एनसेल प्रयोगकर्ताले रोमिङमा एसएमएस अलर्ट र ओटीपी पाउने
काठमाडौं । एनसेल सिम प्रयोगकर्ताले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने सूचनाहरू मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने सूचनाले विशेष गरी केवाईसीमा मोबाइल नम्बर चाहिने र नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधा बारेमा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायलाई ठूलो महत्त्व पुग्ने कम्पनीले जनाएको छ । विविध डिजिटल सेवाको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै : ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस्ता ओटीपी, एसएमएस र नोटिफिकेसनहरू सरकारी, अर्ध–सरकारी, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था, गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् । ‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन, हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । मोहसिनले कम्पनीका कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या नरहेको बताए । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक भएको भन्दै उनले यसबाट ग्राहकहरू सधैं अन रहेको देखाउने बताए । ‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्या देखिएका थिए । ती समस्याहरू द्रुत गतीमा समाधान भइसकेका छन्,’ उनले भने । एनसेल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता सूचना प्राप्त गर्न योग्य रहेको उनले बताए । एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।
प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक ‘कार्डलेस’ सेवा सुरु
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ । बैंकहरूका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरेर बिना कार्ड मोबाइल बैंकिङ वा कनेक्ट आइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ । अब दुवै बैंकका ग्राहकहरूले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ । हालका लागि ग्राहकहरूले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्मअन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिंक गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् ।
उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले भोइस तथा डेटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो । जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विही, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी सेवासमेत सञ्चालन गरेको जनाएको छ । ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरूमा VSAT प्रविधिलाई Microwave Transmission Link ले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फाेरजी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फाेरजी मोबाइल सेवा सञ्चालन गरिएको छ कम्पनीले जनाएको छ । भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।
आइएमई रेमिट्यान्सको सीईओमा दिवाकर पौडेल नियुक्त
काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन् । जीएमई रेमिट्यान्ससँग मर्जरपछि आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर आज (साउन ३० गते)देखि एकीकृत कारोबार सुरु गरेको हो । जीएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको यस कम्पनीमा सीईओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपिछि चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई नम्बर वान कम्पनी हो ।
टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं । प्रतिनिधि सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक सेयर कारोबार सुरु
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड व्यावसायिक सञ्चालन सुरु गरेको छ। बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे । सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे । साथै, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्धसञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरीय रूपमा एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने जानकारी दिए । गैह्रिधारा–२, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।
थाइल्याण्डको अदालतले गर्यो प्रधानमन्त्रीलाई पदमुक्त
थाइल्याण्ड । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार आफूलाई नैतिक नियम उल्लंघन गरेको कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । ‘म अदालतको फैसलाको सम्मान गर्छु, म लगभग एक वर्षदेखि प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु, मैले इमानदारीका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,’ संवैधानिक अदालतको फैसलापछि श्रेथाले आफ्नो कार्यालय बाहिर पत्रकारहरूलाई भने । फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे बुधबार भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने भएका हुन् । यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लंघन गरेको अभियोग लगाइएको हो । पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा ६ महिनाको जेल सजाय सुनाइएको थियो ।
शिक्षा मन्त्रालयले भन्यो- विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यता लिएका कलेजमा भर्ना हुँदा ध्यान पुर्याउन सरकारले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कतिपय कलेजले नियमविपरीत सञ्चालन भइरहेकाले भर्ना हुनुपूर्व कलेजबारे जानकारी लिन भनेको हो । मन्त्रालयले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयबाट नियमानुसार मान्यता प्राप्त गरेका कलेजबाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ष सञ्चालन गरिरहेका कलेज/शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना राम्रोसँग बुझौँ ।’ यस्तै, मन्त्रालयले एक सूचना जारी गर्दे अन्तराष्ट्रिय कार्यक्रम सञ्चालन गरिरहेका तीन वटा कलेजमा विद्यार्थीलाई भर्ना नगर्न आग्रह गरेको छ । काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेज, ललितपुरको खुमलटारमा रहेको नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेजमा र जनकपुरको कश्यपइन्सिच्युट अफइन्जिनिएरिङ कलेजमा भर्ना नहुन मन्त्रालयले आग्रह गरेको हो । काठमाडौंको बानेश्वरमा ग्लोबल इन्टरनेश्नल कलेज अहिलेको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको कारण विद्यार्थी गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । यस्तै नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेज स्थानान्तरणको प्रक्रीयामा रहेका कारण भर्ना गर्न नमिल्ने र जनकपुरको कश्यप इन्सिच्युट अफ इन्जिनिएरिङ कलेजको समकक्षता सम्बन्धि विषयमा सर्वोच्च अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेकाले विद्यार्थीलाई भर्ना नहुन भनेको हो । उच्च शिक्षा हासिलका लागि मन्त्रालयबाट मान्यता प्राप्त ५६ वटा कलेजमा मात्र भर्ना हुन भन्दै आफ्नो वेबसाइटमा ती विद्यालयको नामावली राखेको छ ।