विकासन्युज

मत्स्येन्द्रनाथको भोटो देखाउने, आज सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार सार्वजनिक बिदा दिईएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनपीएल घटेपनि नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य नाफा २०.८२ करोड ऋणात्मक

काठमाडौं । नेपाल फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १० प्रतिशत घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष फाइनान्सको नेट फि एण्ड कमिशन इनकम ७८ प्रतिशत बढेर १ करोड २७ लाख ८२ रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ प्रतिशत बढेर १५ करोड २३ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा १० प्रतिशत बढेर २ करोड २८ लाख ८३ हजार रुपैयाँ छ । फाइनान्सका् वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ र जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी घटेर २.४८ रुपैयाँमा सीमित छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ । अघिल्लो वर्ष १२.१६ प्रतिशत रहेकोमा घटेर ९.११ प्रतिशतमा झारेको छ ।

एनपीएल २.१४ प्रतिशत पुगेपछि स्ट्याण्डर्ड चार्टर्डको नाफा घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४.५१ प्रतिशत घटेर ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको नेट फि एण्ड कमिशन इनकम १०.२७ प्रतिशत बढेर १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशत घटेर ७ अर्ब २५ करोड २१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेर ४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जसआधारमा बैंकले गत वर्षको नाफाबाट २६.५० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ३.८९ प्रतिशत बढेर ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप ४.२७ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा ४.२५ प्रतिशत बढाएर ८१ अर्ब १४ करोड रुपैयाँ प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ घटेर ३५.०९ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ । बैंकको यस अवधिमा खराब कर्जा अघिल्लो वर्ष १.१८ प्रतिशत बढेर २.१४ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.८३ प्रतिशत, आधार दर ६.६ प्रतिशत छ ।

६ प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

फाइल फाेटाे काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

डलर हालसम्मकै महँगो, १ डलर साट्न १३४.३१ रुपैयाँ खर्च गर्नुपर्ने

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २० गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.२७ रुपैयाँसम्म पुगेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ । आज युरोपियन युरो एकको खरिददर १४४.८८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.५३ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.४६ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.१० रुपैयाँ र बिक्रीदर ८७.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.३२ रुपैयाँ र बिक्रीदर ९७.७५ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.७६ रुपैयाँ तोकिएको छ ।

वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत सम्मानित

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले शनिबार काठमाडौंमा आयोजित समारोहमा उनलाई अभिनन्दन गरे । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रूपमा विकास गर्न उनी सफल भएका छन् । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रूपमा डा. रुइत चिनिएका अभिनन्दन पत्रमा उल्लेख छ । डा.रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् । कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गरेका थिए । सम्मानित व्यक्तित्व डा. रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्नमा ध्यान दिनुपर्ने बताए ।

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत प्राधिकरणका कर्मचारी कुटिए

संखुवासभा । नेपाल विद्युत प्राधिकरण कार्यालय संखुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजरी परेको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । ‘निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा उजुरी परेको रहेछ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ’, उनले भने । विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । उक्त कार्यालयमा छजना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।

रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो । २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिंचाइ आयोजना नामकरण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताए । ‘२०४८ मा बनाइएको पक्की नहर मुहान् नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुनःनिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।’ एक सय ५० घरधुुरी कृषकको करिब पाँच सय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ । चालुु आर्थिक वर्षमा विनियोजन भएको २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुई वटा इन्टेक र ३० थान ग्यावीयन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुनःनिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि वर्खाको समयमा नहर बगाउने समस्या हटेको बताए । रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुुगेको उहाँले बताए । २३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शङ्कर महतले बताए । ‘पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काएपछि यसअघिको दुई वर्ष आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानलाई सहज भएको छ ।’