पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड बढी बजेट
पर्वत । चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा १७ करोड रुपैयाँ भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा १७ करोड १९ लाख ८५ हजार रुपैयाँ बजेट खर्च हुने भएको हो । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । पशुपालनतर्फ पनि दूध, घ्यू, माछा मासु, अण्डामा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात बढाउने उद्देश्यले बजेट छुट्याएर कार्यक्रम बनाइएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत रहेका कृषि ज्ञान केन्द्रमार्फत ५ करोड ८२ लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत ४ करोड १५ लाख र संघीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमार्फत ७ करोड २२ लाख ८५ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । परियोजनाका केही कार्यक्रम छिमेकी जिल्ला बागलुङ र गुल्मीमासमेत सञ्चालन हुने भएका छन् । ज्ञान केन्द्रले गत वर्षदेखि सञ्चालनमा ल्याएको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिइएको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । आलुखेती प्रवर्द्धन गर्न एक करोड ४७ लाख विनियोजन गरिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लागि १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि १० लाख, बीउ उत्पादन प्रवर्द्धनतर्फ १२ लाख ५० हजार, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धनतर्फ १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि ९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्नबाली प्रवर्द्धन आयोजनातर्फ २६ लाख, ६० हजार, सुन्तला जात फलफूल विकास आयोजनाका लागि १ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकाले यसको खेती विस्तारलाई जोड दिइएको केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसासलाई लक्षित गरेर चालु आवमा विविध कार्यक्रम निर्धारण गरिएको कार्यालय प्रमुख पुष्पराज बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पर्वत दूध र माछा, मासुमा आत्मनिर्भर बनिसकेको छ भने अण्डा पनि केही मात्रामा आयात हुने गरेको छ । चालु आर्थिक वर्षमा पशुमा पूर्ण खोप कार्यक्रमतार्फ ९८ लाख रुपैयाँ छुट्ट्याइएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि २० लाख, पशु विकास प्रवर्द्धनतर्फ ५० लाख, पशु तथा मत्स्य व्यवसाय प्रवर्द्धनतर्फ १ करोड १३ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रमतर्फ ३५ लाख ३० हजार, किसानको क्षमता अभिवृद्धितर्फ ७ लाख, पशु आहारा प्रवर्द्धनका लागि ६ लाख र स्थानीय पशुपक्षी संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाइमार्फत पर्वतमा मकै, धान, तरकारी र सुन्तलाखेतीको प्रवर्द्धन गर्न विभिन्न योजनमा बजेट खर्च गरिने भएको छ । विगत आठ वर्षदेखि जिल्लामा सञ्चालित योजना तथा परियोजनाले सुरुमा मकैबालीको प्रवर्द्धनमा लगानी गरेको थियो । अहिले मकैको बीउको स्रोत केन्द्रनै पर्वत बनेको छ । जिल्लाको फलेवास, महाशिला र विहादी गाउँपालिकामा मकैको मूल बीउ उत्पादन गरी निर्यात हुन थालेको छ । त्यसैगरी पोखरेली जेठोबुढो धान उत्पादन र यसको स्रोत बीउ उत्पादनमा अहिले सक्रिय बनेको छ । गत आर्थिक वर्षमा पर्वतबाट पोखरेली जेठो बुढो धानको १२ मेट्रिक टन बीउ निर्यात भएको थियो भने पोखरेली जेठो बढो धान ३० मेट्रिकटन निर्यात भएको थियो । चालु आवमा विनियोजित बजेट वितरणमुखी भन्दा पनि दीर्घकालीन योजनालाई जोड दिइएको छ । यस वर्ष दुईवटा चिस्यान केन्द्र (कोल्ड रुम) स्थापनाका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ भने सिँचाइ पूर्वाधार निर्माण तथा मर्मततर्फ ३० लाख रुपैयाँ विनियोजना गरिएको छ । त्यसैगरी चक्लाबन्दीमा आधारित फलफूल बगैँचा व्यवस्थापन, बीउ उत्पादन, मसिना धान प्रवर्द्धन, प्याकेजिङ लेभलिङ तथा क्षति न्यूनीकरण कार्यक्रमका लागि बजेटलाई प्राथमिकता दिइएको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । सिँचाइ पूर्वाधार निर्माण गर्न यसवर्ष ७५ लाख, प्लास्टिक घर निर्माण गर्न ३५ लाख, तरकारी जोनका लागि १० लाख ३० हजार, उद्यमशील कार्यक्रमतर्फ अनुदान ४० लाख, व्यावसायिक प्याज प्रवर्द्धन गर्न ८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको पौडेलले बताए । तीनवटै कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गर्दै विनियोजित बजेटबारे जानकारी दिएका थिए । पर्वतमा गत आर्थिक वर्षमा स्थानीय तहसमेत गरी २० करोड ८१ लख ५५ हजार खर्च भएको थियो । गत आवमा नगरपालिका र स्थानीय तहबाट ९ करोड ४६ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । रासस
प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान
मान्म । कालीकोटमा किसानले बारीबाटै ५० रुपैयाँमा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । ‘नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो’, उनले भने, ‘अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ।’ बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताए । ‘जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्’, उनले भने, ‘अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन्।’ स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले बताए । ‘स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्याउन ढुवानी खर्च महँगो पर्छ’, उनले भने, ‘ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन।’ किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताएका छन् ।महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गरे । उनले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरुन । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्दपि तपाईंहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।’ आफू यसै क्षेत्रको सांसदका रूपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए । ‘अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ, यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ, कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ,’ उनले भने । मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए । सो अवसरमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताए । उनले भने, ‘यो अस्पतालप्रति आम मानिसको विश्वास र यहाँको क्षमताकै कारण हामीले यसलाई अझैँ वृहत बनाउने नै छौँ, यसका लागि हामी तत्पर छौँ ।’ अस्पतालका निर्देशक डा. पंकज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘हामीकहाँ भएको जनशक्ति पर्याप्त नभए पनि हामीले सेवालाई थप सहज र प्रभावकारी बनाउन मेहनत गरिरहेका छौँ, हाम्रो वार्षिक र बहुवर्षीय योजनालाई मन्त्रालयले अगाडि बढाउन मद्दत गरिरहेको छ, यसले आगामी दिनमा थप सुविधा दिन सहयोग पुग्छ ।’ अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बन्नुभएकाले अस्पतालको स्तर बढ्नेमा कुनै दुविधा नरहेको बताए । सो अवसरमा मन्त्री पौडेलले १६ शय्याको ‘बालबालिका मनोचिकित्सा अन्तरङ्ग वार्ड’को उद्घाटन गरे ।
सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आजदेखि लागु हुने गरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु हुने व्यवस्था मिलाएकाे बताएको छ । यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (एक्टिभ) गराउनुपर्ने अवस्था रहेकामा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि*1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिनेछ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँबानेश्वर र भक्तपुर कौशलटारमा रहेको सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यति एयरलाइन्सले पायो ‘आइसा’ को प्रमाणपत्र, उड्डयन क्षेत्रमा उत्कृष्ट
काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले प्रदान गर्ने आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट (आइसा) को प्रमाणपत्र प्राप्त गरेको छ । आइसाको यो प्रमाणपत्र उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र प्रदान गर्ने गरिन्छ । यतिले आफ्नो आधिकारिक फेसबुक पेजमा आइसाले प्रदान गरेको प्रमाणपत्र सार्वजनिक गरेको छ । जसमा भनिएको छ, ‘आइसाको प्रमाणपत्र प्राप्त गर्न पाउँदा हामी गर्व गर्छौं, हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो ।’ आइटाद्वारा प्रदान गरिएको आइसाको प्रमाणपत्र यति एयरलाइन्सको अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण रहेको कम्पनीले जनाएको छ ।
नेप्से ३४.२९ अंकले बढ्यो, यी १० कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह ७.६७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचल फण्ड बाहेक अन्य सबै समूह बढेको छ । सबैभन्दा धेरै म्यूचलफण्डका लगानीकर्ताले ०.९० प्रतिशतका दरले गुमाएका छन् । यस दिन १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशतद्ये बढेको छ । त्यस्तै मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार फाइनान्स ७.६७, बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढेको छ । त्यस्तै माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशतले घटेको छ । कारोबार रकममा आधारमा हिमालयन रि र शिवम् सिमेन्ट नै शीर्ष स्थानमा रहेका छन् ।
नाडा अटो शोमा ग्लोबल आइएमई र नबिल बैंकसहित ७ वटा वित्त कम्पनीले भाग लिने
काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् । यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।