विकासन्युज

काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही हुने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएकाे जनाएकाे छ । काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै, जारको पानीमा ५० देखि ६० रुपैँया असुल्ने गर्छन् । पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

हेलिकप्टर दुर्घटना : समितिको बैठकमा पाइलटको दोष रहेको चर्चा, ‘हेलिकप्टर थोत्रो हो कि सिस्टम थोत्रो ?’

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको दोष रहेको चर्चा भएको छ । घटनाबारे छलफल गर्न बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस घटनामा पाइलटको दोष रहेको बताएका हुन् । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनकाे दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे । उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’ उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए । उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’ यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले मौसम खराबका कारण काठमाडौं फर्किन खोज्दा हेलिकप्टर बादलभित्र छिरेको र सोही बेला दुर्घटना भएको हुन सक्ने उनुमान बैठकमा प्रस्तुत गरेका छन् । उनले हेलिकप्टर देब्रेतर्फ मोडिन खोज्दा खसेको हुन सक्ने धारणा राखे । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने । उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । बैठकमा मौसम खराब भएको समयमा उडान अनुमति किन दिइयो भन्ने प्रश्न उठेको छ । तर, महानिर्देशक अधिकारीले त्यतिबेला मौसम सफा रहेको प्रतिक्रिया दिएका छन् । सांसद प्रभु साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताउँदै यसलाई सुधार गर्नुपर्ने बताए । ‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ, उनले प्रश्न गर्दै भने, ‘यो दुर्घटना हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो ।’ उनले आफै हेलिकोप्टर नउड्ने भन्दै नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने बताए ।

भिजुअल फ्लाइट रुटअनुसार नचल्दा हेलिकप्टर दुर्घटना भयो : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे । उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’ उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए । उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’ बुधबार सो हेलिकप्टर दुर्घटना हुँदा ४ जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बंगलादेशको राष्ट्र प्रमुख बनेका नोबेल पुरस्कार विजेता युनुस : अर्थशास्त्रीदेखि लघुवित्तका प्रवर्तकसम्म

तस्बिर : रोयटर्स काठमाडौं । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले आज नै आज शपथ लिने कार्यक्रम छ । विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए । उनी फ्रान्सको पेरिसबाट बंगलादेश आएर देशको प्रमुख बनेका हुन् । उनी पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूले उल्लेख गरेका छन् । उनले बैठकपछि बेलुका ८ बजे उनले शपथ लिने कार्यक्रम छ । को हुन् उनी ? मोहम्मद युनुस नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री हुन् । ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन् । मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाएका छन् । उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुगेको छ । चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए । उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत बैंकहरूले दिने गरेका थिएनन् । उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण बैंक भयो । वित्तीय क्षेत्रमा गरेको योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पनि पाए । राजनीतिमा प्रवेश  युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक आवद्धता बढाएका हुन् । उनले सन् २००७ मा नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरे । उनले यही अभियानबाट बाङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए । तर, यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौंसम्म माथि उठ्न नदिन प्रयास गरेका थिए । त्यसपछि उनी राजनीतिबाट पछि हटे । पछि आर्थिक अपचलन तथा कर छलि गरेको भन्दै शेख हसिनाले आरोप पनि लगाइन् । सन् २०१३ मा सरकारी अधिकारीहरूले प्राध्यापक युनुसमाथि विदेशी आयमा कर छली गरेको आरोप लगाएका थिए । उनी सोही कारण ६ महिना जेल पनि बस्नुपर्यो । पछि धरौटीमा छुटे । सन् २०११ मा बाङ्ग्लादेशको केन्द्रीय ब्याङ्कले ६० वर्षपछि अनिवार्य अवकाश लिनुपर्ने उमेर नाघेको आधारमा उनलाई ग्रामीण बैंकबाट पदमुक्त गरेको थियो । एजेन्सी

इन्द्रेणी मसरुम फर्मले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इन्द्रेणी मसरुम फर्मले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका– १ स्थित चिल्ताङमा केही वर्षदेखि व्यावसायिकरूपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने उद्देश्यका साथ काम गर्दै आइरहेको बताएको छ । नेपालमा छरिएर रहेको कृषि व्यवसायअन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरूलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरूको आकर्षणको केन्द्रविन्दु बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यअनुसार काम तथा सोसँग सम्बन्धित क्रियाकलापहरू गरिरहेको कम्पनीले जनाएको छ । हाल व्यावसायिकरूपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ । गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असंख्य लाभ तथा आर्थिक लाभसमेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो । हाल यस संस्थाले विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरूबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ वटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ । बजारमा हुने प्रतिदिन १५ हजार केजीको माग आपूर्तिमा सहजता पुग्ने गरी उत्पादन वृद्धि गर्न सर्वसाधारणहरूको तर्फबाट सहभागिता बढाउन रहेको कम्पनीको भनाइ छ। निकट भविष्यमा यस कम्पनीले सेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुरको हेटौंडाबाट पनि व्यावसायिक रूपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बीउ र सामाग्री बिक्री केन्द्र खोलि बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। चित्लाङ र हेटौडाबाट उत्पादन सुरु भएपश्चात दैनिक २ हजार ५ सय केजीभन्दा माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने दाबी कम्पनीको छ।

प्यान अद्यावधिक गर्न एनआईसी एसियाको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप  (NIC ASIA MoBank)  मा रहेको ‘ PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने ब्यहोरा समेत बैंक जानकारी गराएकाे छ । साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकको अनुरोध छ ।

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक, राधेराधे, सनसिटी–पेप्सिकोला, बसुन्धरा चौकी, सितापाइला, बौद्ध, कौशलटार, इमाडोल, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । कुमारी बैंकका ग्राहकलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशुल्करूपमा उपलब्ध गराएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।