नाडा अटो शो तताइरहेका ५ महँगा मोटरसाइकल, युवाको रोजाइमा, मूल्य २५ लाखसम्म
काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो जारी छ । हजारौं अवलोकनकर्ताहरू नाडा अटो शो अवलोकन गर्न आइरहेका छन् । नयाँ-नयाँ मोडलका सवारी साधनले उपभोक्तालाई आकर्षित गरिरहेको छ । सस्ता महँगा सवारी साधनले ग्राहकको मन जितिरहेका छन् । नयाँ-नयाँ गाडी तथा मोटरसाइकलहरू हेर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । आज हामी नाडा अटो शोमा प्रदर्शन गरिएका महँगा पाँच वटा मोटरसाइकलको विषयमा जानकारी दिँदैछौं । युवा लक्षित ती मोटरसाइकल नाडा अटो शोकै महँगो मूल्य पर्छ । जुमाभको एस ८ २५० नाडा अटो शोमा आकर्षणका रुपमा रहेको यो डट मोटरसाइकल हो । ९४० मिलिमिटर उचाई रहेको यस मोटरसाइकलको ८ लिटरको इन्जन ट्याङ्की तथा ३२० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । जसको मूल्य ७ लाख ९९ हजार रुपैयाँ पर्छ । नाडा अटो शोमा अधिकांशले सो मोटरसाइकललाई रुचाएका छन् । यामाहा डब्लुआर १५५ आर यामाहाको डब्लुआर १५५ आर डट पनि डट मोटरसाइकल हो । जसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ । १५५ सीसी क्षमता रहेको यस मोटरसाइकलमा ८.१ लिटर क्षमताको ईन्धन ट्याङ्की रहेको छ । २ हजार १४५ मिलिमिटर लम्बाई रहेको यस मोटरसाइकलको सिट उचाई भने ८८० मिलिमिटर रहेको छ । मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २४५ मिलिमिटर छ । उक्त मोटर साइकलको तौल १३४ केजीको रहेको छ । कम्पनीका अनुसार एमटी-१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, हल्का एल्युमिनियम स्विङ आर्महरू र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । भि-स्ट्रोम एसअर सुजुकीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम एसअर २५० सीसी इन्जिन भएको सो मोटर साइकलको मूल्य ७ लाख रुपैयाँ पर्छ । नाडा अटो शोमा प्रदर्शनीमा राखिएका मोटरसाइकलमध्ये यो पनि एक महँगो मोटरसाइकल हो । यस मोटरसाइकलमा १२ लिटर इन्धन ट्याङ्की रहेको छ । २०५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ८३५ मिलिमिटर उचाईको सिट भएको सो मोटरसाईकलको तौल १६७ केजी रहेको छ । यो मोटरसाइकलमा सुजुकी कनेक्ट फिचर, डबल च्यानल एबीएस जस्ता फिचर रहेको कम्पनीले बताएको छ । सुजुकी भि स्ट्रोम सिरिज ग्लोबल मार्केटमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो । बेनेली ७५२ एस इटालियन ब्रान्ड बेनेली ७५२ एस मोटरसाइकल जारी नाडा अटो शोको सबैभन्दा महँगो मोटरसाईकल हो । जसको मूल्य २५ लाख १५ हजार रुपैयाँ पर्छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । इटालियन ब्रान्ड बेनेलीको लागि नेपालको एकमात्र आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले ७५२ एस मोटरसाइकल नयाँ मोडलका साथ नेपाली बजारमा भित्र्याएको छ । केटीएमले सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई सम्बोधन गर्दै बिक्री गरिरहेको छ । केटीएमले बेनेलीको पार्टपुर्जाहरुको पनि बिक्री गर्दै आइरहेको छ । त्यसैगरी, नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२ एस उत्कृष्ट डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । कम्पनीले ७५२ एसको खरिदमा पहिलो ३ जना ग्राहकलाई १ लाख १० हजारको छुट दिने जनाएको छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५००आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ्ग सिस्टम, सेमी फ्लटिङ डेस्क, अगाडी फोर पिस्टन क्यालिपर तथा पछाडीतिर डबल पिस्टन फ्लटीङ क्यालिपर, १७ इन्च आल्मुनियम अले रिम, १४।५ लिटर क्षमताका ट्याङकी रहेको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ । एनएस ४०० जेड पस्लरको एनएस ४०० जेड मोटरसाईकल जारी नाडा अटो शोको आकर्षकको रुपमा रहेको छ । यो एनएस सिरिजको प्रिमियम मोटरसाइकल हो । जसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो मोटरसाईकलमा ३७३ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन छ । कम्पनीका अनुसार सो इन्जनले ४० बीएच पावर तथा ३५ एनएम टर्क उत्पादन गर्छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपर्युक्त छ ।
राष्ट्रिय कोडिङ प्रतियोगिता : आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिनबीच सहकार्य
काठमाडौं । राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालिबीच औपचारिक रूपमा समझौतापत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सिप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको आईटी शिक्षामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ । मार्गदर्शन कार्यक्रमः आदिम कलेजले आफ्नो स्नातक कार्यक्रमबाट बालबालिकाहरूलाई कोडिङ प्रतियोगितामा सहभागी गराउन आईटी विद्यार्थीहरू छान्नेछ । दूरशिक्षाले आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउनेछ भने आईसीटी फ्रेम म्यागजिनले व्यापक सहभागिता सुनिश्चित गर्न प्रवर्द्धन र प्रचारको जिम्मा लिएको छ । तालिम र विकासः दूरशिक्षाले छानिएका मार्गदर्शकहरूलाई कोडिङ, एल्गोरिथम विकास र समस्या समाधानमा विशेष अनलाइन तालिम प्रदान गर्नेछ । यस तालिममा युवा कोडरहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न आवश्यक सीप प्रदान गर्न प्रयोगात्मक कार्यहरू समावेश हुनेछन् । प्रतियोगिता र कार्यक्रमहरूः आदिम कलेज र दूरशिक्षाले संयुक्त रूपमा बालबालिकाहरूका लागि नियमित कोडिङ प्रतियोगिताहरू आयोजना गर्नेछन् । यी प्रतियोगिताहरूको विषयवस्तु, संरचना र मूल्याङ्कन मापदण्ड तीनवटै पक्षहरू मिलेर निर्धारण गर्ने बताइएको छ । आईसीटी फ्रेम म्यागजिनले आफ्नो च्यानलहरू मार्फत यी कार्यक्रमहरू प्रकाशन गर्नेछ । समझौतापत्रका मुख्य उद्देश्यहरूः यो सहकार्यले बालबालिकाहरूका लागि आयोजना गरिने कोडिङ प्रतियोगिताहरूको गुणस्तर र पहुँच वृद्धि गर्दै आदर्श कलेजका आईटी विद्यार्थीहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । प्रत्येक संस्थाको बलियो पक्ष र विशेषज्ञतालाई सदुपयोग गरी यो एमओयूले नेपालको युवामाझ आईटी सीप विकासलाई प्रवर्द्धन गर्ने र उनीहरूलाई प्रविधि क्षेत्रमा भविष्यका अवसरहरूको लागि तयार गर्ने लक्ष्य छ । एमओयूमा आदिम कलेजका सिइओ शंकर प्रसाद शर्मा, दूरशिक्षाका सिइओ कृष्ण पाण्डे र आईसीटी फ्रेम म्यागजिन प्रालिका तर्फबाट आउट्रिच अफिसर रवीन्द्र गौलीले हस्ताक्षर गरेका छन् । कसरी सहभागी हुने ? कक्षा २ देखि ९ सम्म ९उमेर ७ देखि १४ वर्ष० का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ । कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत निःशुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ । अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ । यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् । आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।
६८ लाखमा बनेको ‘भ्यूटावर’ मद्यपान र धुमपानको केन्द्र
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । ‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ,’ उनले भनिन् । टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर, भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताइन् । ‘भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ,’ उनले भनिन्, ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।’ कावासोती–१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए । ‘तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु,’ उनले भने, ‘व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।’ भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । ‘यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।’ समुद्री सतहबाट झण्डै ८ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दुरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने गोल्ड मेडलिष्ट राजा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए । लघुवित्तको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल संचालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्र राज रेग्मी संचालक थिए । रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् । अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारी जस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनी स्वर्ण पदक (गोल्ड मेडलिष्ट) पनि हुन् ।
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त, बरिष्ठ तीन सचिव असन्तुष्ट
काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वरियतामा चौथो स्थानमा रहेतापनि अर्याललाई मुख्यसचिव बनाइएको छ । सचिवमा अर्यालभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । अर्याल नायबसुब्बाबाट विसं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । अर्यालले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्नेछन् ।
विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे । ‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ,’ उनले भने । मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए । नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने उनको भनाइ छ । ‘सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु,’ उनले भने । । सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए । सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाए । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताए । ‘लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ,’ उनले भने । विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने उनले बताए ।
त्रिभुवन विमानस्थलको पार्किङ भाडामा, साढे ३३ करोड रुपैयाँ तिर्नुपर्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशान शुल्क (पार्किङ) उठाउने जिम्मा निजी कम्पनीलाई दिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले पार्किङ शुल्क उठाउने कार्य ३ वर्षसम्म ठेक्कामा दिने भएको हो । विमानस्थलको अपरेशन एयरलाईन्स भवन तथा आन्तरिक भवन अगाडी कार्यालयले स्थान तथा क्षेत्रफलमा विशान शुल्क उठाउने कार्य संचालनको लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ३ वर्षको लागि आय ठेक्कामा दिने जनाएको छ । इजाजतपत्र प्राप्त गरेका ईच्छुक व्यक्ति, फर्म, कम्पनीले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नुहुन कार्यालयले अनुरोध गरेको छ । कार्यालयका अनुसार ७ हजार ७५५.४ वर्गमिटर क्षेत्रफल पार्किङका लागि छुट्याएको छ । तीन वर्षमा पार्किङको भाडा ३३ करोड ३० लाख ३५ हजार ५६१ रुपैयाँ रहेको नागरिक उड्डयन कार्यालय गौचरले जनाएको छ । सूचना प्रकाशति भएको ३० दिनभित्र बोलपत्र पेस गर्न कार्यालयले बताएको छ ।
युरोपेली ब्रान्डीमा भन्सार नलगाउने घोषणा
काठमाडौं । चीनले युरोपेली ब्रान्डी निर्माताहरूमाथि अस्थायी शुल्क नलगाउने सरकारले बिहीबार घोषणा गरेको छ । यद्यपि उसले डम्पिङ (अर्को देशमा उत्पादनहरू धेरै सस्तोमा बिक्री गर्ने अभ्यास) प्रमाण फेला पारेको बताएको छ । युरोपेली सङ्घ (इयु) ले चिनियाँ विद्युतीय सवारी अनुदानमा अनुसन्धान गरेको महिनौँपछि बेइजिङले जनवरीमा इयुबाट आयातित ब्रान्डीको अनुसन्धान सुरु गरेको हो । घरेलु ब्रान्डी उद्योगका तर्फबाट चीनको मदिरा सङ्घले नोभेम्बरमा दायर गरेको उजुरीपछि अनुसन्धान गरिएको वाणिज्य मन्त्रालयले बताएको छ । बेइजिङले गरेको अनुसन्धानमा इयुबाट आयात गरिएको ब्रान्डी चीनमा सस्तोमा बिक्री गरिएको पाइएको र यसले ‘घरेलु ब्रान्डी उद्योगलाई धेरै ठूलो नोक्सान हुने खतरा रहेको’ मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । ‘तर यस अवस्थामा अहिले कुनै अस्थायी एन्टी–डम्पिङ उपाय अपनाइने छैन,’ भविष्यको शुल्कलाई अस्वीकार नगरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ । चीनको उक्त घोषणापछि फ्रान्सेली स्पिरिट निर्माता रेमी कोइन्ट्रेउ र परेनोड रिकार्डको सेयरहरूमा बिहीबार उछाल आएको छ । अनुसन्धान समूह ड्याक्सु कन्सल्टिङको एक प्रतिवेदनअनुसार चीनले सन् २०२२ मा कुनै पनि अन्य स्पिरिटको तुलनामा धेरै ब्रान्डी आयात गरेको थियो । तीमध्ये अधिकांश फ्रान्सबाट आयात भएको थियो । इयुले चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म पाँच वर्षको आयात शुल्क लगाउने योजना बनाएको बताएको भोलिपल्ट यसै महिना बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा इयु अनुदानको अनुसन्धान सुरु गर्यो । दुवैबीच व्यापार गतिरोधमा पछिल्लो टिप्पणीलाई दर्शाउने अनुसन्धानमा ताजा पनिर र दही, केही दूध र क्रिमसहित धेरै वस्तुलाई समावेश गर्नेछ ।