विकासन्युज

डोनाल्ड ट्रम्पलाई पछि पार्दै कमला ह्यारिस अगाडि

काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सार्वजनिक सर्वेक्षणले देखाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ । अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणालीअन्तर्गत मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ । यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए । बाइडेनले गत महिना (जुलाइमा) राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए । नोभेम्बर ५ मा हुने निर्वाचन अघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ । यद्यपि ह्यारिसलाई गर्भपतनको मुद्दामा कसलाई विश्वास छ भनेर सोध्दा डेमोक्र्याटहरूले ह्यारिसको उम्मेदवारीलाई स्वागत गर्ने उत्साहको वृद्धिलाई हृदयदेखि नै लिएका छन् भने ८१ वर्षीय बाइडेनले राजीनामा दिएपछि धेरैले राहतको महशुस व्यक्त गरेका छन् ।

आज यी ४ प्रदेशमा भारी वर्षा हुने

फाइल फाेटाे काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

रेकर्ड बनाएको डलरको मूल्य घट्यो, यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २७ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४६.३४ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.९९ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.८४ रुपैयाँ र बिक्रीदर १७१.६१ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५४ रुपैयाँ र बिक्रीदर ९७.५१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ तोकिएको छ ।

मापदण्ड विपरीत सञ्चालित डेरी उद्योग कारबाहीमा

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि कारबाही गर्ने भएको छ । मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो । कार्यालयले अनुगमनका क्रममा दुवै उद्योगबाट उत्पादित सामग्रीको नमूना संकलन गरी जाँच गर्दा कैफियत पाएपछि कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रवीण तिवारीले जानकारी दिए । ‘माँ जानकी डेरी उद्योगबाट उत्पादित खुवा, घ्यू तथा प्रशोधित दूधको नमूना संकलन गर्दा मापदण्डअनुसार नभएको पाइएको छ । विशाल डेरी उद्योगको पूजामा प्रयोग गरिने घ्यूको जाँच गर्दा कैफियत पाइएको हो,’ उनले भने । बजारमा विशाल डेरीबाट उत्पादित घ्यू नष्ट गरिएको छ । कार्यालयले गत आवमा यहाँ ४६ वटा औद्यौगिक तथा व्यावसायिक फार्मबाट उत्पादित सामग्रीको अनुगमन, छड्के निगरानी गरी मिसावट भएका, गुणस्तरहीन तथा म्याद नाघेका वस्तु नष्ट गरेको थियो । संकलित नमूनामध्ये प्रयोगशालामा जाँच गर्दा दुई डेरी उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिए । कार्यालयबाट जनकपुरसहित धनुषाको विभिन्न बजार तथा चोकमा अनुगमन भएको थियो । व्यावसायिक होटल, रेष्टुरेण्ट, मासु पसल, किराना पसल, मिष्ठान भण्डार, बोर्डिङ स्कुलका क्यान्टिन, अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ती व्यावसायिक फार्मबाट रु दुई लाख मूल्य बराबरको अखाद्य वस्तु नष्ट गरिएको तिवारीले बताए । गत आवमा मधेस प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा नमूना प्रतिकूल पाइएको थियो । तीमध्ये ३१ मुद्दा दायर, १६ को बयान सकिएको र अन्यको बयान लिन बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

गोसाइँकुण्ड स्नान गर्न पुग्न थाले भक्तजन

रसुवा । यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् । यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन (आगामी भदौ ३ गते) भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए । रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइँकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । साइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए । भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे । गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे । यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन उनले आग्रह गरे । गोसाइँकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ । घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले बताए । काठमाडौंबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिड्नका लागि काठमाडौँबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ । फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, लठ्ठीको नाममा रूख बिरुवा नकाट्न, पैदल मार्गमा भेटिने जनावरलाई संरक्षण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले सम्पुर्ण यात्रीमा अनुरोध गरेको छ । यात्रीले प्रयोग गरेका निजी सवारीसाधन सुरक्षाका लागि गोसाइँकुण्ड गाउँपालिका–६ को कार्यालय धुञ्चेले सःशुल्क पार्किङको व्यवस्था गरिसकेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए । गोसाइँकुण्ड जाने पैदल मार्ग स्वच्छ पार्न सरसफाइ कार्यक्रम सुरु भएको छ । पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालयको पहलमा धुञ्चेबाट मिनी गोसाइकुण्डसम्म सरसफाइ सम्पन्न गरिएको बताउँदै प्रजिअ खनालले क्रमशः सरसफाइलाई निरन्तरता दिने जनाए ।

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै

दमौली । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हो । च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्यनारायण, लक्ष्मीनारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । साथै, मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय हाठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताए । बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे । च्यवनधामका अध्यक्ष लम्सालले भने, ‘यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन् । यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।’ यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहेको बताइन् । उनले भनिन्, ‘सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरू, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।’ शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रूपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भनिन्, ‘यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।’ पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरे । च्यवनधाम र गौ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन् । यसरी फेरियो स्वरूप पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ । शुक्लागण्डकी–२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् । एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । अहिले यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ । यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । उनका अनुसार हिन्दू धर्मको मात्र नभई च्यवनधाम बौद्ध धर्मावलम्वीको पनि आस्थाको थलो हो । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । ‘ यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ,’ उनले भने, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्यो । यहीको पुनमगर समाजले तारबार लगायो । पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरूको अन्तिम घर अर्थात् चिहान त्यही आडैमा थियो ।’ जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ मा काठमाडौँ बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भएपछि उहाँले सेतीको किनारमा तपोभूमि भएको सुनाएका थिए । उनले शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिका रूपमा रहेको पनि सुनाएपछि स्थानीयको पहलमा पूर्वाधार निमार्ण थालिएको अध्यक्ष लम्सालले जानकारी दिए । विसं २०६७ कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माण गर्न लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरिएको अध्यक्ष लम्सालले उल्लेख गरे । समितिले यहाँ मन्दिरसहित पूर्वाधार निर्माण गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको महायज्ञमा एक करोड ५० लाख रकम संकलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको थियो । महायज्ञ लगाएको छ महिनापछि मन्दिर शिलान्यास गरिएपछि पूर्वाधार निर्माणको चरण सुरु भएको थियो । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको अध्यक्ष लम्सालले जानकारी दिए । गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको उनले उल्लेख गरे । यही बाटो भएर तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरबाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेका छन् । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती विन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीबाट सुरु हुने भएकाले पनि यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेमा रोजगारीका अवसर सिर्जना हुनाका साथै आयआर्जन वृद्धि हुँदै जाने विश्वास लिइएको छ ।

कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

स्याङ्जा । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले संकलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । ‘यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ,’ उनले भने, ‘सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगेर बिक्री गर्न समन्वय गरिरहेको छ ।’ कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरू सहकारीको संकलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए । ‘कृषकबाट सङ्कलन गरिएका कृषि उपज केन्द्रमा संकलन गरी राख्छौँ, स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ,’ उनले भने, ‘ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ ।’ कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ । कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे । ‘सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्‍याउँदै आएका छौँ,’ उनले भने, ‘कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढङ्गले कृषि कर्जा वितरण गरिरहेका छौँ ।’ उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताP । गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए । ‘चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु’, उनले भने, ‘घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ ।’ उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे । ‘हामीले सहकारीमा लगेर छोडेको सागसब्जी तथा फलफूल सहकारीले बिक्री गर्छ,’ उनले भने, ‘बिक्री गरेर आएको रकम खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ ।’ वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् । उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए । ‘सहकारीमा सबैभन्दा बढी कृषि उपज संकलन गरेर पुरस्कृत हुँदै आएको छु,’ कृषक रेग्मीले भने, ‘सागसब्जी र फलफूल खेतीबाट वार्षिक रु तीन लाअ बढी आम्दानी हुन्छ । ६ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आइरहेको छु ।’ उनले गत आवमा रु तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए । सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज संकलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ । उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा संकलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए । रासस

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा : अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् । मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए । केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरूमध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरू विकासको संवाहक हुने उनको भनाइ थियो । जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।