विकासन्युज

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य घट्यो, यस्तो विदेशी मुद्राको भाउ

काठमाडौं । अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.८३ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.५० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.१४ रुपैयाँ र बिक्रीदर ९०.५५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५७ रुपैयाँ र बिक्रीदर ९९.०१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।

अपी पावरको लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास

काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृति तथा आगामी २१औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई ७.५० प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल ९ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

संसारकै ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकले किन किन्यो मुम्बईमा महँगो अफिस ‘स्पेस’ ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरक इंकले मुम्बईको पोश वर्ली क्षेत्रमा रहेको प्रिमियम कमर्सियल टावरमा ४२ हजार ७ सय वर्ग फिटभन्दा बढी अफिस स्पेस खरिद गरेको छ । कम्पनीले यो ठाउँ ५ वर्षको लामो समयका लागि भाडामा लिएको हो । यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्यारी फिंकलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । यसको कारण ब्ल्याकरक इंकले संसारमा १ हजार खर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्दछ । यो रकम भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब साढे दुई गुणा र अमेरिकाको आधा जीडीपी हो । यस कम्पनीले विश्वको कुल सेयर र बन्डको १० प्रतिशत ह्यान्डल गरेको तथ्यबाट नै ब्ल्याकरकको स्थिति अनुमान गर्न सकिन्छ । ब्ल्याकरकको भारतीय युनिट ब्ल्याकरक सर्भिसेस इन्डियाले मुम्बईमा ठाउँ भाडामा लिएको छ । सम्झौताअनुसार कम्पनीले पहिलो वर्ष प्रतिमहिना ३ सय २५ प्रतिवर्गफिटका दरले भाडा तिर्नुपर्ने छ । उक्त सम्झौतामा सन् २०२५ अप्रिलमा ५ प्रतिशत त्यसको एक वर्षपछि १० प्रतिशत र २०२७ र २०२८ मा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख छ । अमेरिकाको न्युयोर्कस्थित कम्पनीले कमर्सियल टावर अल्टिमसको चौथो तल्लाको जग्गा परियोजनाको विकासकर्ता रहेजा कर्पोरेसनबाट सिधै भाडामा लिएको हो । रियल इस्टेट डाटा एनालिटिक्स फर्म प्रोपस्ट्याकबाट प्राप्त कागजातहरूका अनुसार भाडा यस महिना सुरु हुनेछ र ३६ महिनाको लकइन अवधि छ । साउनमा लीज सम्झौता दर्ता गर्दा कम्पनीले १० महिनाको भाडा बराबर १२ करोड ८० लाख रुपैयाँ धरौटी बुझाएको छ । ब्ल्याकरकले भारतको द्रुत रूपमा बढ्दो वित्तीय बजारहरूमा आफ्नो उपस्थिति स्थापित गर्न चाहेको बताइएको छ । कम्पनी सन् २००८ मा भारत प्रवेश गरेको थियो । कम्पनीले ब्ल्याकरक म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवासहित विभिन्न लगानी समस्याको समाधान प्रदान गर्दछ । कम्पनीले संस्थागत र खुद्रा ग्राहक दुवै सेवा गर्दछ । यसको मुम्बई, गुडगाउँ र बेंगलुरुमा कार्यालयहरू छन् । गत वर्ष जुलाईमा जियो फाइनान्सियल सर्भिसेस र ब्ल्याकरकले संयुक्त उद्यम घोषणा गरेका थिए । कम्पनीको योजना डिजिटल फर्स्ट एसेट म्यानेजर लञ्च गर्ने छ । एजेन्सी

अनिल अम्बानीमाथि सेयर बजारमा ५ वर्षको प्रतिबन्ध, २५ करोड जरिबाना

काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ । सेबीको यो कारबाहीले अनिल अम्बानी र उनका कम्पनीका लागि संकट बढाउने देखिन्छ । योसँगै अनिल धिरुभाई अम्बानी समूह (एडीएजी) को चम्किलो तारा रहेको रिलायन्स क्यापिटल फेरि एकपटक चर्चामा आएको छ । सेबीका अनुसार अनिल अम्बानीले रिलायन्स होम फाइनान्सको प्रबन्धक पदमा खटिएका व्यक्तिहरूको सहयोग लिएर ठगी गरेका थिए । यी व्यक्तिहरूले मिलेर रिलायन्स होम फाइनान्सको पैसा अन्य कम्पनीमा पठाएका थिए । रिलायन्स होम फाइनान्सलाई पनि ६ महिनाका लागि धितोपत्र बजारमा प्रतिबन्ध लगाइएको छ । साथै, कम्पनीलाई ६ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ । सेबीले अमित बापना, रवीन्द्र सुधाल्कर र पिंकेश आर शाहलगायतका धेरै कम्पनीहरूमाथि कारबाही पनि गरेको छ । यो कारबाहीबीच रिलायन्स क्यापिटलको चर्चा सुरु भएको छ । सन् २०२२ मा अनिल अम्बानीले रिलायन्स इंडस्ट्रीजको विभाजनपछि वित्तीय सेवा, पावर र टेलिकम व्यवसाय पाए । २००७ सम्ममा रिलायन्स क्यापिटलले ७० खर्ब रुपैयाँको मार्केट क्याप हासिल गरेर एचडीएफसीभन्दा ठूलो भएको थियो । यो देशका शीर्ष ३ वित्तीय कम्पनीहरूमा परेको थियो। २००८ मा विश्वव्यापी आर्थिक मन्दी हुँदाहुँदै कम्पनीले तीव्र गतिमा वृद्धि जारी राखेको थियो । यसपछि अनिल अम्बानी इन्फ्रा, डिफेन्स र मिडिया क्षेत्रमा पनि प्रवेश गरे । त्यसपछि उनी आर्थिक समस्यामा पर्न थाले । रिलायन्स कम्युनिकेसन्सले सीडीएमएबाट जीएसएम प्रविधिमा स्विच गर्न ठूलो समस्याको सामना गर्यो । २०१८ मा रेटिङ एजेन्सीहरूले रिलायन्स क्यापिटलको समस्याहरूका बारेमा चेतावनी दिए । त्यसपछि आईएलएन्डएफएस र डीएचएफएलको डुब्ने स्थिति थप गम्भीर बन्यो । त्यसको ठिक एक वर्षपछि २०१९ मा अनिल अम्बानीले बेलायती अदालतको अगाडि आफूलाई बिजनेसमा टाट पल्टिएको घोषित गर्ने प्रक्रिया सुरु गरे । २०२१ मा रिलायन्स क्यापिटलको सहायक कम्पनी रिलायन्स होम फाइनान्स र रिलायन्स कमर्सियल फाइनान्सको पतन भयो । नोभेम्बर २०२१ मा भारतीय रिजर्भ बैंक (आरबीआई) ले जिम्मेवारी लियो र रिलायन्स क्यापिटलको बोर्ड विघटन गर्‍यो । र, टाट पल्टिएको घाेषणा गर्ने प्रक्रिया सुरु गर्यो । यससँगै वित्तीय क्षेत्रको चम्किलो तारा बनेको यो कम्पनी डुबेको छ । एजेन्सी

सरकारसँग आस गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने संकल्पका साथ आएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने उल्लेख गर्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने प्रधानमन्त्री ओलीको विश्वास थियो । युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराए । राजनीतिक संघर्ष यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने विश्वास व्यक्त गरे । समाजमा बलात्कारजस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफै आचरणयुक्त हुनुपर्ने र कुनै त्यस्ता घटना भएमा कानुनको कडाइपूर्वक पालना गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला प्रधानमन्त्री बनाउन चाहेको छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरूको लागि थुप्रै काम गरेको छ ।’ महिला प्रधानमन्त्री बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउँदै देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए । ‘अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग । किन भने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यकता थिएन,’ उनले भने ।

प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायत थिए । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति संघ चितवनको २४औं वार्षिक साधारणसभामा संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रूपमा विकास गर्न उपयुक्त हुने बताए । ‘यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र संघीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रूपमा विकास भइरहेको छ,’ उनले भने । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा. आषेश ढुंगानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उल्लेख गरे । कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले संघको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा संघका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।