एइ फो जीहोको इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा
काठमाडौं । जीहोले एइ फो इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको कम्पनीले बताएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने कम्पनीले जनाएको छ । दक्षताको लागि डिजाइन एइ फोको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमी/घण्टा को गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ । सुरक्षा र नविनतम प्रविधिको मेल सुरक्षालाई प्राथमिकता दिँदै, एइ फोमा रहेको एबीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै कोलिजन वारनिंग सिस्टम र स्लाेप होल्ड इटिसिएसले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनयफसी की लेस इन्ट्री प्रणाली, र डिजिटलकी, पासवर्ड, र मेकानिकल की जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ । न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी एइ फोको सेभेनफोभीटुसेभेनएयचएटीयल ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइपसी र यूएसबी चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ । स्टाइलिश र स्मार्ट डिजाइन नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एइ फोले सडकमा विशेष प्रभाव पार्छ । भी– शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जीओ राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, रिभर्स चार्जिंग, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।
अर्थमन्त्री भन्छन् : अब व्यवसायीले समस्या भोग्नु पर्दैन
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अब उद्योगी व्यवसायीले समस्या भोग्नु नपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलियो रहेको र उद्योगी व्यवसायीका समस्या समाधानका लागि तत्परता देखाउने भएकोले अब व्यवसायीले समस्या भाग्नु नपर्ने धारणा राखेका हुन् । उनले अहिलेको संसदले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखेका हुन् । यस्तै, उनले वर्तमान सरकारले निजी क्षेत्रको भूमिका बुझेको पनि बताएका छन् । उनले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । उनका अनुसार अहिलेको अर्थतन्त्र सुधार गर्नको लागि आन्तरिक खपत बढाउनु पर्नेछ । विस्तारै अर्थतन्त्रको केही सूचक सुधार हुँदै गएको भएपनि समस्याबाट अझैं बाहिर आउन नसकेको उनको भनाइ छ ।
मर्स्याङ्दीमा बस खस्दा १४ जनाको निधन, १६ घाइतेको उद्धार
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको निधन भएको छ । शुक्रबार बिहान साढे ११ बजे भएको दुर्घटनामा १४ जनाको निधन भएको छ भन घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको जानकारी प्राप्त भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बसमा चालक र सहचालकसहित ४३ जना यात्रु थिए । अहिले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण
काठमाडौं । उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा चिन्ता व्यक्त गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गरी त्यस्ता गतिविधि सञ्चालन गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो । समाजले विज्ञप्ति प्रकाशित गरी कसैको वैयक्तिक गोप्यता भङ्ग हुने, मानमर्दन हुने वा प्रतिष्ठामा धक्का पुग्ने गलत प्रचारबाजी रोक्न प्रबुद्ध वर्ग, नागरिक समाज र नियमनकारी निकायको निगरानी र सहकार्यका लागि अपिल पनि गरेको छ ।
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए । ‘पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,’ उनले भने,’छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’ ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेको छ । ‘छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने ‘घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।’ १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताए । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् । वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताए । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन् । ‘दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने, ‘मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।’ २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए । रासस
‘बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न निरुत्साहित गरिँदैछ, निजी क्षेत्रमा अख्तियार छिर्नु हुँदैन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई लगानीमा निरुत्साहित बनाउने किसिमकले सरकार अगाडि बढिरहेको धारणा राखेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्नका लागि सरकारले निरुत्साहित बनाउने प्रयास गरिरहेको बताएका हुन् । उनले बैंकमा स्वामित्व भएकै कारण अन्यमा लगानी गर्न नपाउने हो भने उत्पादन र रोजगारी सिर्जनामा ठूलो समस्या सिर्जना हुने पनि बताएका छन् । बैंक तथा वित्तीय संस्था ऐन संशोधन गरेर सरकारले यस्तो प्रयास गर्न खोजिरहेको उनको दाबी छ । ‘सरकार बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) संशोधन गर्न खोजिरहेको छ, त्यसमा बैंकमा स्वामित्व भएका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न निरुत्साहित गर्न खोजिरहेको छ, बैंकिङ क्षेत्र आएको चार दशक बढी भइसकेको छ, यो क्षेत्रमा अर्थतन्त्रमा ठूलो योगदान छ, उद्योगी व्यवसायीको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन,’ उनले कार्यक्रममा भने । उनका अनुसार अहिले नेपाल राष्ट्र बैंकको नियमन आफैंमा कडा छ । ‘कर्जा दुरुपयोग भएको छ भने गलत गर्नेलाई कारवाही गरौं । तर, निषेध र नियन्त्रण गर्न नखोजौं, १ प्रतिशतभन्दा बढी सेयर भएको व्यक्ति तथा समूह भन्ने व्यवस्थाले निजी क्षेत्रलाई संकुचन गर्नसक्छ,’ उनले भने । यस्तै, उनले अख्तियार अनुसन्धान आयोगले निजी क्षेत्रलाई हेर्न विषयप्रति पनि आपत्ति जनाए । उनले निजी क्षेत्रमा अख्तियार प्रवेश गरेमा निजी क्षेत्रले गरेको आर्थिक गतिविधि ब्रेक लाग्ने बताए । ‘यो विषयलाई सबैलाई सबैले मनन् गर्न आवश्यक छ, अब सरकारले ऐन संशोधनमार्फत् निजी क्षेत्रको भूमिका कम गर्न खोजेको होकि भन्ने भइरहेको छ, ८० प्रतिशत बढी योगदान भएको क्षेत्रको संकुचन गर्ने काम नगरियोस्,’ उनले भने । के छ बाफियामा ? सरकारले बैंकर र उद्योगी छुट्याउने तयारी थालेको छ । लामो समयदेखि यस विषयमा बहस हुँदै आएको भए पनि यस पटक भने काम अगाडि बढेको छ । अहिले बाफिया संशोधनका लागि संसदमा पेस भएको छ । त्यसपछि पनि उद्योगी व्यवसायी सो प्रस्तावको विरोध गरिरहेका छन् । यसले लगानीको वातावरण बिगार्न सक्ने उनीहरुको धारणा छ । प्रस्तावित संशोधनअनुसार ऐनको दफा २ को खण्ड ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्ने उल्लेख छ । ऐनको दफा ५२ मा संशोधन गरी कुनै बैंकमा उल्लेख्य स्वामित्व (पुँजीको १ प्रतिशत वा बढी) भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने व्यवस्था पनि गरिएको छ । यही व्यवस्थाको नै उद्योगी व्यवसायीहरु विरोध गरिरहेका छन् । यो व्यवस्था संसदबाट पारित भएमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर लगानी गरेको व्यक्तिले नेपालको वित्तीय प्रणालीबाट ऋण लिन पाउने छैन । हालको व्यवस्था अनुसार कुनै पनि बैंकमा २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ भने उनले सोही बैंकबाट कर्जा लिन पाउँदैन । तर, अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइन्छ । बैंकले सो व्यवस्थाबाट बच्नका लागि आफू आवद्ध नभएको बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेका थिए । तर, यस पटक भने बाफियामा १ प्रतिशत बढी सेयर भएको व्यक्तिले कुनै पनि बैंकबाट ऋण लिन पाउने छैन । चुक्तापुँजीको १ प्रतिशतभन्दा बढी ऋण लिएको छ भने बैंकको सञ्चालक बन्न अयोग्य ठहर्न सकिने व्यवस्था पनि प्रस्तावित ऐनमा छ ।
यो सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन् । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बताए । पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए । सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनु भयो । अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको जानकारी दिए । राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताए । वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको बताए । ‘मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ’, उनले भने । गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको जानकारी दिए ।
पहाडी सडकमा सवारी चलाउँदै १९ वर्षकी किशोरी
इलाम । छेकी शेर्पा १९ वर्षकी छिन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन् । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन् । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन् । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् । उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थे । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछन् । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थाल्नछिन् । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताइन् । ‘मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु’, उनले भनिन् । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् । उनले बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउने गर्दै आएकी छिन् । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक एक लाख रुपैयाँ हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् । कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन् । ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ’, उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छन् छेकीले । जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उनको गाडी रोज्ने गरेको बताउँछन् । ‘केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ’, स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।’ रासस