विकासन्युज

एकै पटक ५९ जना सह सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एकै पटक ५९ जना सहसचिवलाई सरुवा गरेको छ । जसमध्ये राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई पनि अर्थमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमै सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालयमा पुगेकी छिन् । महावाणिज्य दूत बनाउने तयारीसहित ४ सहसचिव परराष्ट्र मन्त्रालयमा पुगेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा भएका छन् । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ। भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् । अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतो पनि लोक सेवा आयोगमा पुगेका छन् । सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । भ्रष्टाचार मुद्दामा मुछिएका अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन् । सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् । रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । लामो समदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ । बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएकी छिन् । कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतमा ल्याइएको छ । बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन् । सहसचिव डा।नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन् । सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् । सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा ल्याएर थन्क्याइएका छन् । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा पठाइएको छ । पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्रमा पुगेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । उनीसँगै परराष्ट्र गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन् । सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् । सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाएका छन् । सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ । सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन् । सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । कोलकातामा महावाणिज्यदूतका रुपमा कार्यकाल पूरा गरेर फर्किएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले राष्ट्रपति कार्यालयमा जिम्मेवारी पाएका छन् । चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन् । दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन् । ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

यी हुन् मन्त्रीपरिषद्का दर्जन बढी निर्णय

काठमाडौं । बिहिबार बसेको मन्त्रीपरिषदले एक दर्जन बढी निर्णय गरेको छ । उज्वेकिस्तानमा हुन गइरहेको एसियाली पूर्वधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक वैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुन् मन्त्रीपरिषदले स्वीकृत दिएको छ । उक्त निर्णयसँगै मन्त्रीपरिषद्ले १४ वटा निर्णय गरेको छ । [pdf id=504129]  

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका परिवारलाई हस्पिटलले दन्त स्वास्थ्य सेवामा छुट दिनेछ । समाज डेण्टल हस्पिटलका सबै शाखाहरुमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट दिइने भएको हो । समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कार्यालय सरसफाई अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाई अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो । शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे । मन्त्रालयबाट सुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ । अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुुरु गरेको जानकारी दिए । उनले डेंगुको नियन्त्रण र न्युनिकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र ातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान सुरु गरेको बताए । पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाउन आग्रह गरे । ‘अब हामी बिस्तारै हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाए डेंगुमात्र नभइ अन्य रोगहरु पनि रोक्न सकिने भएकाले शुक्रबारको दिनलाई सरसफाई गरिदिन आग्रह गरेका छौँ’, उनले भने । प्रवक्ता बुढाथोकीले सरसफाई अभियानले डेंगुमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरुको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरुको विश्वास छ ।

१२ वर्ष कतार बसेका ओमराज शर्मा डेढ करोडको लगानीमा कुखुरापालन गर्दै

गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् । ‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’, उद्यमी शर्माले भने । उनको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ । तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख रुपैयाँ लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए । रासस

होटलको व्यवसायमा उछाल, नाफा दोब्बर बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे १८ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत वर्ष खुद नाफा औसत १८.६७ प्रतिशत बढेर १ अर्ब ४९ करोड १७ लाख रपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा होटलहरूले १ अर्ब २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटलले नोक्सानी बेहोरेको छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ । यस्तै गत वर्ष यी होटल कम्पनीहरूको कुल आम्दानी १७.४० प्रतिशत बढेर ६ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए । चन्द्रागिरी हिल्स चन्द्रागिरी हिल्सको गत वर्ष खुद नाफा ९९.३९ प्रतिशत बढेर २२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस कम्पनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ मात्रै थियो । बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा उल्लेख्य सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गत वर्ष पर्यटकहरू ६.८८ प्रतिशत बढेर ७ लाख ६८ हजार २७० आवगमन भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा करिब ७ लाख १८ हजार ८४४ पर्यटकहरूको आवागमन भएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालन आम्दानी ९.४९ प्रतिशत बढेर १ अर्ब १ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ८.८० प्रतिशत बढेर ८७ करोड ३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष २३ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको यस कम्पनीले गत वर्ष २९.३७ प्रतिशत बढेर ३० करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १० करोड ७७ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको यस कम्पनीले गत वर्ष ११ करोड ६६ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ बढेर १४.५६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५८.३८ गुणा छ । ओरियण्टल होटल ओरियण्टल होटलको खुद नाफा २३.९२ प्रतिशत घटेर १२ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ६.३४ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ८९ करोड ७७ लाख रुपैयाँ कुल खर्च रहेको यस होटलको गत वर्ष ८.१४ प्रतिशत बढेर ९७ करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेर २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । नाफासँगै होटलको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ घटेर १०.८४ रुपैयाँमा झरेको छ । होटलको प्रतिसेयर नेटवर्थ ३४३.४२ रुपैयाँ रहेको छ । तारागाउँ रिजेन्सी तारागाउँ रिजेन्सीको गत वर्ष नाफा २८.१७ प्रतिशत बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३४ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमन वृद्धिका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यवसायिक प्रतिस्पर्धा सिर्जना भएको देखिन्छ । तर, यस होटलले व्यवसायिक प्रतिस्पर्धामा अब्बल बनाएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोष ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.४३ रुपैयाँबाट बढेर २६.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.५५ गुणा रहेको छ । सिटि होटल अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी बेहोरेको सिटि होटलले गत वर्ष घटाएर २० करोड ४७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ६.५७ प्रतिशत बढेर ५० करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ७० लाख रुपैयाँ कुल खर्च गरेको यस होटलको गत वर्ष २.८१ प्रतिशत बढेर ३७ करोड ७४ लाख रुपैयाँ गरेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ छ भने अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४५६ रुपैयाँ रहेको छ । सोल्टी होटल सोल्टी होटलको गत वर्ष खुद नाफा ८.३० प्रतिशत बढेर ६० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको यस होटलले गत वर्ष २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ गरेको छ । होटलले गत वर्ष १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्ष ८६ लाख ६० हजार रुपैयाँ वित्तीय लागत रहेको यस होटलको गत वर्ष घटेर ३४ करोड १४ लाख रुपैयाँमा सीमित गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब २२ करोड १६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २५.४३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.३१ गुणा छ ।

नबिल बैंकले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरू

काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण सभा डाकेको हो । बैंकको सभाले प्रतिसेयर १०० रुपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै बैंकको अधिकृत पुँजी २८ अर्ब रुपेयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् अधिकृत पूँजी रू. ३३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने, जारी तथा चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् जारी तथा चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा रहेका व्यवस्थामा आवश्यक संशोधन प्रस्ताव बैंकको सभाले पारित गर्नेछ ।

डिजिटल भुक्तानीमा भ्याट फिर्ता, ठूला करदातालाई बीजक अनुगमन प्रणालीमा आवद्ध गरिने

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रुपमा सिर्जित दायित्व एकिन गरी भुक्तानी गर्ने छन् । कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय÷ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण एकिन गर्ने छन् । वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन् । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजनाको कार्यान्वयनले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुनुका साथै स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए ।