विकासन्युज

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

वीरगञ्ज । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रुपैयाँ रकम पुँजीगत खर्च गरेका छन् । मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रुपैयाँ रकम विनियोजन गरेको थियो । प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रुपैयाँ रकम खर्च भएको जानकारी दिए । ‘गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ’, उनले भने, ‘बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।’ उनले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढंगले गरेको जानकारी दिए । प्रदेश सरकारले बाराका १६ पालिकाका लागि २० करोड ४२ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेकामा सो अवधिमा १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रुपैयाँ रकम खर्च गरेका छन् । बाराका सरकारी कार्यालयले गत आवमा ११ करोड ११ लाख ७७ हजार चार सय २७ रुपैयाँ रकम संकलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।

कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

सेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको सेयर खरिद बिक्रि गर्न सक्ने थलो हो । त्यस्तो सेयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको सेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ । सेयर बजारले लगानीकर्ताहरुको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सवल, गतिशिल एवं तथ्याकीय हिसावले पनि सही ठाउँमा छ भनेर हेरिन्छ । यदी सेयर बजारको नुर गिरेको छ, कारोबार उत्साहप्रद छैन । इन्डेक्सहरु घटिरहेका छन् भने त्यस देशको अर्थतन्त्र पनि ओरालो लागेको, मन्दीले घेरेको बुझाउँछ । त्यसकारण सेयर बजार र अर्थतन्त्रको सम्बन्ध अधिक छ । अझ सेयर बढ्छ कि बढ्दैन, सेयर बजारको विधमान उत्साह कायम रहन्छ कि रहँदैन ? भनेर आम जिज्ञाशा हुन्छ । त्यसको उत्तर सरकारको हातमा छ । अर्थतन्त्रको विधमान अवस्था र भविष्यको पुर्वाभाषमा भर पर्छ । कुनै सरकारले विकास निर्माणलाई तेजस्वी बनाउन सक्छ भन्ने आम पब्लिकमा आशा भयो भनेपनि सेयर बजारमा उत्साह देखिन्छ । तर सरकारप्रति, उसका नीति प्रति र प्राथमिकता प्रति जनतालाई अथवा लगानीकर्तालाई भरोषा भएन भनेपनि सेयर बजार नकारात्मक दिशा समात्छ । अर्थतन्त्र र सेयर बजार सेयर बजार अर्थतन्त्रको मुख्य पिल्लर भएकैले पनि यसले व्यवसायको समन्नुनती, औधोगिक विकास मात्र होइन पुरै अर्थतन्त्रको स्वास्थ्यमा महत्वपुर्ण प्रभाव पार्दछ । संसारभरकै अर्थतन्त्रमा सेयर बजारले पार्ने प्रभाव करिव उस्तै र उही हो । त्यसकारण सेयर बजारको बारेमा नेताहरुले, त्यसमा पनि जनतामा प्रभाव रहेका नेताहरुले (वर्गिय समाजमा सबै नेताहरुको आफना–आफना प्रभाव हुन्छन्नै ) वेला कुवेला सेयर बजार प्रति नकारात्मक धारणा राख्नु सर्वदा गलत हो । त्यसकारण पनि जनताको अथाह लगानी रहेको सेयर बजार प्रति बोल्दा कुनैपनि देशका गर्भनर, सरकारका आर्थिक सल्लाकार, बजारसँग सम्बन्धीत संस्थाका अधिकारीहरुले संवेदनशीलता माथी आघात पुर्याउँदैनन् । फेरी सेयर बजार यस्तो पेल्टफर्म हो, जहाँ कम्पनीहरुले पुँजी उठाउँछन् र लगानीकर्ताहरुले आफनो सम्पत्ति बढाउँछन् । यी दुबै गतिविधिले सेयर बजारलाई पनि र समग्र अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ । पछिल्लो समय त धेरैजसो ठुला व्यवसायिक संग संगठन, उत्पादनमुक कम्पनीहरु समेत नेपाल स्टक एक्चेन्ज – नेप्से) मा क्रमश सुचिकृत हुन थालेपछि सेयर बजारमा हुने ब्यापारले आम पब्लिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न थालेको छ । हरेक उत्पादन, रोजगारी र हामीले बनाउने योजनाहरुमा पनि त्यसले असर गर्दछ । त्यसकारण शेयर बजार र अर्थतन्त्र एक अर्कामा अन्योन्याश्रित छन् । दुबैलाई अलग्गै राखेर हेर्न नसकिने अवस्था छ । त्यसकारण शासकहरुले शेयर बजारलाई ‘इग्नोर’ गरेर अघाडी बढ्न सक्दैनन् । त्यसकारण पनि सेयर बजारको ट्रेन्ड बुझन समग्र अर्थतन्त्रको हालत केलाउन जरुरी छ । बाठा र व्यवसायिक लगानीकर्ताहरुले शेयर बजार मुल्यहरु र प्रक्षेपण बुझन आर्थिक डाटाहरु स्क्यान गर्छन् । तर हामीकहाँ शेयर बजारको विश्लेषण केही प्राविधिक शब्दावलीहरु रचेर, कम्पनीहरुका आशिंक नाफा घाटा केलाएर, गोयबल्स हल्लाहरु चलाएर, लगानीकर्ताहरुलाई अल्मल्याएर गरिन्छ । तर, कुरा यत्ति हो कि, शेयर बजारको दिगो बढोत्तरीको लागि सरकारले ल्याउने केही आशाप्रद नीतिले मात्र होइन् अर्थतन्त्र नै सवल र निरन्तर अगााडी बढेको हुनुपर्छ । त्यसले मात्र सेयर बजारको उत्साह कायम गराइ राख्नेछ । अन्यथा त्यो दिगो हुन सक्दैन । जसरी सेयर बजारमा लगानी गर्नेहरुले देशको आर्थिक अवस्थाको मुल्याकन गर्छन् त्यसरी नै देशको अर्थव्यवस्थाको प्रक्षेपण गर्न शेयर बजार सुचकाकंहरुको ट्रर्याक राख्ने गरिन्छ । यद्यपी सेयर बजारमा विभिन्न अरु कारकतत्वहरुको प्रभाव रहन्छ । जसले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा असर गर्दैन । उदाहरणका लागि प्राकृतिक प्रकोप, ब्याजदर देखि करको दरसम्म सबै कुराले शेयरको मुल्यमा असर गर्छ । तर अर्थतन्त्रमा त्यसको तात्विक असर भने हुदैन । अर्को शेयर खरिद वा लाभासंमा प्रत्यक्ष प्रभाव पार्ने कानुनमा कुनै परिवर्तन भएमा त्यसले प्रत्यक्ष रुपमा सेयरको मुल्यमा असर गर्छ । खासगरी सेयर बजारले कुनैपनि घटना वा परिवर्तनमा तिव्र प्रतिकृया दिन्छ । तर कुल ग्राहस्थ उत्पादनमा भने त्यस्ता परिवर्तनले असर गर्दैन । यसरी समग्रमा अर्थतन्त्र र सेयर बजार एक अर्कामा मिलाएर चल्छन् । तर सधै भने होइन् । सेयर बजार र आर्थिक कार्यसम्पादन सधैँ मिल्दैन । अर्थात बलियो सेयर बजारको प्रर्दशनले सधैँ बढ्दो अर्थतन्त्रलाई पनि इगित गर्दैन । तर धेरैजसो अवस्थामा देशको आर्थिक सुदृढीकरण र गतिशिलताले शेयर बजारलाई साथ दिन्छ । नेपालमा सेयर बजार नेपालमा केही वर्षयता आर्थिक क्षेत्रमा आएको शिथिलता, बढ्दो बेरोजगारी, युवा पलायन, उपभोक्ता मागमा आएको कमी लगायत अरु विभिन्न कारणले शेयर बजार निरन्तर गिरेको हो । कोभिड १९ र रुस युक्रेन युद्धको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको हो । तर पछिल्लो एक बर्षयता नेपालको अर्थतन्त्रको बाह्य परिसुचक निरन्तर सुधारिएको देखिन्छ । रेमिट्यान्स गत आर्थिक वर्षमा १४ प्रतिशतले बढेर १४ खर्ब पार गरेको अवस्था छ । विदेशी विनिमय सञ्चिति २० खर्ब अर्थात १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बंैकको भनाइ छ । आयात र निर्यात दुबै घटेपनि शोधानान्तर घाटाको अवस्था सुधारिएर नाफामा पुगेको छ । बैंकहरुमा न्युन तरलताको अवस्था सुधारिएर प्रर्याप्त तरलताको अवस्था छ । मुद्रास्फीति सन्तुलित हुँदै गएको छ । र, केपि ओली नेतृत्वको नयाँ सरकार आएपछि शेयर बजारले पनि लय समात्न थालेको देखिन्छ । अर्थात अब चाँही केही हुन्छ भन्ने जस्तो लगानीकर्ताको मनोबल बढ्न थालेको छ । शेयर बजारमा सुचिकृत कम्पनीहरुको अघिल्लो आर्थिक बर्ष भन्दा गत वर्षको वित्तीय विवरणहरु निकै सुधारिएर आएको अवस्था छ । यत्ति हो, नयाँ सरकारले पुजीँगत खर्च बढाउनु पर्ने, राजस्व आय बढाउनु पर्ने, आर्थिक गतिशिलतालाई बढाउनु पर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सरकारकै स्वायत्त निकाय राष्ट्र बैंकले आर्थिक गतिविधि बढाउन खुकुलो गरी मौद्रिक नीति ल्याइसकेको छ । जसले घरजग्गा तथा अन्य साना तथा मझौला उद्यम व्यवसायका लागि भुमिका खेल्ने आशा गर्न सकिन्छ । फलस्वरुप अर्थतन्त्रमा सुधार आउनेछ् । जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्नेछ । यसरी शेयर बजार र समग्र देशको अर्थतन्त्रबीच गहिरो एवं अन्योन्याश्रित सम्बन्ध छ । फलस्वरुप अर्थतन्त्र उकालो लाग्दा वा लाग्ने अवस्था सिर्जना हुदा निश्चित रुपमा शेयर बजार बढ्छ । आरालो लाग्ने अवस्था देखिए शेयर बजार घट्छ । (रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् )

बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

काठमाडौं । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए । बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए । जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

मुग्लिङमा बस दुर्घटनामा १० यात्रु घाइते

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस ७ बजेतिर सडकको घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचाकालागि भरतपुर तर्फ ल्याइएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण थाहा हुन सकेको छैन । यद्यपि सडकमै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रामेछापको लेकखर्कमा पहिरोमा २ जानको मृत्यु, ८ जना बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । बिहान ३ः३५ बजे लेकखर्क गाउँमा पहिरो खसेको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए । क्षतिको थप विवरण आउन बाँकी छ । टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । कैलालीको धनगढीमा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । देउवाको निवास कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको छ । प्रहरीका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन । डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।

कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य घट्यो, यस्तो विदेशी मुद्राको भाउ

काठमाडौं । अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.८३ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.५० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.१४ रुपैयाँ र बिक्रीदर ९०.५५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५७ रुपैयाँ र बिक्रीदर ९९.०१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।