विकासन्युज

एक महिनामा साढे ३ अर्बको स्मार्टफोन आयात

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ । गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ । चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, साउनमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, ५ हजार बढीलाई संक्रमण

काठमाडौं । बर्खायाम लागेसँगै डेंगी र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको बताए । ७५ जिल्लामा ५  हजार १ सय १९ जनामा डेंगी रोगको संक्रमणा देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । काठमाडौं जिल्लामा ४ सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगी संक्रमण देखिएको छ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए । उनका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री खड्से काठमाडौंमा

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएका हुन् । यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना भएको थियो । त्यहाँ सवारमध्ये २७ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । ‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’ विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।’ मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् ।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल जाने

पोर्चुगल । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल जाने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल जान लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी हाल देखा परेको समस्यालाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयसँगको समन्वयमा टोली पठाउने तयारी गरिएको राजदूत भट्टराईले बताए । टोलीले कन्सुलर विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट०, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलर सेवा प्रदान गर्ने उनले बताए । राजदूत भट्टराईका अनुसार घुम्ती सेवाका लागि दूतावासका दुई जना कर्मचारी पोर्चुगल आउने तय भएको छ भने टोलीले करिब एक सातासम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने बताइएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको लिस्बनस्थित कार्यालयबाट प्रवाह गरिने घुम्ती सेवा सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको समन्वय र सहजीकरणमा घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो । टोली आउने भएपछि यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरु बढी लाभान्वित हुने भएका छन् । दुई साताअघि मात्रै राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

मौरी जोनले चितवनका कृषक उत्साहित

नारायणगढ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ । खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा छन् । उनले ५० वटा घारबाट मौरीपालन सुरु गरेकी थिइन् । ‘व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ,’ उनले भनिन्, ‘घार अझै थप गर्ने योजनामा छु ।’ उनले मौरी जोन कार्यक्रमले आफूमा उत्साह थपेको बताइन् । भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका छन् । उनी मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेको बताउँछन् । उनले भने, ‘पहिला एक सय घार मौरी थिए, अहिले यो बढाएर एक सय ३५ घार पुर्‍याएको छु ।’ मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरूमा उत्साह थपिएको देवकोटाले बताए । स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उनको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताए । जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताए । ढुंगानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा ६ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उनले बताए । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुंगानाले जानकारी दिए । उनका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ । उनले भने, ‘जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उहाँहरूमा उत्साह बढेको छ ।’ यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौं र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुंगानाले जानकारी दिए ।

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्ला । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप नौ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ । जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ । ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन यहाँका आठ वटा स्थानीय तहमा दुई लाख ५३ हजार एक सय हेक्टरको कूल क्षेत्रफलमध्ये ३८ हजार चार सय ८६ हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल रहेको छ । उक्त हेक्टरमध्ये हाल २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा खेती गरिएको शाहीले जानकारी दिए । सिञ्चित क्षेत्रफल तीन हजार छ सय ५० हेक्टर जमिन छ । असिञ्चित पाखो २२ हजार सात सय ८५ हेक्टर छ । एक लाख चार हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा वजजङ्गलले ढाकेको उनले बताए । यहाँको चरन क्षेत्रले ढाकेको ६६ हजार दुई सय १० हेक्टर क्षेत्रफल र ताल, खोला चट्टान अन्य क्षेत्रले ढाकेको क्षेत्रफल ४३ हजार ८३४ हेक्टर रहेको छ ।

अण्डाको माग बढेपछि मूल्य पनि बढाइयो

चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैं मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको हो । हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको बताए । सबै फार्महरूले मूल्य बढाएको उनले जानकारी दिए । लामिछानेले भने ,’मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।’ अण्डा उत्पादक कृषकहरू नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरू फेरि व्यवसायमा फर्किएको बताए । साउनमा बिक्री हुन बाँकी अण्डाहरू बिक्री भइसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाइ छ । खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताए । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले जानकारी दिए । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ कायम गरेका थिए ।