निजी क्षेत्रलाई २ दर्जन निकायले नियमन गर्छन्, चाहिँदैन अख्तियार
काठमाडौं । सरकारले आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा निरुत्साहित गर्न खोजेको भन्दै उद्योगीले गुनासाे गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उद्योगीहरूले निजी क्षेत्रलाई निरुत्साहित गर्न खोजिएकोले लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका हुन् । निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्ने, बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने लगायतका प्रस्तावले निजी क्षेत्रलाई हतोत्साहित बनाउने उनीहरूले बताएका हुन् । जसकारण लगानी खुम्चिने उनीहरूले चेतावनी दिएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराए लगानी निरुत्साहित हुने बताए । ‘नियमनकारी निकायले अनावश्यक दुःख दिइरहेकाे छ । यस्ताेबेलामा प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराएर लगानीको लागि काे उत्साहित हुन्छ ?,’ उनी भन्छन्, ‘कानुनमै लगानी खुम्च्याउने खालको व्यवस्था भयो भने निजी क्षेत्र कसरी फस्टाउँछ ?’ । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा गरिएको एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव संशोधनको आवश्यकता रहेको बताए । निजी क्षेत्र उत्साहित हुँदा राजस्व बढ्ने कुरा पछिल्लो एक महिनामा सेयर बजारबाट देखिएको उनकाे भनाई छ । ‘सेयर बजारबाट एक महिनामै साढे ४ अर्ब रुपैयाँ उठ्यो। यसले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति चाहिन्छ भन्ने स्पष्ट पार्छ,’ उनले भने । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र २ वर्षदेखि शिथिल अवस्थामा रहेकाले नीतिगत स्थिरतामा जोड दिन आवश्यक रहेकाे बताए । ‘निजी क्षेत्रलाई नियमन गर्ने २ दर्जन निकाय छन् । यस्तो बेला अख्तियारले पनि हेर्ने गरी कानुन बनाउने कुरा भइरहेको छ । यसो भयो भने निजी क्षेत्र कसरी सबल र बलियो होला ?’ उनले भने । निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने र ऐन नियम हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ताले आज भएको व्यवस्थालाई हेरेर लगानी गर्छ । नीति चाँडो फेर्दा लगानी जोखिममा पर्छ । जहाँ अन्योल हुन्छ त्यहाँ लगानीको निर्णय गर्न गाह्रो हुन्छ । त्यसैले लगानीकर्तालाई प्रोत्साहित गर्न नीतिगत स्थिरता चाहिन्छ ।’ नीतिगत स्थिरतामा जोड दिन सके स्वदेशी लगानी मात्र नभइ विदेशी लगानीकर्ता पनि आकर्षित हुने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंकमा स्वामित्व भएका उद्योगी व्यवसायीले ऋण लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक वृद्धि नहुने बताए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव रहेको उनकाे भनाई छ । ‘बैंकमा स्वामित्व भएकै कारण उत्पादन र रोजगारी सिर्जना गर्ने अवसर कसरी प्राप्त हुन्छ ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘रोजगारी र राजस्व बढाउनुपर्ने बेला यस्तो कानुन किन बनाउँदै छौं ?’ सरकारले गत चैत ५ गते संसद्मा दर्ता गराएको यो विधेयक अहिले प्रतिनिधि सभाको अर्थ समितिमा दफाबार छलफलका क्रममा छ । ऋण दुरुपयोग भए राष्ट्र बैंकले नियमन बढाउनुपर्ने भन्दै लगानीलाई नियन्त्रित र संकुचित गर्ने गरी कानुन नबनाउन आग्रह उनले गरे । निजी क्षेत्रमा अख्तियारको चासोले पनि नकारात्मक सन्देश गइरहेको उनी बताउँछन् । सरकार परिवर्तनका साथै मौद्रिक नीतिमा गरिएको लचिलो व्यवस्थाले सेयर बजारमा उत्साह देखिएको भन्दै मुलुकमा आर्थिक वृद्धिका लागि कम्तिमा १० वर्षका लागि स्थिर नीति आश्यक रहेको उनले बताए ।
चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन दिँदैनौं : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार सिंहदरवारमा बसेको बैठकमा दशैँ, तिहार लगायतका चाडबाडमा हुने कालोबजारीलगायतको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले चाडबाडका बेला अभाव नहुने गरी चामल, चिनी लगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकि नराख्ने बताए । बजारमा हुने खाद्य बस्तुहरुको अभाव, मूल्य समायोजन लगायतका विषयमा सरकार सचेत रहेको मन्त्री भण्डारीको भनाई थियो । उनले दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थामा विचौलिया र तस्करी हुन्छ कि भनेर आशंका गर्न पनि सांसदहरुलाई पटक पटक आग्रह गरे । आपूर्ति कर्ताहरुसँग छलफल गरेर दैनिक उपभोग्य वस्तुहरुको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्ने उल्लेख गर्दे मन्त्री भण्डारीले त्यसमा शंका गरिरहन नपर्ने जानकारी दिए । ‘कानूनले त्यति भनेको छ । अनि कसरी त्यो भन्दा बढि जरिवाना हुन्छ ? त्यो भन्दा बढि जरिवाना त हामीले तोक्न सक्दैनौं’, उनले भने । मन्त्री भण्डारीले कालोबजारी हुन नदिने गरी बजार अनुगमनको कामलाई पनि सरकारले प्रभावकारी बनाउने बताए ।
आरती पावरले आइपीओ निष्कासन गर्ने
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । बिहिबार आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । विसं २०७२ सालको रुपमा दर्ता भई विसंं २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
सीएफमोटोको एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपाली बजारमा
काठमाडौं । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी नेपाली बजारमा उपलब्ध हुने भएको छ । ऋषि ट्रेड सेन्टरले आगामी नाडा अटो शोमा सार्वजनिक गर्ने बताएको हो । सीएफमोटो ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँपन दिने कम्पनीको भनाइ छ । अत्याधुनिक पावर र पर्फर्मेन्स ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । स्लिम र आक्रामक डिजाइन ४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ। अत्याधुनिक प्रविधि र सुविधा सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् । सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । आरामदायी र भर्सटाइल टुरिङ एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ। १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका महत्वपूर्ण ९ निर्णय
काठमाडौं । मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण ९ वटा निर्णय गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने, राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा डा. खगराव शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्ता छन् महत्वपूर्ण ९ निर्णय:
नेसनल लाइफको १४ प्रतिशत लाभांश पारित
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न ३६औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० लाभांश पारित भएको छ। काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर रहेको छ । सभाले नगद लाभांश र बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा (०५ ९१) ग बमोजिम आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ । आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २४ गते १ दिन बुक क्लोज गरेको थियो । यसको मतलब साउन २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो इस्योरेन्सको लाभांश पाउने कम्पनीले बताएको छ ।
ज्योति विकास बैंकका ग्राहकलाई ‘ट्याङ्कुलिटी स्पा’मा ३० प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ‘ट्याङ्कुलिटी स्पा’का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ‘ट्याङ्कुलिटी वेलनेश कार्ड’ धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने बैंकले बताएको छ ।
महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएपछि बैंक यही साउन ३२ गतेदेखि प्रमाणित बनेको हो । बैंकले डेभलपमेन्ट बैंकिङ गतिविधि सम्बन्धी मापदण्ड अन्तर्गत यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी विकास बैंक नेपालकै अग्रणी विकास बैंक बनेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गर्नुका साथै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न सक्ने बैंकले बताएको छ । यस प्रमाणपत्रका लागि अमेरिकास्थित रोयल इम्प्याक्ट सर्टिफिकेसनले यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट गरेको थियो ।