कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टलमा छुट
काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट दिइने भएको छ । बैंक र क्लिनिकबीच भएको सम्झौता अनुसार क्लिनिकबाट प्रदान हुने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् । साथै उक्त क्लिनिकमा कुमारी बैंकका ग्राहकहरुलाई चिकित्सकीय परामर्श वा सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुने पनि सम्झौतामा उल्लेख छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले अपेक्षा गरेको छ ।
निगुरो व्यापार : लगानी बिना नै लोभलाग्दो आम्दानी
बरहथवा । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् । झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् । लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् । जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन् । निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताइन् । ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ’, उनले भनिन्, ‘दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु ।’ फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताइन् । वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छन् । निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ । तर आम्दानीको राम्रो स्रोत बनेको उनी बताउँछिन् । बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताए । ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु’, उनले भने, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन’, आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले सुनाए । बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ । सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन् । ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्’, उनले भनिन्, ‘दैनिक बिहानबेलुका दुई÷चार घण्टा खट्दा राम्रो कमाई हुन्छ ।’ निगुरो टिप्ने काम जागिर भएको उनले बताइन् । गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ । ‘गाउँतिरै पनि खोज्ने मान्छे आउछन्’, उनले भनिन्, ‘व्यापारीलाई पनि अझै पुगेको छैन् ।’ टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ । ‘बसिरहनुभन्दा वनमा निगुरो खोज्यो’, उनले भनिन् । ‘पैसामा पनि हुन्छ ।’ निगुरो बेचेर बचत गरेको पैसाले आपत्विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताइन् । ‘निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन’, उनले भनिन्, ‘त्यस्तो दुःख पनि हुन्न् । केही घण्टा खट्ने हो । दुई चार सय भइहाल्छ ।’ यसले ठूलो भरथेग भएको उनले बताइन् । ‘मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ ।’ यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने संकलन गर्ने र काठमाडौंका बजारसम्म पुर्याउने गरेको व्यवसायी सुनिता महतोले बताइन् । उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउथे । अहिलो जोडी मुठाको २५ रुपैयाँ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले बताइन् । सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गरेका छन् । यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए । ‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु’, उनले भने, ‘एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ ।’ निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा ३० लाख रुपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए । मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उनको उद्यमी महतोको भनाइलाई आधार मानेर उनले त्यति रकम आर्जन हुने अनुमान सुनाइन् । ठूलो परिवारका भएका घरका स्थानीयले महिनामा एक लाख रपैयाँसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताए । रासस
सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौँ ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसअघि २०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ बाट लागूहुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसलाई विस्तार गर्दै दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गरिएको थियो । २०८२ साउन १ पछि भने देशैभरि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो ।
समाजसेवी पाण्डेलाई ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’
काठमाडौं । ‘वर्ल्ड पीस अवार्ड २०२४’ नेपालका कृष्ण पाण्डेले प्राप्त गरेका छन् । स्वीडेनको राजधानी स्टकहोम भएको कार्यक्रममा विश्वभरिका ११ अत्यन्त प्रभावशाली व्यक्तिहरूलाई शान्ति, समाज सेवा र सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय योगदानको मान्यता स्वरूप ’वर्ल्ड पीस एम्बेसडर अवार्ड’ प्रदान गरिएको हो । पाण्डे जो युनाइटेड इकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रालि, भेगानो डेली, र इपिसिसि ग्लोबल लिमिटेडका संस्थापक अध्यक्ष हुन् । समाजका विभिन्न क्षेत्रहरूमा गरेको योगदानको लागि उनी सम्मानित भएका हुन् । पुरस्कार पाएपछि पाण्डेले भने, ‘यो पुरस्कार प्राप्त गर्नु मेरो जीवनको एक महत्वपूर्ण क्षण हो, यो पुरस्कार मेरो व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपालको लागि एक ठूलो गौरवको कुरा हो।’ समारोहमा, अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया लगायतका विभिन्न राष्ट्रहरूका प्रभावशाली व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उनीहरूको सामाजिक क्षेत्रको योगदान र मानवीय प्रयासहरूलाई पुरस्कृत गर्दै एक साझा उद्देश्य र मानवीय मूल्यहरूका लागि प्रोत्साहन गरिएको थियो।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सेयर कर्जामा आक्रामक बन्यो एसबीआई, ऋण घटाउँदै जाने यी ६ बैंकको रणनीति
काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले सेयर धितो कर्जा उल्लेख्य बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरूले २० प्रतिशत सेयर धितो कर्जा बढाएका हुन् । समीक्षा अवधिमा अधिकांश बैंकको सेयर कर्जा बढाएको देखिन्छ । गत वर्ष बैंकहरूले ७० अर्ब ३ करोड ४४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले १९.८८ प्रतिशत अर्थात् ११ अर्ब ६६ करोड रुपैयाँ बढाएका हुन् । अघिल्लो वर्ष बैंकहरूले ५८ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल एसबीआई बैंकले सबैधन्दा धेरै सेयर धितो कर्जा प्रवाह बढाएको छ । एसबीआई बैंकको ७३९.९५ प्रतिशत बढेर २० करोड १५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष बैंकले २ करोड ४० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । एनआईसी एशिया बैंकले २८६ प्रतिशत बढाएर ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले ९० प्रतिशत बढाएर २ अर्ब २ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकले ७१ प्रतिशत बढाएर ६ अर्ब ७८ करोड ८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सिद्धार्थ बैंकले ४२.१३ प्रतिशत बढाएर ५ अर्ब ७८ करोड रुपैयाँ, कृषि विकास बैंकले ३९.९५ प्रतिशत बढाएर १ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन्स बैंकले ३६.४६ प्रतिशत बढाएर ४ अर्ब ८० करोड रुपैयाँ,प्राइम बैंकले ३६ प्रतिशत बढाएर ४ अर्ब ५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । यस्तै सानिमा बैंकले २५.५९ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, नबिल बैंकले २२.७४ प्रतिशत बढाएर ११ अर्ब ४२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १९.८० प्रतिशत बढाएर ७ अर्ब ५१ करोड रुपैयाँ, कुमारी बैंकले १०.३७ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १.७४ प्रतिशत बढाएर ४ अर्ब २६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । तर, गत वर्ष आधा दर्जन बैंकको सेयर धितो कर्जा घटेको देखिन्छ । यी बैंकले सेयर धितो कर्जामा प्रवाह हुने ऋण घटाउने रणनीति अपनाएको देखिन्छ । गत वर्ष लक्ष्मी सनराइज बैंकको ८.९५ प्रतिशत घटेर ३ अर्ब ३८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १५.३५ प्रतिशत घटेर ४६ करोड ७० लाख रुपैयाँ, प्रभु बैंकको २० प्रतिशत घटेर ३ अर्ब १८ करोड रुपैयाँ, हिमालयन बैंकको ३० प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकको ३१.५७ प्रतिशत घटेर ९८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ८५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान
काठमाडौं । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताए । कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरु नठगिने जानकारी दिए । उनले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताए । सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि जानकारी दिए । उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको जानकारी दिए ।उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरु राजनीतिकरणमा लाग्नु नहुने बताए । ‘सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरुको फोन आउँछ’, उनले भने । उनले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताए । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गरे । देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको जानकारी दिए ।
विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताए । भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको जानकारी दिए । उनले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए । ‘उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरु छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरु कार्यान्वयन गराउन बाटो दिन्छ’, उनले भने । उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको जानकारी दिए ।