विकासन्युज

अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासले दियो यस्ता सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पु¥याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भरगरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ । अध्ययनका लागि क्यानडा आउनु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।

बैंकिङबाट बिदा भए बज्राचार्य, भेट्रान बैंकरको ५२ वर्षे अनुभवको कहानी

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रबाट एउटा अनुभवी र कुशल बैंकर बिदा भएका छन् । बैंकिङ क्षेत्रमा ५२ वर्ष लामो अनुभव हासिल गरेका बैंकर रत्नराज बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा अवकास भएसँगै उनी बैंकिङ क्षेत्रबाट पनि बाहिरिएका हुन् । उमेरको उत्तरार्धसम्म पनि बैंकिङमा सक्रिय उनले अब बैंकिङमा पुनः प्रवेश नगर्ने योजना बनाइएका छन् । नेपाल राष्ट्र बैंकमा पनि महत्वपूर्ण २० वर्ष काम गरेका बज्राचार्यको अनुभव, कार्यकुशलता र दक्षता सबै बैंकरका लागि अनुशरणयोग्य छ । कृृषि विकास बैंकको लेखापाल पदबाट बैंकिङ करिअर सुरु गरेका उनले केही महिना सो बैंकमा काम गरेर वि.सं २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनी विस्तारै बढुवा हुँदै गए । उनले कामसँगै एमकमको पढाइ पनि सके । चार्टर्ड एकाउन्टेन्टको पढाइ पनि पास गरे । उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए । त्यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए । २० वर्ष केन्द्रीय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । केन्द्रीय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी त्यसपछि निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको तत्कालीन एनसीसी बैंकको सीईओ बने । ‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले विगतको अनुभव सुनाउँदै भने । विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो । एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रामक बन्यो । ग्लोबलमा चार वर्षका कार्यकाल सकिएपछि उनी तत्कालीन सनराइज बैंकको सीईओ बने । सनराइजलाई पनि उनले एउटा उचाइ दिए । ‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु ग¥यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले सनराइज बैंकमा हुँदाको काम स्मरण गरे । सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरे । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ । ग्लोबल आइएमई बैंकमा पनि कार्यकाल सकाएर उनी शुक्रबारबाट बैंकबाट बाहिरिएका छन् । उनको यो बहिर्गमन ग्लोबल आइएमई बैंकबाट मात्रै होइन बैंकिङ क्षेत्रबाट नै हो । सम्भवतः उनी अब बैंकिङ क्षेत्रमा पुनः फर्किने छैनन् । यसअघि विकासन्युजको बिएन पोडकाष्टमा उनले अब ग्लोबल बैंक नै आफ्नो जीवनको अन्तिम जागिर भएको बताएका थिए । बैंकिङ क्षेत्रमा उनले पाँच दशक लामो अनुभव मात्रै हाँसिल गरेका छैनन् । उनले हजारौं शिष्यहरू जन्माएका छन् । आफूमा भएको ज्ञान अनभुव, सिप र कार्यकुशलता सिकाएका छन् । एउटा असल व्यवस्थापकको छवि उनले बैंकिङ क्षेत्रमा छोडेका छन् । उनी भन्छन्, ‘व्यक्तिको इमानदारिता नै उसको सम्पत्ति हो, व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सक्नुपर्छ, एउटा व्यवस्थापकमा आत्मविश्वास पनि चाहिन्छ ।’ ‘बोल्ड डिसिजन’ गर्न रुचाउने बज्राचार्य व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने धारणा राख्छन् । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर पर्खिनु हुँदैन, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, त्यस्तो गर्नु हुँदैन,’ उनी भन्छन्, ‘आजको काम आजै गर्नुपर्छ ।’ उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे । नेतृत्व गरेको बैंकलाई पनि एउटा उचाइमा पुर्याए । उनले दुई पटक नेतृत्व गरेको ग्लोबल आइएमई बैंकलाई पनि देशकै ठूलो बैंकका रुपमा स्थापित गरेर बाहिरिए ।

प्रिमियममा सेयर निष्कासन गरेका ४ सिमेन्ट कम्पनी : दुई नोक्सानमा, दुईको नाफा घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म ४ वटा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए । तर, गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण हेर्दा यी ४ कम्पनीकाे वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ । नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट, घोराही सिमेन्ट,  सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स आयल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका छन् । वित्तीय विवरणअनुसार घोराही सिमेन्ट र सोनापुर मिनरल्स नोक्सानमा छन् भने सर्वोत्तम र शिवम्‌काे अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेकाे छ । सरकारले बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरूप ४ उत्पादनमूलक कम्पनी पब्लिक कम्पनी बनेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले उक्त निर्णय गरेको थियो । नोक्सानमा घोराही र सोनापुर मिनरल्स  गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म घोराही सिमेन्ट १ अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । घोराही सिमेन्टको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल चौथो त्रैमाससम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । सोनापुरको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । शिवम् र सर्वोत्तम सिमेन्टको नाफा घट्यो गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिवम् सिमेन्टको नाफा अघिल्लो आवको तुलानामा घटेको छ । कम्पनीको नाफा घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ छ । शिवम्‌ले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ भने नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर ३०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ३६१.९१ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।  

चार जिल्लामा १ अर्बकाे ८५ योजना सम्पन्न, दमकको भ्यु टावर निर्माणमा मात्रै डेढ अर्ब खर्च

भद्रपुर । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित १ अर्ब १८ करोड १६ लाखमध्ये ९९ करोड ६७ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । आयोजनाको ८४.३५ प्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् । ‘आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग, संघीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्,’ उनले भने । भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर एक अर्ब ४५ करोड ७४ लाख रुपैयाँमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय दुई करोड २४ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ । त्यस्तै, आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज संकलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालमा ‘मोबाइल एप’ सुरु

काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ । यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । मिदासले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्यूआर भुक्तानीको विकास पनि गरेको छ । घरबाटै अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सकिने व्यवस्था भएकोले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त बनाएको मिदासले जनाएको छ ।

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्‍याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौंरीपालन र होटल व्यवसाय हुँदै आएको छ । राष्ट्रियसभा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए ।

हुम्लामा आजदेखि एनटी फाइबर सेवा सुरू, ७७ जिल्लामा पुग्यो उच्च गतिको इन्टरनेट

काठमाडौं । हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका हुन् । योसँगै नेपालका ७७ वटा जिल्लामा एफटिटिएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटिटिएच सेवा सञ्चालन हुन बाँकी थियो । मन्त्री गुरुङले एफटिटिएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए । उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराए। ‘मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटिटिएच पुर्याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटिटिएचको पहुँच पुगेको छ,’ मन्त्री गुरुङले भने । मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताए । उनले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सुझावसमेत दिए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्ला जस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्वपूर्ण उपलब्धि रहेको बताईन् । कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुस्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिईन् । एफटिटिएच पहुँच पुगेसँगै हुम्लावासीले खुसी व्यक्त गरेको समेत उनी वेभ कन्फ्रेन्समा बताइन् ।

किसानको छोरा हुँ, मेरो रगतमा किसानको जिन छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए । ‘म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुुसी भएर धेरै फल दिन्छन् ।’ उनले पशुुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिए ।