अर्थमन्त्रीले भने : अवैध व्यापार नगर्नू, व्यवसायीको गुनासो- सरकारको साथ मिलेन
काठमाडौं । नाडा अटो शोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अटो व्यवसायीहरूबीच सांकेतिक रूपमा आरोप प्रत्यारोप भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल समक्ष व्यवसायीले सरकारको साथ नमिलेको बताएका हुन् । नाडा अध्यक्ष करण चौधरीले कार्यक्रमको सुरुमै अतिथिहरूलाई स्वागत गर्दै अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । ‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं तर सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भने । अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने धारणा राखे । उनले अटो क्षेत्रमा नीगित स्थिरता पनि आवश्यक भएको धारणा राखे । हाइब्रिड र विद्युतीय सवारीसाधनहरूको प्रवद्र्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य रहेको उनको भनाइ छ । यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई सरकारले विलासी वस्तुको रूपमा परिभाषा गर्न नहुने धारणा राखे । अटो क्षेत्र महत्वपूर्ण र आवश्यक क्षेत्र हो, रोजगारी र राजस्वको क्षेत्रमा यो क्षेत्रले ठूलो योगदान गरेको छ, त्यसैले पनि यो क्षेत्रलाई विलासिका रूपमा हेर्नु हुँदैन,’ उनले भने, ‘बरु सरकारले प्राथमिकतामा राख्द्यनुपर्छ ।’ यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि सरकारले अटो क्षेत्रलाई हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताए । अर्थतन्त्रमा देखिएको सुस्सताको कारण अटो क्षेत्र पनि त्यसको प्रत्यक्ष प्रभावमा परेको बताउँदै अब सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘मौद्रिक नीतिले केही सहज भएको देखिन्छ, त्यसैले पनि यो अवस्थामा यस्तो किसिमको अटो शो आयोजना गर्ने आँट गरिएको हो, सरकारले थप सहजीकरण गर्न आवश्यक छ,’ उनले भने । यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले अटो क्षेत्रका लागि पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएकोले त्यसलाई करेक्सन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्रीले भने : अवैध बाटो नअँगाल्नूस् कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका अर्थमन्त्री पौडेलले व्यवसायीका कुरा सुन्दै सरकार सबै समस्याहरूमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । उनले अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्वमा ठूलो योगदान गरेको भएपनि केही व्यवसायी अवैध व्यापारमा लागेको दाबी गरे । ‘अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारी सिर्जनामा पु¥याएको योगदानको सरकारले प्रशंसा गर्छ । तर, अवैध गतिविधिमा व्यवसायीले लाग्नु हुँदैन,’ उनले भने । अध्यक्ष चौधरीको मागको सम्बोधन गर्दै उनले सरकारले अटो क्षेत्रमा स्थिर नीति अगाडि सार्ने बताए । उनले वर्तमान सरकार पनि स्थिर रहेकोले अटो क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा स्थिरता कायम गर्न सरकार तयार रहेको धारणा राखे । उनले विद्युतीय सवारी साधनका लागि नीतिग स्थिरता र पूर्वाधार निर्माणमा सरकारले विशेष चासो दिएको पनि बताए । आजदेखि सुरु भएको नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । यो प्रदर्शनीमा अधिकतम् २० अर्ब रुपैयाँसम्म कारोबार हुने नाडाको अपेक्षा छ । नाडा अटो शोमा ७५ हजार मानिसले अवलोकन गर्न सकिने अनुमान छ ।
बागमतीमा लक्ष्यभन्दा ९ अर्ब रुपैयाँ कम उठ्यो राजस्व
काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब तीन करोड ३१ लाख २७ रुपैयाँ कम राजस्व संकलन भएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८१ दशमलव ८५ प्रतिशत अर्थात् २१ अर्ब ८४ करोड २२ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७ दशमलव ५२ प्रतिशत अर्थात् तीन अर्ब ६६ करोड २० लाख २० हजार रुपैयाँ राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए । संघीय सरकारबाट १७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७ दशमलव ०१ प्रतिशत अर्थात् १३ अर्ब ७१ करोड ७० लाख २६ हजार रुपैयाँ अनुदान प्राप्त भएको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार प्राप्त हुने अनुमान गरिएकोमा त्यसको १०५ दशमलव ४५ प्रतिशत अर्थात् ६६ अर्ब १२ करोड ६९ लाख २० हजार प्राप्त भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।
दिनेश आमात्यले पाए आइएमई लाइफको कामु सीईओको जिम्मेवारी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । एमबीएसम्म अध्ययन गरेका आमात्यले सन् १९९२ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा करियर सुरु गरेका हुन् । उनले नेशनल लाइफमा सन् २००७ सम्म विभिन्न विभागमा अधिकृत पदमा कार्यरत रहेर काम गरेका थिए । सुर्या लाइफ इन्स्योरेन्समा सन् २००८ देखि सन् २०१७ सम्म सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका आमात्य सन् २०१७ देखि हालसम्म आइएमई लाइफमा आवद्ध छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएपछि बाहिरिएका थिए । २०७७ मा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका फुयाँलको गत शुक्रबार चार वर्षे कार्यकाल सकिएपछि बाहिरिएका हुन् ।
सुजुकीकाे ‘पर्वोत्सव’ योजना : ४ लाखसम्म नगद छुट, ५ वर्षका लागि शून्य रनिङ खर्च
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘नाडा अटो शो’ लक्षित गरी सो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई ‘स्क्रयाच कार्ड’ मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट दिने प्रावधान पनि ल्याएको छ । ‘नाडा अटो शो’ मा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ ‘एपिक स्विफ्ट’, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य ‘रनिङ’ खर्च हुने गरी अफर पनि ल्याएको छ । यी योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले ‘रनिङ’ खर्चको बोझबिना ढुक्कले ड्राइभिङ अनुभव लिन सकिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत शून्य रनिङ खर्चमा स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन भने सो अवधिका लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि कुनै शुल्क लाग्ने छैन । फ्री अटो बीमा र एक्सेसरिजमा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाइनेछ । थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसमा बिक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी दिएको छ । विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसका माझ सीजीले यो योजना प्रस्ताव गरेको उल्लेख गर्दै ग्राहकहरूले फाइदाजनक र झन्झट–रहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने विश्वास लिएको छ ।
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार
काठमाडौं । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ । आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिम्बित गरिदिएको छ । यस्तै ठूलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ । जलविद्युत आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवर्द्धकले यसमा विशेष ध्यान दिएका छन् । पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर संकलनका लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ । प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पार्दछ भन्ने खास उदाहरण बनेको छ ड्रोन । भीडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ । त्यसमा विशेष सीप र क्षमताको आवश्यकता पर्दछ । प्रविधिको प्रयोग गरेर आम पाठक तथा स्रोतालाई गुणस्तरीय तस्बिर र भिडियो उपलब्ध गराउनका लागि महत्वपूर्ण साधनको रूपमा विकास भएको ड्रोन मर्मत सम्भार गर्ने जनशक्ति भने नेपालमा असाध्यै कम छन् । आममानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाही दुर्घटनामा पनि पर्न सक्छ । अनावश्यक खराबी आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था थियो केही वर्ष पहिले । त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा स्वपहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भक्तपुरका राजकुमार तिमिल्सिना । सिंहदरबारको पूर्वी गेट । आम मानिसले नाम नभएको नगरका रूपमा अनामनगरलाई चिन्छन् । ‘देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ । सामान्य पैसा कमाउनका लागि विदेशिनु पर्दैन’ भन्ने सन्देश दिँदै राजकुमारलाई यतिबेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याइ छ भन्दा अत्युक्ति हुँदैन । स्वदेशी तथा विदेशी उनलाई खोज्दै अनामनगर आइपुग्छन् । आफ्नो कामको प्रचार प्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्यबमा राख्छन् । त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउँछन् । सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्ररेणाको स्रोत बनेको छ रे उनलाई । देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरेका छन् । ‘सामान्य काम भनेर हेला नगरौँ । यस्तो प्राविधिक काममा धैर्यता, मेहिनत र लगनशिलता जरुरी पर्छ । परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ,’ उनले भने, ‘पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन् । काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन ।’ ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरुलाई पनि सिकाएको स्पष्ट पार्दै बताउँदै राजकुमारले भने, ‘सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईलाई खोज्दै आइपुग्छ । कही कतै जानै पर्दैन,’ हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भने, ‘मासिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म सहजै कमाइ गर्न सकिन्छ ।’ अनामनगरमा उनले कार्यस्थलको नाम राखेका छन्– चण्डेश्वरी क्यामरा मर्मत केन्द्र । विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत गर्दै आएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेसा बनाएको बताउँछन् । फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यो अभावलाई सामान्य रुपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उनको भनाइ छ । भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेशनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उनले सुनाए । नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याई गरेकोे अमिलो स्मरण छ उनमा । ‘आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु । यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन । कमाई पनि राम्रो भएको छ,’ उनले भने । महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो । ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुदाँ महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो । उनलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रूपमा आफूलाई पाएको उनी दाबीका साथ भन्छन् । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ । नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको संख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ । तिमिल्सिना भन्छन्, ‘सक्कली समानको ग्योरेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।’ देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उनको भनाइ छ । दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उनको दाबी छ । क्यामरा मर्मतबाट व्यवसाय सुरु गरेका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रूपमा चिनिएका छन् । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ । छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ । पछिल्लो युवा पुस्ता प्राविधिक क्षेत्रमा खासै रुची देखाउँदैनन् । नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ । राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना भएका थिए । तर, उनलाई विषय लाग्यो । उनलाई त्यसमा पढ्नै मन लागेन । विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएको थिए । त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ रे उनलाई । विज्ञान पढन गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उनलाई घरमा बुवाले चित्त दुखाएर भने, ‘यसले गरिखाँदैन, अब तँ विदेश जाँ ।’ पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्छन् तिमिल्सिना । ‘जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुची बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाएँ । खास अध्ययन भने मानविकीतर्फ सारेँ । काम भने यही मर्मतलाई नै बनाएँ । यसैलाई खास पेसाका रूपमा रूपान्तरण गरे,’ विगत सम्झदै तिमिल्सिनाले भने । ‘सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिकेँ र जानेँ पनि,’ त्यसपछि क्यामरा, भिडियो क्यामरामा तर्फ लागेको उनको भनाइ छ । क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ । जहाँबाट काम सुरु गरेका थिए त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उनको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उनको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस । व्यावसायिक फोटो भिडियो ग्राफर, फोटो÷भिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफनो सामान मर्मत गर्ने सेन्टर बनेको छ उनको सटर । अझ पछिल्लो समय ड्रोनको मर्मतको कामले उनलाई फुर्सद नै छैन । मानविकी संकायबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेपछि राजकुमारलाई अन्य पेसामा जान मन लागेन । पढेपछि सरकारी र अन्य स्थानमा जागिर खाने सोच धेरैको भए पनि उनले प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको सगौरव बताए । अहिले नाम दाम दुवै कमाएको भन्दै उत्साहित देखिएका उनले विदेश दौडन खोज्ने युवालाई सुझाव दिन्छन्, ‘किन जाने विदेश यहाँ अवसरै अवसर छ । पैसा नै पैसा छ ।’ यही मर्मतको काम गरेर उनले घर–घडेरी जोडेका छन् । पढेर काम पाइएन भनेर विदेश जाने युवा पुस्तालाई उनको सन्देश छ, ‘विदेशमा गर्ने मेहिनत र जान लाग्ने पैसा नेपालमै प्राविधिक क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा बढी पैसा नेपालमै कमाइन्छ ।’ यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ । तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ । सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उनको सुझाव छ । ‘जथाभाबी अनुमति नै नलिई हतारमा लुकरे ड्रोन उडाउँदै नउडाउनुस् । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ,’ उनले भने । उनले ड्रोनको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने बारेमा आफ्ना केही सुझाव दिएका छन् । बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नु पर्छ । यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख गरिएको हुन्छ । यस्तै, प्रि–फ्लाइट हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्ट लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । कहिल्यै पनि ब्याट्री ओभर चार्ज गर्नुहुन्न । यस्तै चार्ज अफ हुने गरी पनि राख्नुहुन्न । कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ । ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् । डोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुन्न । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट) लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ । यसो हुँदा उडान राम्रो हुन्छ । कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ । निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ । हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ । तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आए पनि स्वीकार नगर्ने उनले बताए । पाँच सय बढी ड्रोन उडानका लागि दर्ता नेपालमा हालसम्म पाँच सय बढी ड्रोन उडानका लागि दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा ल्याइएका मध्ये ती सङ्ख्यामा ड्रोन दर्ता भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । पाँच सय ड्रोन दर्ता भएकामा एक सय वटा त सरकारी कार्यालयले ड्रोन दर्ता गराएका छन् । दर्ता भएपछि प्राधिकरणले एउटा युनिक आइडेन्टिफिकिशेन नम्बर’ उपलब्ध गराउने गरेको छ । देशभित्रै खरिद गरेको भए मूल्य अभिवृद्धि कर (भ्याट) बिल र विदेशबाट ल्याएको भए भन्सारसहितको बिल पेस गर्नुपर्ने व्यवस्था छ । दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको ‘ युनिक आइडेन्टिफिकिशेन नम्बर’ ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ । कुल २५० ग्राम वा सोभन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । दुई सय ५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्छ । सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । २५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्ष बीमा अनिवार्य छ । विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न पाइँदैन । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न पाइँदैन । पर्यावरणीय र जैविक महत्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन । सुरक्षा कारबाही भइरहेको दङ्गाग्रस्त क्षेत्र, सङ्घीय, प्रदेश र स्थानीय सरकारले समय–समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न मिल्दैन । सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा एकाइ रहेको पाँच सय मिटरको आसपासमा उडान गर्न पाइँदैन । काठमाडौं उपत्यकाभित्र माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौं, भक्तपुर र ललितपुर) लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन । सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीको कार्यालय वा निवास वरपरको एक हजार मिटर वरपर उडान गर्न पाइँदैन । उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्विक ऐतिहासिक वा नियन्त्रित घोषणा गरिएका क्षेत्रमा उडान गर्न पाइँदैन । खासगरी, पछिल्ला दिनमा कृषि क्षेत्रमा ड्रोनको प्रयोग हुन थालेको छ । सगरमाथा खुम्बु क्षेत्रमा फोहोर संकलनका लागि चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण गरिसकेको जनाएको छ । सो कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोनको परीक्षण उडान गरेको जानकारी दिएको छ । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षणमा सहजीकरण गर्ने बाटो खुलेको छ । यसबाट पनि ड्रोनको प्रयोगमा बढोत्तरी हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । सुरक्षित उडानका अलावा यसको संवेदनशिलतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो । रासस
कुमारी क्यापिटलले घोषणा गर्याे इक्वीटी फण्ड र धनबृद्धि योजनाको लाभांश
काठमाडौं । कुमारी क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको हो । भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको हो । कम्पनीले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
अटो व्यवसायीसँग अर्थमन्त्रीको प्रश्न : काम गरौं कि भाषण ?
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफू भाषण गर्दै हिड्ने कि काम गर्ने भन्ने प्रश्ने गरे । ‘पछिल्लो समय कार्यक्रममै गएर बितिरहेको छ, तपाईंहरू भन्नुहोस्, म काम गरौं कि भाषण ?’ यस्तै, उनले सरकार स्थिर नीतिमा अगाडि बढिरहेको बताए । अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले उनले अटो क्षेत्रमा मात्रै होइन वर्तमान सरकार सबै क्षेत्रमा स्थिरता खोजिरहेको धारणा राखे । ‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं,’ उनले भने । यस्तै उनले भनेजस्तो नभए पनि सरकारले थुप्रै काम गरेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि काम भइरहेको उनको भनाइ छ । ‘हामी आयोजना सुरु गर्छौं । तर, समयमै सकिँदैन, लागत बढ्छ, अब सबै काम समयमै सक्ने मोडालिटीम जानुपर्छ, राजस्वमा धेरै योगदान दिएको अटो क्षेत्रलाई सरकारले प्राथमिकतामा नै राखेको छ, तपाईंहरु इमानदार भएर काम गर्नुस्,’ उनले भने ।
नाडा अटो शो सुरु, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो
काठमाडौं । नाडा अटो शो भृकुटी मण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । उनले अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकार समक्ष आग्रह पनि गरे । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नाडामा १३० स्टलहरू रहेका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।