनमा सञ्चालनमा ल्यायो ४ वटा शाखा

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लामा एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी, वडिगाड गाउँपालिका- २, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठेमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनले गरेका हुन् । कम्पनीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ । यसका साथै कम्पनीले यस प्रकारको अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ । सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकले बताएको छ ।

उज्वेकिस्तानको अन्न उत्पादन ६ महिनामा ६.६ प्रतिशतले बढ्यो

काठमाडौं । सन् २०२४ को पहिलो ६ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ । कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको अनाज उत्पादन २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ । एजेन्सी

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको आफ्नो प्रतिवद्धताबमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको बताएको छ । लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो भन्दै कम्पनीले यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको जानकारी दिएको छ । एनसेलले यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो भन्दै ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको बताएको छ । लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्मदेखि टिभी सो, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् । लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

गड्डाचौकी हुँदै ६ महिनामा भित्रिए साढे ४ सय पर्यटक

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा ४ सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको संख्या १५ मात्रै रहेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ । ‘नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।’ ‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन,’ उनले भने, ‘नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।’ यसैकारणले पर्यटकलाई प्रस्थान ९डिपार्चर० दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ । सीमानाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् । ‘भारतमा ६ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘ती विदेशी पर्यटक ६ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।’ भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए । विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार ५ सय २७ डलर राजस्ववापत संकलन गरेको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म ५ सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिइ । ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो ।

पोखरामा गाउँगाउँबाट कृषि एम्बुलेन्सले ल्याउँछ तरकारी

कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन् । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भनिन्, ‘पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ, यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?’ स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ । ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज संकलनका लागि महानगरका २१ स्थानमा संकलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताए । ‘ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन्, अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज संकलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ, अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ,’ प्रमुख कडरियाले भने । कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताए । उनले भने, ‘बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो, प्रदूषितसमेत हुन्थ्यो, चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन, एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।’ कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ । रासस