विकासन्युज

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक, एउटा ग्यास भरेको ३ हजार ५ सय

काठमाडौं । निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए । सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको उनको भनाइ छ । सवारी चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी स्थानमा भने आफूहरुले नै काम गरेको बताए । प्रतिव्यक्ति प्रतिदिन २ सय रुपैयाँमा आफूहरुले काम गरेको उनले जनाए । आफुहरुले झण्डै १५ लाख रुपैयाँ बराबरको काम गरेको उनले बताए । नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएका छन् । सडक अवरुद्ध हुँदा एक महिनायता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको मूल्यमा वृद्धि भएको थियो । २ हजार ९ सय रुपैयाँमा भर्ने ग्यास अहिले ३ हजार ५ सय रुपैयाँमा भर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलिब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् । सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन ।

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा, तराईमा हुरी चल्ने

rainकाठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेको छ । आज रात देशभरसाधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशकाका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाका साथै मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले आग्रह गरेको छ ।

निफ्राबाट बाहिरिँदै एनआईसी एशिया लघुवित्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया लघुवित्त बाहिरिने भएको छ । एनआईसी एशिया लघुवित्तले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।

समाज लघुवित्तले बोलायो विशेष साधारण सभा, जारी पुँजी ४ करोड रुपैयाँ पुर्याउने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले साउन ३२ गते सर्लाहीमा बिहान ११ बजे विशेष साधारण सभ ागर्ने निर्णय गरेको हो । लघुवित्तको साधारण सभाले लघुवित्त संस्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्ने र स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा साउन २४ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागीता जनाउन पाउने छन् ।

यूरोपियन युरोको मूल्य घट्यो, बेलायती पाउण्डको भाउ कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२६ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.२४ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४४.९० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.३६ रुपैयाँ र बिक्रीदर ८७.७५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.७२ रुपैयाँ र बिक्रीदर ९७.१६ रुपैयाँ तोकिएको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने यूरोपियन युरोको मूल्य घटेको हो । यसअघि हिजो युरो एकको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६५ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.२५ रुपैयाँ र बिक्रीदर २९.३८ रुपैयाँ तोकिएको छ ।

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रममन्त्रीले गरे विश्व बैंकसँग आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए । निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनीहरूबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने जानकारी दिए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए । विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको जानकारी दिए । यस्तै, उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेका बताए । सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने जानकारी दिए । सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने जानकारी दिए । ‘आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बोटा र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । अगाडि देखि घरका फसादहरु सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ’, उनले भने । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताइन् । वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

मापदण्ड पुगेका नर्सिङ कलेजलाई तत्काल सम्बन्धन दिन समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिकाे बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र काुननी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्नेगरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को संरचनामा सुधार गर्नुपर्ने बताइन् । उनले सिटिभिटी कार्य सम्पादनविरुद्ध धेरै विद्यार्थीको उजुरी आएको बताउँदै यसलाई सधार्नु अनिवार्य रहेको सुनाइन्। समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । ‘हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नुहुँदैन,’ उनले भने, ‘कानुन बमोजिम प्रक्रिया पूरा गरेका संस्थाहरूले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।’ लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाहरूबाट निवेदन परेको थियो । बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो । निवेदक शिक्षण संस्थाले कानुनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए । परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो । आयोगले परिषदमा कानुन बमोजिमा कार्य नभएको बाउँदै आएको छ ।