विकासन्युज

बैंकले हायर पर्चेज कर्जा घटाए, अब ‘ईभी लोन’मा केन्द्रित

काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा लिएका हुन् । जुन वितगका वर्षहरूको तुलनामा धेरै कम हो । पाँच वर्ष अगाडि अर्थात् २०७७ असारमा अटो व्यवसायीले कुल १ खर्ब ४४ अर्ब ९९ करोड १० लाख रुपैयाँबराबरको हायर पर्चेज कर्जा लिएका थिए । विगत पाँच वर्षको तुलनामा हायर पर्चेज कर्जा २६.२९ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असारसम्ममा कुल १ खर्ब ३२ अर्ब ३९ करोड ९० लाख, २०७९ असारसम्ममा १ खर्ब ३१ अर्ब ३४ करोड र २०७८ असार सम्ममा १ खर्ब ३४ अर्ब ९० करोड २० लाख रुपैयाँ हायर पर्चेजमा कर्जा लगानी भएको छ । तथ्यांकले पछिल्लो समय हायर पर्चेज कर्जा लगानी घटेको देखिन्छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि हायर पर्चेज कर्जा घट्दै गएको देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको असर अटो क्षेत्रमा पनि परेको छ । अटो व्यवसायीहरू अहिले ठूलो समस्यामा रहेको बताउँदै आएका छन् । यो क्षेत्रको पुनरुत्थानका लागि सरकारले नीतिगत व्यवस्था नै गर्नुपर्ने धारणा उनीहरूको छ । अटो व्यवसायीको महाकुम्भका रूपमा परिचित नाडा अटो शो पनि मंगलबारदेखि सुरु भएको छ । जहाँ विद्युतीय गाडीलाई बढी प्राथमिकता दिएको छ । नाडा अटो शोको उद्घाटन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सरारसँग नीगित स्थिरताको माग गरेका थिए । उनले अटो क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहयोग नगरेको गुनासो पनि गरेका थिए । ‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं, लाखौंलाई रोजगारी दिएका छौं । तर, सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भनेका थिए । अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने, अवैध व्यापार रोक्नका लागि बोर्डरमा कडाइ गर्नुपर्ने र अटो क्षेत्रमा नीगित स्थिरता कायम गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समय अटो क्षेत्र ठूलो समस्याबाट गुज्रिरहेको धारणा उनको थियो । अध्यक्ष चौधरीले भनेजस्तै अटो क्षेत्रले उपभोग गर्ने कर्जाको परिमाण पनि घट्दा यो क्षेत्र समस्यामा रहेको बुझ्न सकिन्छ ।  ब्याजदर घट्ने दिशामा यो पाँच वर्षको अवधिमा हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन । तर, पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याज पनि घटिरहेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार २०७७ साल असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत ११.५८ प्रतिशत थियो । अहिले २०८१ असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत १०.५२ प्रतिशत देखिएको छ । यस्तै, २०८० को असारमा १२.८७ प्रतिशत, २०२९ को असारमा ११.८९ प्रतिशत र २०७९ को असारमा औसत ९.७० प्रतिशत ब्याजदर देखिएको छ । हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन । असारयता भने हायर पर्चेज कर्जाको ब्याजदर घटेको बैंकरहरू बताउँछन् । पछिल्लो समय अटो व्यवसायीहरू विद्युतीय गाडीमा केन्द्रित हुँदा बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय गाडीको कर्जामा बढी लगानी गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम लिएर विद्युतीय गाडी कर्जा दिइरहेका छन् । जसले पनि अटो व्यवसायीलाई राहत मिलिरहेको छ । कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सवारीसाधन, मेशिनरी औजार, उपकरण खरीद गर्न गर्नका लागि हायर पर्चेज कर्जा पाउने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत स्वदेश तथा विदेशमा रहेका विज्ञहरूबाट स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव लिन सम्मेलन आयाेजना गर्न लागेको मन्त्रालयले जनाएको छ । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वाथ्य क्षत्रका विज्ञहरूको सहभागिता रहने छ । विज्ञको सल्लाहका आधारमा नेपालको शिक्षा  प्रणाली सुधार्न के-के गर्नुपर्छ भन्ने विषयमा पनि छलफल गरिने बताइएकाे छ । सम्मेलन आयोजना गर्न ९ सदस्य कार्यदल गठन गरेको छ । जसमा मेडिकल काउन्सिलका पदाधिकारीदेखि स्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक काेइरालालगायत रहेका छन् । कार्यदलको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले सम्मेलनको ढाँचा तयार पार्ने जनाएको छ ।

अब ‘इ-क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि

अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इ-क्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो । सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरु हुने सेवाबापत चालकहरूले कमिसन तिर्न नपर्ने मण्डलले बताए । कम्पनीले विद्यार्थीहरूलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरिरहेको छ। यसअन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँट गर्ने उनले बताए । विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै ‘सेड्युल बुक’ गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इक्याबमा रहेको छ । त्यस्तै इक्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको समेत सुविधा छ । पार्सल डेलिभरीका लागि कम्पनीले म्याड एड एजेन्सीसँग सहकार्य गरेको मण्डलले जानकारी दिए । इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध भइसकेका छन् ।

नाडा अटो शोमा ‘पल्सर एनएस ४०० जेड’ सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ । विशेषताहरूको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै, स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ । मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ । भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तर्क्रियात्मक थिम पनि सञ्चालन गरिरहेको छ। यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।

व्यवस्थापनको जिम्मा लिँदै ह्याम्सले किन्यो नागरिक अस्पतालको ४३ प्रतिशत सेयर

काठमाडौं । भक्तपुर गट्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालले किनेको छ । १६ वर्षअघि सञ्चालनमा आएको यो अस्पतालले व्यवस्थापनमा चुनौती देखिएपछि सेयर सदस्य अथवा ह्याम्स अस्पतालका अध्यक्ष डा. आरएस भण्डारीलाई जिम्मा लिन आग्रह गरेको थियो । अस्पतालको आग्रहपछि १ सय शैय्याकाे नागरिक अस्पतालको जिम्मा ह्याम्स अस्पतालले लिएको हो । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले नागरिक अस्पतालबाट ह्याम्सले भदौ १ गतेदेखि नै इमर्जेन्सी बिरामीलाई सेवा दिन भक्तपुरमा पहिलो पटक २४ सै घण्टा एमडीजीपी डाक्टर राखेर भेन्टिलेटरसहित इमर्जेन्सी विभगलाई सञ्चालन गरिसकेको बताएका छन् । उनले यो अस्पताललाई मेडिकल टिम र मेडिकल टेक्नोलोजी ह्याम्सकै लेभलमा विकास गर्दै लगिने र सय बेडमा सञ्चालित अस्पताललाई २ सय बेडसम्मको बनाउले योजना रहेको बताए । अब नागरिक अस्पताललाई कर्पोरेट अस्पतालका रूपमा विकास गरिने जनाइएको छ । अस्पतालको व्यवस्थापनको जिम्मा ह्याम्सले लिएसँगै ७ वर्षअघि नागरिक अस्पताल भित्रिएको शैलेन्द्रमोहन झासहित ७ जनाको टोली बाहिरिएको छ ।

भौतिक संरचनाले कुरूप बन्दै पर्यटकीयस्थल मझुवागढी

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ । चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुंगा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुंगा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ । तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड ९सुरक्षाकर्मी० बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छभने गढीवरिपरि बंकर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ । बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरूप बन्दै गएको छ । प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरूप बन्दै गएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना सुरु भएको छ । कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना सुरु भएको हो । समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी १ करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार २ सय ८९ रुपैयाँ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ । निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो । निर्माणाधीन आयोजनाको ७५ लाख ७ हजार ४ सय ९६ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए । मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ । अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए । ‘सम्पदा नै संंकटमा पर्नेगरी टावर बनाइएको छ । टावर बन्दैमा पर्यटन प्रवर्द्धन हुन्छ भन्ने धारणा गलत हो । त्यसमाथि पनि सिमेन्टको कङ्क्रिट प्रयोग गरेर बनेको संरचना बनाइएको छ । त्यो अझै गलत हो,’ उनले भने, ‘अहिले बनाइएको टावरले त दिक्तेल बजारतिरको दृश्य छलिएको छ । पहिले देवीथान क्षेत्रको जहाँबाट हेर्दा पनि दिक्तेल बजार देखिन्थ्यो । अहिले पूर्वी–दक्षिणबाट हेर्दा टावरले छलिएको छ । टावर त देखिनुको लागि होइन र ? कहाँ के गर्ने भन्ने बुझ्नुपथ्र्यो । प्राकृतिक संरचना भत्काउनुअघि पुरातत्वक विभागसँग अनुमति लिनुपर्छ । यो विषयमा नगरपालिकाले चासो दिएन । अहिले बनेका संरचनाले पुस्तौँसम्म असर गर्छ ।’ मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्यांकीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन् । दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कङ्क्रिटको पदमार्ग निर्माण गरिएका छन् । नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरेका छन् । ‘मझुवागढीलाई पर्यटन प्रवर्द्धन गर्दै नगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले पर्यटकलाई आकर्षित गर्ने संरचना बनाइएको हो । सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नु अनुत्पादक क्षेत्रमा लगानी गर्नु होइन,’ उनले भने, ‘भौतिक पूर्वाधार अभाव रहेको मझुवागढी क्षेत्रमा सुविधासम्पन्न संरचना निर्माण भइरहेका छन् । निर्माणाधीन संरचना सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आम्दानीको स्रोत वृद्धि हुने भएकाले अनुत्पादक भन्न मिल्दैन ।’ मझुवागढी क्षेत्र किरात ऐतिहासिकस्थल तथा धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने जिल्लावासीको सुझाव छ । तर, नगरपालिकाले प्राकृतिक संरचना भत्काउनुका साथै करोडौँ रकम खर्चेर सिमेन्टको कङ्क्रिट तथा फलामे डण्डी र जस्तापाता प्रयोग गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ ।

पहिलो महिनामै हेटौँडा उपमहानगरकाे राजस्व संकलन घट्याे

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ४ करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट १ करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १ करोड १८ लाख ७५ हजार, घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट ५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले ४ करोड ७५ लाख ७६ हजार रुपयाँ राजस्व संकलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए । यस्तै, विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड ७ लाख ६४ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट ७ करोड ३० लाख २८ हजार, घरबहाल करबाट ६ करोड १ लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ५ करोड २३ लाख ९ हजार, बहाल बिटोरी करबाट २ करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट ३ करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट १ करोड ६ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट ५ लाख ८६ हजार, ढुंगा गिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।

नेपालको हात समातेर पार्टी खोलाएकी रामकुमारी उपाध्यक्षमा पराजित, यी हुन् पदाधिकारीमा निर्वाचित नेता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव ९दलित० गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयनभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । नेकपा एमालेबाट विभाजन भएर स्थापना भएको एकीकृत समाजवादी स्थापना ताका निकै चर्चित बनेकी राम कुमारी झाँक्री भने महिला उपाध्यक्षमा पराजित भएकी हुन् । नेकपा एस स्थापना हुँदा उनले माधव नेपालको हात समातेर निर्वाचन आयोग पुगेकी थिइन् ।