एन्फाका महासचिव राईको तबल २ लाख ७० हजार पुग्यो, खेलाडीको ३० हजार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठकबीच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
एलआईसी नेपालले ल्यायो बीमांकको दुई गुणा सुरक्षा प्रदान गर्ने पोलिसी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । मंगबार सार्वजनिक गरेको उक्त पोलिसीले दुई गुणासम्म सूरक्षण प्रदान गर्ने छ । जीवन उत्सव बीमा नामको उक्त पोलिसिले बीमांकको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गर्ने कम्पनीले जनाएके छ । नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकमसहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको जीवन उत्सव योजना कम्पनीले ल्याएको हो । सो बीमा योजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमुख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय र अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठलगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरूले बुधार संयुक्त रूपमा शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारले यो बीमा योजना नेपालमै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याइएको बताए । यस बीमा योजनाले हाल बीमा अवधि नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अवधिसम्म चलाउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरे ।
ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी
कर्णाली । कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिले प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष कानुन विपरीत भएका सरुवा बदर गर्न माग गर्दै उजुरी दिएको हो । मुख्यमन्त्री कार्यालयले गत साउन ३२ गते प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका एक सय ११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिका उपाध्यक्ष जमानसिंह परियारले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा ९३०को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक कुनै कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि दुई वर्षको समयावधि पूरा गरेको हुनुपर्ने र त्यसभन्दा अगाडि सरुवा गर्न नपाइने व्यवस्थालाई मिचेर सरुवा गराइएको बताए । उनले भने, ‘प्रदेश निजामती ऐनमा कम्तीमा दुई वर्ष एक कार्यालयमा बस्ने व्यवस्था गरिएको छ, तर दुई महिनादेखि दुई वर्ष नपुगेका धेरै कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएकाले ऐन नियम विपरीत गरिएका कर्मचारीहरुको सरुवा बदको माग राख्दै हामीले मुख्यमन्त्री कार्यालयमा उजुरी दर्ता गरेका छौँ ।’ उक्त उजुरी बुझ्दै प्रदेश सरकारका निमित्त सचिव सारुले नेपाल राष्ट्रिय कर्मचारी संगठनले उजुरीमार्फत उठाएका गुनासा जायज भएको बताए । उनले भने, ‘ती सबै गुनासा मबाट सम्बोधन हुन सम्भव छैन, मुख्यमन्त्री तथा प्रमुख सचिवज्यू काठमाडौंबाट फर्किसकेपछि सामूहिक रूपमा बसेर छलफल गरी समाधान निकालौँला, यसमा म सकारात्मक छु ।’
सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष बने नेकपा एसको सचिव
काठमाडौं । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा नेकपा एकीकृत समाजवादीको सचिव बनेका छन् । पार्टीको पदाधिकारीको लागि मंगलबार भएको निर्वाचनमा उनी दलित कोटाबाट सचिवमा निर्वाचित भएका हुन् । उनले १८० मत प्राप्त गरेर निरादेवी जैरु र कृष्ण नेपालीलाई पराजित गरेका हुन् । जैरु र नेपालीले क्रमशः १०५ र २७ पाए । योजना आयोगजस्तो प्रतिष्ठित संस्थाको कार्यकारी भूमिकामा रहेका विश्वकर्माले प्रत्यक्ष रुपमा राजनीति गरेर पार्टीको पदाधिकारीमा निर्वाचित भएका हुन् । सुदूरपश्चिमको अघिल्लो सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । अहिले नयाँ सरकार आएपछि उनले राजीनामा दिएको बुझिएको छ । तर, राजीनामा स्वीकृति भइसकेको छैन । हाल काठमाडौंमा बस्दै आएका बझाङका उनी झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील छन् ।
गुल्मीका चार पालिकामा दुई दिनदेखि विद्युत अवरुद्ध
तम्घास । गुल्मीको चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको हो । यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए । विद्युत अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उनले बताए । वितरण केन्द्रले मर्मत गरिरहेको छ । अहिलेसम्म उनायचौरको विद्युत स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै ६ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले बताए । कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याउन मर्मतको काममा खटिएकाले बुधबार दिनभरिमा विद्युत सञ्चालन गर्ने सम्भावना रहेको पोखरेलले जानकारी दिए । गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ को अनावरण
काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण गरिएको हो । यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार एमटी–१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोनमार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई ६ हजार रुपैयाँ विशेष छुटका साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ । यामाहाको स्टल नम्बर एमएम १५ मा एरोक्स, यामाहा एफजेड एस डिलक्स पनि प्रदर्शनमा राखिएको छ । नाडा अटो शो २०२४ यही भाद्र १६ गतेसम्म जारी रहनेछ ।
एनआईसी एशिया क्यापिटलको ५२.५३ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । कम्पनीको साधारण सभा ५२.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै, आर्थिक वर्ष २०८०र०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोडभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । यसैगरी व्यवसायतर्फ असार मसान्त, २०८१ सम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजना मार्फत ५ अर्ब ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीले जनाएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्ब ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ । शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको अध्यक्ष राठी बताउँछन् । साथै, क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको उनले बताए ।
चाडपर्वको अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो कर्जामा छुट योजना
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ । तीज, दसै, तिहार तथा छठ पर्वलाई लक्षित योजनाअन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुटसमेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । यी अफर भाद्र ३१ सम्म लागु हुनेछन्। हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।