हिमालयन लाइफले काठमाडौं र ललितपुरका १४ ठाउँमा घरजग्गा किन्दै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौं र ललितपुरमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरका विचिन्न १४ ठाउँमा घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीका अनुसार नक्साल, बालुवाटार, महाराजगंज, पुरानो बानेश्वर, नयाँ बानेश्वर, कमलादी, गैरीधारा, बिशालनगर, चावहिल, कोटेश्वर, लगनखेल, कुपण्डोल, पुलचोक, जावलाखेल लगायतका पायक पर्ने वा अन्य उपयुक्त स्थानहरू घरजग्गा खरिद गर्न लागेको हो । जग्गाको क्षेत्रफल ५ रोपनीदेखि माथि हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक घरजग्गाधनीले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । प्रस्तावित घरजग्गा कम्तीमा २० फिट बाटो भएको सडकसँग जोडिएको हुनुपर्नेछ । बिक्रि गरिने घर जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ ।
सेयर बजारमा १४५ अंकको गिरावट प्रोफिट बुक मात्रै
काठमाडौं । मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट हुनु बजार करेक्सन मात्रै रहेको लगानीकर्ताहरूले बताएका छन् । नेप्से परिसूचक १४५.०५ अंकले घट्दा मंगलबार कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । दिनभरि ३२२ कम्पनीको २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन कारोबार रकम हालसम्मकै उच्च हो । सत्ता समिकरणपछि बजारमा करेक्सन नआई निरन्तर बढिरहेकाले यो करेक्सन आवश्यक रहेको लगानीकर्ताहरूको भनाइ छ । लगानीकर्ता छोटेलाल रौनियारका अनुसार १४५ अंकको गिरावट बजार करेक्सन मात्रै रहेको र सेयर बजार अझै निरन्तर बढ्ने बताउँछन् । ‘सत्ता समिकरणपछि एक÷दुई दिनमा सामान्य करेक्सन आएपनि समग्र सेयर बजार घटेको थिएन । त्यसैले मंगलबारको गिरावट बजार करेक्सन र प्रोफिट बुक मात्रै हो,’ उनी भन्छन्, ‘आजको बजार करेक्सन मात्रै हो भन्ने कुरा त कारोबार रकमले पनि बताएको छ ।’ त्यस्तै लगानीकर्ता तुलसीराम ढकालले पनि मंगलबारको बजार गिरावट करेक्सन मात्रै रहेको बताए । ‘बजार घट्नु भनेको बजार अझै मजबुद बन्दै गएको भन्ने उदाहरण हो,’ उनी भन्छन्, ‘मंगलबारको गिरावट मुख्यत प्रोफिट बुकको लागि करेक्सन मात्रै हो र यो करेक्सनले बजारलाई बलियो बनाउँदै लैजान्छ ।’ लगानीकर्ता तारा फुलेल पनि मंगलबार १४५ अंकको गिरावट भएपनि यो करेक्सन र प्रोफिट बुकको लागि मात्रै भएको बताउँछन् । ‘हेर्दा त यो ठुलो ठुलो अंकको गिरावट हो तर, पनि यो गिरावट भनेको मार्केट करेक्सन र प्रोफिट बुकको लागि मात्रै हो,’ उनी भन्छन्, ‘लगानीकर्ताहरूले ढुक्कले लगानी गरे हुन्छ, केही समय बजार अझै बढ्छ ।’ मंगलबार घटेको बजारमा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनी घटेको छ । त्यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ । फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै ८.२७ प्रतिशतका दरले गुमाएका छन् । मंगलबार सुचीकृत सबै समूह राताम्मै छन् । घटेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावर र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स, गुर्खास फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर, सुभव पावर र हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ४९ करोड ७८ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।
सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले बुधबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले ६० जना ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ । उनीहरूलाई बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ । ‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटकपटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकले सूचनामा भनेको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५९ प्रतिशत उछाल, लाभांश क्षमता कति ?
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा ३६२.५९ प्रतिशत बढेको हो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेर ८७ करोड ४८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेर ११ करोड ७८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेर ९९ करोड २९ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेर ३१ करोड ३१ लाख रुपैयाँ छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यसआधारमा लघुवित्तले १४.८७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ र जगेडा कोष ४५ प्रतिशत बढेर ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ । गत वर्ष लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत घटेर ११ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ र कर्जा लगानी ०.४८ प्रतिशत घटेर १३ अर्ब ८५ करोड १ लाख रुपैयाँ गरेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ बढेर १६.६३ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।
इटहरी उपमहानगरले खरिद गर्याे साढे ६ करोडमा ४ वटा विद्युतीय बस, असोज १ गतेबाट सञ्चालन
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, ‘इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ, सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ, सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ । ।’ उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा बस खरिद गरिएको बताए । उनका अनुसार बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् । नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।
सत्कार सहकारीमा ठूलो रकम हिनामिना, पक्राउ परे सचिवसहित तीन जना
काठमाडौं । काठमाडौंको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन् । पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुले आर्कषक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरु ब्यूरोमा पुगेका थिए । प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरुलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय र सहकारी विभागबाट समेत प्रहरीलाई पत्राचार भएको उनले बताए । सोही आधारमा खोजी गरी सोमबार पक्राउ परेका उनीहरुमाथि आज सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको पनि बोगटीले बताए । ब्युरोले एक सूचना जारी गरी उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन अनुरोध पनि गरेको छ ।
डलरको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च पुग्दा यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । बुधबार पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरको मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६३ रुपैयाँ र खरिददर १३४.०३ रुपैयाँ तोकेको छ । यसअघि हिजो मंगलबार डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ तोकिएको छ ।
पीडितका समस्या र समाधान समेटिएको प्रतिवेदन कार्यदलले बुझायो, लघुवित्तबाहेकले कारोबार गर्न नपाउने
काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ । सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । यसैगरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्थाहरुबाट बाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाहरुले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्ने लगायत छन् । नेपाल राष्ट्र बैंकहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाहरु बारेमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई हाल कर्जा नियमित नभएका तथा समस्यामा परेका भनिएका आआफ्ना ऋणीहरुको तथ्यांक संकलन गरी नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरी अधिकतम ६० दिनभित्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्न निर्देशन दिने लगायत छन् । लघुवित्त वित्तीय संस्थाहरुले गर्नु पर्ने कार्यहरुमा समयमा कर्जाको साँवा व्याज तथा नियमित बचत जम्मा नगर्ने सदस्यहरुलाई ताकेता गर्ने नाममा कार्यस्थलको वातावरण बिगार्ने गरी दबाब तथा मानसिक यातना नदिने लगायतका छन् । लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले पालना गर्नुपर्ने कार्यमा एक संस्थाबाट मात्र कर्जा उपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने तथा उक्त परियोजनाबाट भएको नगद प्रवाहबाट नियमित रुपमा किस्ता तिर्ने लगायत छन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझावहरु कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरुको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक भएको बताइन्। प्रतिवेदनका अनुसार २०८० साल चैत्र मसान्तसम्म ५५ वटा लघुवित्त वित्तीय संस्था छन् । त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था र बाँकी ५२ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५३ अर्ब ११ करोड रुपैयाँ कुल प्रवाह गरेका छन् । कुल बचत १ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र सापटी रकम २ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ छ । लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्त तथा वित्तीय संस्था पीडितका प्रतिनिधिबीच २०८० साल चैत्र २ गते अर्थमन्त्रालयमा ६ बुँदे सहमति भएको थियो । त्यसैदिन लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. तिम्सिनाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।