कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास
काठमाडौं । परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । सहभागी परीक्षार्थी मध्ये (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन् । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । कक्षा १२ नतिजा पनि गत असारमा प्रकाशित एसइईको जस्तै लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडीका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले बताएको छ । समझदारी पत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।
सामाखुशीमा क्युएफएक्स चेनको नयाँ हल खुल्यो
काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहीबार साँझ अभिनेता अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका थिए । तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ । उद्घाटनपछि कुराकानी गर्दै सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताए । जम्मा दर्शक क्षमता ५ सय सिट रहेको बताए । लाउञ्जर, सोफा सिटहरु रहेको जानकारी दिए । यससँगै क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । हलको टिकट रेट अहिले कम रहेको र बिस्तारै अरुकै स्तरमा पुर्याउने बताए । ३ वटा थिएटरका लागि १८ करोड लगानी लागेको जानकारी दिए ।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाख
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनपीएल बढेपछि हिमालयन लघुवित्तको नाफा २४.८१ प्रतिशत घट्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा खुद नाफा २४.८१ प्रतिशत घटेर ७५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेर २३ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्लानी गरेको थियो । लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेर ३ करोड ६९ लाख रुपैयाँ छ भने कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ र जगेडा कोष ४.८१ प्रतिशत बढेर १४ करोड ५२ लाख रुपैयाँ छ । लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटी संकलन गरेर ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ७८ पैसा घटेर २.३६ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३.५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा १.२८ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ । यस्तै लघुवित्तको आधार दर १६.५८ प्रतिशत र कस्ट अफ फण्ड ८.७६ प्रतिशत छ ।
लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका महिला
राँझा । सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’, महिला समूहमा आवद्ध रहेकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर घरखर्च धानेँ, श्रीमान्ले कतारमा कमाएको पैसा बचाउन सक्यौँ ।’ बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले गाउँमै सञ्चालन गरेको नास्ता पसलबाट मनग्य आम्दानी गर्दै आएकी छन् । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्मको नास्ता बिक्री हुने गरेको छ । सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका धेरै दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा सबल बन्न थालेका छन् । थोरै पैसाका लागि विगतमा श्रीमान्को भर पर्दै आएका महिला अहिले कुखुरापालन, तरकारीखेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा क्रमशः सबल बन्दै गएका छन् । समूहमा आबद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका–३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले सहयोग गर्नसके महिला हिंसा घटाउन मद्दत पुग्ने उनको बुझाई छ । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने विपन्न वर्गका दलित महिला पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–१ स्थित हातेमालो कृषक समूहकी अध्यक्ष बिन्दु विकले बताइन् । ‘दलित महिलाहरुलाई आम्दानीको स्रोतको सृजना गरी विभिन्न पेसा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानी गर्ने गरिएको छ’, उनले भनिन्, ‘समूहमा बचत गरेर १० लाख रुपैयाँजम्मा गरेका छौँ, समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’ समूह गठनपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । हातेमालो समूहअन्तर्गतका २५ जना दिदीबहिनीले गाउँमा सामूहिक धान रोपाइँ गरेर तीन लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । गत वर्ष १७ जनाको समूह बनाएर सामूहिक रोपाइँको सुरु गरेका थियौँ, त्यसबाट एक लाख पाँच हजार रुपैयाँ आम्दानी भएकामा यस वर्ष २५ जनाको समूहबाट धान रोपाइँ गर्दा एक लाख ८५ हजार रुपैयाँ आम्दानी भएको हातेमालो कृषक समूहकी सचिव अञ्जली सुनारले बताइन् । बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेसामा होमिएकी छन् । अहिले उनको फार्ममा बाख्रा, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेका छन् । दलित महिला संघको सहजीकरणमा गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रूपमा सक्षम भएका छन् । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ जना सदस्य रहेका ५४ महिला समूह सक्रिय रहेका दलित महिला संघकी अध्यक्ष निर्मला सुनारले बताइन् ।
साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने
काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा आफ्नो लगानी बढाउने र इजिप्टमा रहेको आफ्नो निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने योजना बनाएको छ । साउदी अरबका लगानी मन्त्री खालिद अल–फलेहले यसबारेमा जानकारी दिएका हुन् । कायरो भ्रमणमा रहेका साउदी प्रतिनिधिमण्डलको नेतृत्व गरेका अल–फलेहले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । उनीहरूले इजिप्टमा लगानीका अवसरहरू र दुई देशबीचको संयुक्त लगानी बढाउने उपायहरूबारे छलफल गरे । साउदी मन्त्रीले इजिप्टमा साउदी अरबलाई सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा वर्णन गर्दै इजिप्टमा साउदीको लगानी दोगुणा गर्न इजिप्टका अधिकारीहरूसँग काम गर्ने बताए।
साढे ३ करोडमा बन्यो सुनकोशीमा झोलुंगे पुल
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुंगे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त तीन करोड ५० लाख रुपैयाँ लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुंगाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।