गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई
काठमाडौं । गोखार्ज फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ । त्यसैगरी सोही बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ । नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ ।
विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो सम्मेलन सम्पन्न
काठमाडौं । माध्यमिक तहको (२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । ‘करियर कन्क्लेभ’ विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको नेपालको राष्ट्रियस्तरको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ । प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिएपनि ती चुनौतीको सामना गर्नुपर्ने बताए । उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजि गर्नुपर्ने सल्लाह दिए । मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवा पुस्तालाई यही बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कि नोट मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्प्रधी बजारमा प्रतिस्पर्धाकाबीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै केके कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरे । सम्मेलनमा ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ईसेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक संजोग कोइराला, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए । उक्त बहस बाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजारबारे जानकारी पाएको आयोजकले जनाएको छ । कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए । यस्तै नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति र हास्य कलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए । सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ। यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन् ।
लिबर्टी माइक्रोले ल्यायो सुरक्षित बाल भविष्य योजना, यस्ता छन् विशेषता
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना ल्याएको छ । कम्पनीले सो बीमालेख श्रावण १७ गतेदेखि बिक्री सुरु गरेको जनाएको छ । बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह/व्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय सुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ । यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमांक रकम ५ लाख रुपैयाँसम्म लिन सकिनेछ । कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरु निम्नलिखित रहेका छन् । बीमालेखका विषेशताहरु क. आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना । ख. बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने । ग. बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुवा,आमा,कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने । घ. बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा २५ प्रतिहजार रुपैयाँ प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा ३५ प्रतिहजार रुपैयाँ प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ । ङ. सस्तोरकिफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना । च. अनलाइनको माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने । छ. उक्त बीमालेखसँग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने ।
हुन्डाई नेपालको नयाँ क्रेटा बजारमा सार्वजनिक, मूल्य कति ?
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको कम्पनीले बताएका छन् । कम्पनीकाअनुसार आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, कठिन भूभागमा पनि सजिलै गुड्नसक्ने साथै सबै उमेरका चालकलाई सुहाउने भएकोले यो धेरैको रोजाइमा पर्ने गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा सफल हुँदै क्रेटाले एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । ‘नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन् । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक रहेको कम्पनीको भनाई छ । कम्पनीकाअनुसार यसमा दुबै स्कुन समान १०।२५ इन्चका छन् । ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ। नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षाक प्रत्याभुति गराउँछ । एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्। १.५-लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको कम्पनीले बताएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ । त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ । नयाँ हुन्डाई क्रेटा ८ वटा भेरिएन्ट तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार राखिएको छ । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । सुन्दर डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।
आफ्नै पसलमा आगो लगाए व्यापारीले, २ करोड १० लाख बीमा दावी
काठमाडौं । बीमाको रकम हत्यानका लागि पोखरामा एक युवाले आफ्नै पसलमा आगो लगाइदिएका छन् । स्याङ्गजाको आँधीखोला गाउँपालिकाका सुजन गहतराजले आफ्नै सपिङ्ग सेन्टरमा आगजनी गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्कीका प्रखुक एसपी मोहन थापाकाअनुसार पसल सञ्चालक गहतराजले बीमा रकम हत्याउनका लागि उक्त पसलमा आगजनी गरेका हुन् । विगत केहि वर्षदेखि पोखराको पोखराको लेकसाईडमा सपिङ्ग सेन्टर सञ्चालन गर्दे आएका गहतराजको पसलले पछिल्लो समय खासै आम्दानी दिन सकेको थिएन । उनले गत चैतमा उक्त पसलको बीमा पनि गराएका थिए । हिमालयन एभरेष्ट इन्स्योरेन्समा उनले २ करोड १० लाख रुपैयाँ बीमांक रकमको बीमा गराएको कम्पनीले जनाएको छ । कम्पनीको गण्डकी प्रदेश कार्यलयबाट उनको पसलको बीमा गत चैतमा भएको कम्पनीले विकासन्युजलाई जानकारी दिएको छ । पसल नचलेर भाडा समेत तिर्न हम्मे हम्मे परिरहेको अवस्थाले गहतराज निकै तनावमा थिए पछिल्लो समय । भाडाको विषयमा गहतराज र उनका घरधनीबीच विवाद नै हुने गरेको थियो । यसरी पसल नचलेर हैरानी बनेका गहतराजलाई उनका साथि पवन पवन नेपालले एउटा जुक्ति दिए । स्याङ्गजा घर भएका ४३ वर्षीय नेपालले ३६ वर्षीय आफ्नै साथि गहतराजलाई सो पसलमा आगो लगाउन सिकाए । नेपालले पहिला आफुले पनि आफ्नो पोल्ट्रि फर्ममा आगो लगाएर बीमा कम्पनीसँग ३१ लाख रुपैयाँ हत्याएको भन्दै गहतराजलाई आगो लगाउन उक्साए । उनले बीमा कम्पनीले रकम दिएपछि १० लाख आफुलाई चाहिने पनि शर्त राखे । उनको सो जुक्ति पनि गहतराजले आगो लगाउने निधो गरे । २ करोड बढी बीमाको रकम पाइने आशले गलत सल्हाको लैलैमा लागेर महर्जनले आफ्नो पसल मुक्तिनाथ सपिङ्ग सेन्टरमा आगो लगाए । गहतराजले बीमा गरेको ४ महिना पछि साउन १६ गते राति २ बजे आफ्नो पसलमा सलाई कोरेर आगो लागाए । प्रहरी, दमहल र स्थानीयको सहयोगमा सो आगो सोहि राति ३ बजेतिर नियन्त्रणमा आयो । आगजनीबाट पसलमा रहेको ग्रोसरी, वाईन र कस्मेटिक सामानहरु जलेर नष्ट भयो । आगोबाट ७५ लाख रुपैयाँ बराबर सो घरमा पनि क्षेति भएको जिल्ला प्रहरी प्रमुख थापाले बताए । थापाका अनुसार पसलमा पनि ठुलो धनको क्षती भएको छ । गहतराजले आगो लगाएको भोलि पल्ट साउन १७ गते बीमा कम्पनी हिमालयन एभरेष्टको गण्डकी प्रदेश कार्यलयमा दाबी भुक्तानीका लागि निवेदन दिएको कम्पनीले जनाएको छ । एसपी थापाका अनुसार गहतराज सहित २ जना व्यक्ति गाडीमा आएर सो पसलमा छिरेका थिए । १५ मिनेट पछि गहतराज सो गाडीमा फर्किएका थिए । तत्कालै सलाई कोरि आगो लगाएर उनका साथि सो गाडीको पछि पछि दौडिएको थापाले विकास निउजलाई बताए । सीसीटीभी फुटेजको अध्ययन गर्दा उक्त भिडियो देखिएको एसपी थापाले उल्लेख गरे । उनीहरुले सो आगली विद्युत सर्ट भएर भन्ने उल्लख गरेका थिए । प्रहरीले विद्युत प्राधिकरणसँग बुज्दा विद्युतको कुनै कैफिएत नभएको जानकारी प्राधिकरणले दिएको एसपी थापाले बताए । प्रहरीले विद्युत सर्ट भएर उक्त आगलागी नभएको निष्कर्समा पुग्यो । त्यसपछि अनुसन्धानको एङ्गल पसल सञ्चालक तर्फ मोडियो । विभिन्न प्राविधिक विश्लेषण गर्दा उक्त घटना बीमा रकम हत्याउनका लागि भएको पुष्टी भएपछि प्रहरीले उक्त २ जनालाई पक्राउ गरेको थापाले जनाएका छन् । नेपालले आफ्नो पोल्टि फर्ममा आगो लगाएर ३१ लाख रुपैयाँ बीमा कम्पनीबाट दाबी भुक्तानी दिएको विषयमा पनि थप अनुसान्धान भइरहेको एसपी थापाले बताएका छन् । अनुसन्धानबाट जे पुष्टि हुन्छ सोहि अनुसार कारबाही हुने उनले उल्लेख गरे । ३१ लाख वाला घटनामा बीमा कम्पनीलाई के कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा उनको जवाफ, ‘सो विषय अनुसन्धानकै चरणमा रहेको छ । अनुसन्धानबाट जो जो दोषि देखिन्छन् ति सबैलाई कारबाही हुन्छ ।’
प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको उनकानिकट स्रोतले सोमबार जानकारी दिएको छ । नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, ‘प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।’ बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिएका छन् । आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरुलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए । उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए । ‘गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरु जो छलफल गर्नका लागि आवश्यक छन् । ति सम्बन्धित पीडकहरुलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ’, उनले भने । उनले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरुको आधारमा प्रतिवेदन तयार गर्न सुरु गरिएको बताए ।
बीमाका कर्मचारीलाई जिम्मेवारी अनुसारको काम गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि दाबी भुक्तानी महत्वपूर्ण विषय भएकाले समयमैं दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूले सुझबुझका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले नागरिकलाई सरल एवम् सहजरूपमा बीमा सेवा उपलब्ध हुने गरी कार्य गर्न र कुनै समस्या परेमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा जानकारी गराउन आग्रह गरे । कार्यक्रममा घातक रोग बीमा, एकल बीमाशुल्क, कर सुविधाको सीमा, बीमक तथा लघुबीमकबीच बीमादरमा देखिएको स्पष्टता, दाबी व्यवस्थापन, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन, बीमा अभिकर्ताको परीक्षा, बीमकका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था, बीमा क्षेत्रमा देखिएका समस्या लगायतका बीमा सम्बन्धी समग्र विषयमा छलफल भएको थियो । कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय र शाखा कार्यालयका प्रमुख तथा कर्मचारीहरू र बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।