विकासन्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको छ । झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । ६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका थिए ।

सरकार ३५० अर्ब नोक्सानीमा, खर्च १४०८ अर्ब हुँदा आम्दानी १०५८ अर्ब मात्र

काठमाडौं । अर्थतन्त्रमा संकुचन रहेको उद्योगी व्यवसायीहरूले बताउने गरेको भएपनि तथ्याङ्कले भने ठिकठाक रहेको देखाएको छ । विभिन्न सार्वजनिक कार्यक्रममा उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि बढ्न नसकेको र थप अर्थतन्त्र खस्किन नदिनका लागि पहल चाल्नु पर्ने माग गरिरहेका हुन्छन् । तर, नेपाल राष्ट्र बैंकले भने अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको सन्देश प्रवाह गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह गरेको हो । तथ्यांकअनुसार महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को असारसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब २१ अर्ब ३४ कोड रुपैयाँले बचतमा रहेको छ । जबकी अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ । साढे २० खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति गत वर्ष विदेशी मुद्रा सञ्चिति साढे २० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.६ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति ३०.४ प्रतिशत बढेर १५ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । वि.सं. २०८० असारमा राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्थसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए । रेमिट्यान्स १६.५ प्रतिशतले बढेर साढे १४ खर्ब पुग्यो राष्ट्र बैंकका अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको डाटामा महँगी १०८ प्रतिशतले घट्यो राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार महँगी २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा महँगी १०८.४० प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ । आयात निर्यात घट्यो, व्यापार घाटा साढे १४ खर्ब रुपैयाँ आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा १ प्रतिशतले कमी गत वर्ष कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५१ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४२.९ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.७ प्रतिशत, ०.७ प्रतिशत र ४४.६ प्रतिशत रहेको थियो । कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.८ प्रतिशत, पुँजीगत वस्तुको ९.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३.२ प्रतिशत, ८.४ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए । १४ खर्ब ८ अर्ब रुपैयाँ कुल खर्च आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ३ खर्ब ८२ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँले घाटामा रहेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको कुल खर्च १४ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च १४ खर्ब ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः ९ खर्ब ५१ अर्ब ६४ करोड रुपैयाँ, १ खर्ब ९१ अर्ब ७५ करोड रुपैयाँ र २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) १० खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ९ खर्ब ५७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा अन्य प्राप्तिसमेत गरी नेपाल सरकारले १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ स्रोत परिचालन गरेको छ ।

पर्यटनमन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आइतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ । यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ । परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए । छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन् । उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्यअनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए। यस्तै उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए । समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए। जसका लागि नेपालबाट युरोप जान आउनका लागि सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताए । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्यअनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । २०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने समेत जानकारी गराए। नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने पनि मन्त्री पाण्डेले बताए । सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरू हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।

साढे ३४ अंकले घटेर नेप्से ३ हजार विन्दुभन्दा तल, कारोबार झन्डै २९ अर्ब

काठमाडौं । कारोबार रकममा नयाँ रेकर्ड कायम गर्दै बिहीबार बन्द भएको सेयर बजार साताको पहिलो दिन आइतबार भने ३४.४७ अंकले घटेको छ । यस दिन बजार घटेसँगै नेप्से २९६६.३३ बिन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ३००० विन्दुमा अडिएकाे थियो । आइतबार नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पुँजीबजारले बिहीबार कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन हालसम्मकै उच्च कारोबार हो । आइतबार ४७ कम्पनी बढेको छ भने १९७ कम्पनी घटेको छ । लगानीकर्ताहरू बैंकिङ समूहमा झुम्मिँदा सो समूह ०.८४ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले गुमाएका छन् । यो समूह ४.४९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८४, जीवन बीमा ०.३७, म्यूचल फण्ड ०.३८ र ननलाइफ ०.४६ प्रतिशतले बढेको छ । त्यसबाहेक अन्य सबै समूह राताम्मै भएका छन् । कारोबार रकमको आधारका हिमालयन रि, अपि पावर, कुमारी बैंक नै शीर्ष स्थानमा रहेका छन् । बिहीबार राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको मूल्य आइतबार पनि १० प्रतिशतले घटेको छ ।

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाःसहितको आर्ट भिलेज बन्दै

काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले जानकारी दिए । ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडिपट्टी ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने विश्वास गरिएको छ । कुल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ । ‘भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ,’ प्रवक्ता महर्जनले भने, ‘भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।’ मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिनेछ । ख्वापाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्क्वेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ । परियोजनालाई कला नगरीका रुपमा विकास र प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ । वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका सुपूत्रद्वय स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ । प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरणरसंकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रूपमा शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ । कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रुपक मान महर्जन, जीवन रत्न शाक्य, मदन मान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य छन् । परियोजना नेपाली कलासंस्कृतिकको जगेर्ना, परम्परागत सीप, कौशलको उजागर, प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले बताए । यो ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी-बुङ्गमति हुँदै १०।५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दुरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौँडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटरको दुरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुवै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ । आवास क्षेत्र परियोजनाअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास भवन निर्माण गरिनेछ । आवास क्षेत्रलाई व्यापारिक, पुरातन शैलीको घरबास र निजी निवास निर्माण गरिनेछन् । व्यापारिक क्षेत्रमा कम्पनीको नियमअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ । परम्परागत घरबास कार्यक्रमलाई पर्यटन प्रवर्द्धन हुने गरी सञ्चालन गरिनेछ । कलाग्राम परम्परागत कला, सीप र प्रविधिसहितको कलाग्राम स्थापना गरिनेछ । कलाग्राममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य लिइएको छ । कलाग्राममा हस्तकलाका परम्परागत हस्तकलाका आठ विधिहरू सुनचाँदीका गरगहना, थं ज्याः (तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरू) थ्व ज्याः, मा ज्याः (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरू), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्याः (माटाका भाँडाकुँडा) र नः ज्याः (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान) लाई प्राथमिकता दिइ तालिम केन्द्र सञ्चालन पनि गर्ने योजना छ । भविष्यमा नेपाल भरका अन्य हस्तकलाका विधा पनि समावेश गर्ने लक्ष्य छ । वनस्पति उद्यान केन्द्र परियोजनालाई प्राकृतिक रूपमा समेत उपयोगी बनाउन ग्राममा वनस्पति उद्यान केन्द्र पनि बनाइनेछ । केन्द्रमा लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्द्धनको उद्देश्य लिइएको छ । दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ । वातावरणसम्बन्धी अगुवाद्वारा कार्यशाला तथा सेमिनार सञ्चालन गरिनेछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि जीवन्त प्रयोगशाला (लाइभ ल्याबोरेटोरी) केन्द्रका रूपमा उद्यानको विकास गरिनेछ । प्रकृति आगन्तुकलाई ‘जंगल पथ’बाट जंगल परिक्रमा गराउने व्यवस्था गरिनेछ । परिक्रमाका क्रममा वन्यजन्तु, पशुपंछी तथा वनस्पतीको विविधता अवलोकन गर्ने अवसर मिल्ने छ । यस क्षेत्रमा पदयात्रा, साइक्लिङ, क्याम्पिङ र क्याम्पफायरका लागि स्थान पहिचान र विकास गरिनेछ ।

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ विजेता घोषणा, उत्कृष्ट हुने गुरुङले पाइन् ५० हजार पुरस्कार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस’ र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघसंस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले उक्त प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहबीच सम्मान स्वरूप चेक हस्तान्तरण गरेका हुन् । उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीका लागि श्रीमान र बच्चाहरू, बहिनीका लागि दाजु र छोराका लागि बुबाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियोमार्फत दर्शाएको बैंकले जनाएको छ ।

कोसी कहरको १६ वर्ष : कोही पीडित करोडपति, कोही राहतको पर्खाइमा

सुनसरी । सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भएको छ । बाढीले भएको करोडौंको धनजन क्षति अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरूपमा तथा लौकही गाविस आंशिकरूपमा डुबान भएका थिए । साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धको स्पर नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो । कोसीको भंगालो गाउँमा पस्दा ७ हजार ५६३ घरधुरीका ४२ हजार ७६५ स्थानीय विस्थापित भएका थिए । पीडितलाई राहत, क्षतिपूर्ति तथा पुनः स्थापनाका माग राखेर पीडितले विसं २०६५ भदौ २७ गते आन्दोलनको घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गर्दै कोसी पीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाए । सोही प्रतिबद्धताअनुसार ०६५ फागुन २२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन भयो । सो कार्यदलले यथार्थ प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १६ वर्ष बितिसकेको छ । तर, अझै उक्त प्रतिवेदन पूर्ण रुपमा कार्यान्वन नगरिएको पीडित बताउँछन् । कार्यदलको प्रतिवेदनमा पीडितको वर्गीकरण गरिएको थियो । रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधारका लागि ट्र्याक्टर खरिद गर्न चाहनेलाई शून्य प्रतिशतमा कर्जा उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, पीडित परिवारलाई नेपालभर निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउनेलगायत उल्लेख थियो । कार्यदलले वैदेशिक तथा स्वदेशी रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्क राहदानी दिनेलगायत थुप्रै सुझाव प्रतिवदेनमार्फत सरकारलाई दिएको थियो । तर, ती प्रतिवेदनमा उल्लेख गरिएका सुझावमध्ये आंशिक मात्रै कार्यान्वयन भए । नियमित उब्जाउ हुने खेतमा बालुवा भरिएपछि अझै अधिकांश कृषकले पूर्ण रुपमा खेतीपाती गर्न नपाएको कोसीपीडित संघर्ष समितिका पूर्वअध्यक्ष पञ्चनरायाण मण्डल बताउँछन् । घटनाको एक वर्षपछि पुनःस्थापित भए पनि पूर्ववत् अवस्थामा बालीनाली लगाउन नसक्दा जीविका चलाउनै कठिन भएको स्थानीय विन्देश्वर मेहताले बताए । १६ वर्ष बित्दा पनि विस्थापित र पुनःस्थापित हुँदाको अवस्थामा उल्लेख्यरूपमा सुधार हुन सकेको छैन । सरकारले कोसीपीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरेको छ । तर, खर्चको प्रभावकारी अनुगमन नगरिएको पीडितको गुनासो छ । पीडितले अझै राहतको महसुस गर्न नसकेको स्थानीय अमरेन्द्र झाले बताउँछन् । कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास, राहतलगायतको शीर्षकमा सरकारले सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केही कोसी पीडित करोडपति बनेका छन् भने कोही अझै राहतकै पर्खाइमा छन् । कतिपयले विराटनगर, इटहरी, इनरुवा र सहरी क्षेत्रमा घरजग्गा जोडेका छन् । कतिपय एकछाक टार्नै समस्यामा छन् । केहीले पढाउन नसकेर १४ देखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौं तथा भारतीय सहरमा कमाउन रोजगारीका लागि पठाएको स्थानीय अशोक मेहताले बताए । विस्थापितमध्ये एक हजार ४२२ परिवार सुकुम्वासी थिए । उक्त सुकुम्वासीमध्येका २३५ सुकुम्वासी परिवारले मात्रै प्रतिपरिवार दुई कट्ठा जग्गा र घर पाएका छन् । उक्त बाढीले ४१ जनाको ज्यान गएको थियो ।

पर्सामा ४८९ केजी लागुऔषध चरेससहित एकजना पक्राउ

वीरगञ्ज । पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो । जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते ४ सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको १ सय ९२ किलोग्राम चरेस, २ सय ६७ किलोग्राम लागुऔषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुंगेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताए । ‘हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्न सफल भएका हौँ,’ उनले भने । प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो । गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेट्टाएको थियो । प्रहरीका अनुसार आव २०८०/८१ म लागुऔषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए । त्यस्तै, आव २०७९/८० मा ३०२ र आव २०७८/७९ मा भने २ सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए । प्रहरीले आव २०८०/८१ मा चार सय १० किलोग्राम गाँजा बराबद गरेको थियो । त्यस्तै, आव २०७९/८० मा भने १ हजार १ सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि १ हजार ३ सय ५० किलोग्राम लागुऔषध बरामद गरेको थियो ।