विकासन्युज

सानिमा माई हाइड्रोको सञ्चालकमा पराजुली

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको बैठकले सञ्चालक पदमा पराजुलीलाई नियुक्त गर्ने निणर्य गरेको हो । साथै, कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको सञ्चालक पदमामा बलराम पराजुलीलाई नियुक्त गरिएको हो ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । ‘यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो’, उनले भने, ‘त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।’ कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए । नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनले जानकारी दिए । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् । नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ । लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताए । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उनले बताए । रासस

१ अर्ब १० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर उल्लेख गरि आवेदन दिन अनुरोध गरेको छ । राष्ट्र बैंकले उक्त रकम मध्ये वाणिज्य बैंकमा ८८ करोड, विकास बैंकमा १६ करोड ५० लाख र फाइनान्स कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । हाल पेन्सन कोषमा रहेको उक्त रकम भदौ ५ गतेदेखि चैत ९ गतेसम्म ७ महिनाका लागि निक्षेपमा राख्ने तयरी राष्ट्र बैंकले गरेको हो । जसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले साउन २४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । जसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विभिन्न शर्तहरु तोकेको छ । यस्ता छन् शर्तहरु क. बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको । ख. बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको । ग. निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको । घ. खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको । ङ. कर्जा र स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको । च. निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको । छ. लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको । यदि, कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पूरा भएको । ज. शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको । झ. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । ञ. समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको । ट. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको । प्रस्ताव गरेको ब्याजदर माथि उल्लिखित लगानी गरिने मितिसम्म मान्य हुनेछ । त्यस बैंक र विकास बैंक र वित्तीय संस्थाको ब्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

काठमाडौं । सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौतामा एक समारोहबीच मंगलबार एक समारोहबीच हस्ताक्षर भयो । उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष वेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ । उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत खानेपानी वितरण भएको छभने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । कार्यालयमार्फत आव २०८०/८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उनले बताए । यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त कार्यालयले गत आवमा १७ करोड ६५ लाख १० हजार रुपैयाँ पुँजीगत खर्च गरेको जनाएको छ । गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो । नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन् । सात हेक्टर जग्गा पनि संरक्षण भएको छ । दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रण योजना सञ्चालन भएको थियो । रासस

गण्डकी प्रदेशका यातायातमन्त्री दीपक मनाङले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको आज निरीक्षण गरेका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन, अस्पताल तथा आपतकालिन कक्षको निरीक्षण गरेका हुन् । मन्त्री मनाङेले छत्रपाटी निःशुल्क अस्पतालको निरीक्षणको क्रममा भौतिक संरचना र नयाँ बन्दै गरेको भवनको संरचना निर्माण तथा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री मनाङेलाई अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष डा. श्रेष्ठले मन्त्री मनाङेलाई अस्पतालको नयाँ भवन बन्दै गरेको, मुटु सम्बन्धी विशेष उपचार कक्ष तयार हुँदै गरेको जानकारी दिँदै क्यान्सरको उपचार सम्बन्धी नयाँ भवनमा अत्याधुनिक सुविधासहितको सेन्टर तयार हुँदै गरेको जानकारी दिएका थिए । साथै अध्यक्ष डा. श्रेष्ठले छिट्टै कलेजो सम्बन्धी उपचारको लागि अत्याधुनिक मेशिन ल्याएर उपचार सुरु गर्न लागेको जानकारी दिए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउ बद्री भवनमा अब नयाँ अप्रेशन थिएटरको खाँचो रहेको र त्यसको लागि तीन करोड भन्दा बढि लगानी आवश्यक रहेको जानकारी गण्डकी प्रदेश मन्त्री मनाङेलाई जानकारी गराएका छन् । अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको तारिफ गर्दै मन्त्री गुरुङले ठमेल क्षेत्रका विभिन्न होटल तथा व्यापारीहरुलाई विशेष प्राथमिकता दिएर जनमुखी स्वास्थ्य सेवा दिदाँ अस्पताललाई अझै राम्रो हुने धारणा समेत व्यक्त गरेका छन् । शहरी क्षेत्रमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंका भित्री तहका जनताको स्वास्थ्य उपचारमा विशेष भूमिका खेल्दै आएको छ । नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक प्रविधियुक्त अप्रेशन थेटर सञ्चालन गर्न आवश्यक पहल गरी दिनका लागि मन्त्री गुरुङलाई अस्पताल सञ्चालक कार्यसमितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आग्रह गरेका छन् । अस्पतालका कार्यसमितिका अध्यक्ष डा. श्रेष्ठले विभिन्न निजी स्वास्थ्य प्रदायक संस्थाको तुलनामा छत्रपाटी निःशुल्क अस्पतालले सुलभ शुल्कमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘हामीले विभिन्न संस्थाहरुसँग आर्थिक सहयोग जुटाउँदै अस्पताल सञ्चालन गर्दै आएका छौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा अध्यक्ष नविन मानन्दरसहितले आवश्यक सहयोग जुटाएको उल्लेख गरे ।’ क्षत्रपाटी निःशुल्क चिकित्सालय सामुदायिक अस्पताल हो । २०१३ सालमा स्थापना भएको सो अस्पतालको व्यवस्थापन स्वयम्सेवकको रुपमा कार्यरत रहेका छन् ।

आज पनि देशभर वर्षा हुने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । त्यसैगरी विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ । आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको क्षतिबाट बच्न जोगिन तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैबीच मौसम पूर्वानुमान महाशाखाले बितेका २४ घण्टामा काठमाडौँमा ७३ मिलीमिटर वर्षा मापन गरिएको बताएको छ । विभागका अनुसार सबैभन्दा बढी धरानमा एक सय चार मिलीमिटर वर्षा भएको छ भने ओखलढुङ्गामा ८५, विराटनगरमा ८०, जनकपुरमा ७४, जिरीमा ४६, पोखरामा ३०, भैरहवामा २६, पोखरा र सिमरामा २१ मिलीमिटर वर्षा भएको छ ।

त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिनको भाडा पौने १ करोड रुपैयाँ

काठमाडौं । बैंकहरूले त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालन गर्दा पौने १ करोड रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा बैंकहरूले एटीएम मेसिन सञ्चालन गर्दा ७५ करोड ४३ लाख २७८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको हो । उक्त भाडा रकम भने ५ वर्ष अवधिका लागि रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवन परिसरमा एटीएम मेसिन सञ्चालन गर्न इच्छुक बैंकले बोलपत्र पेस गर्न आग्रह गरेको छ । हाल ग्लोबल आइएमई बैंकको एटीएम रहेको कोठामा प्रत्येक एटीएमको लागि १.३२ वर्गमिटर क्षेत्रफलका दरले जम्मा जम्मा ३.९६ वर्ग मिटर क्षेत्रफलमा जम्मा ३ वटा फरकफरक बैकको एटीएम खुला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको लागी आय ठेक्कामा दिइने नागरिक उड्डयन कार्यालयले बताएको छ । नेपाल राष्ट्र बैकबाट ‘क’ वर्गका वाणिज्य बैंकले प्रचलित कानूनको अधिनमा रही १५ दिनभित्र बोलपत्र दाखिला आग्रह गरेको छ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ ।