नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार उक्त सेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र उक्त सेयरमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकको भनाइ छ ।
छक्का पन्जा ५सँगको सहकार्यमा भिबोनले ल्यायो छैन जाल झेल योजना
काठमाडौं । भिबोन कुर्सीले दशै, तिहार र छठको अवसर पारेर कलाकार दिपक राज गिरी र दिपाश्री निरौलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । साथै भिबोन र छक्का पन्जा ५ को सहकार्यमा छैन जाल झेल योजना पनि सार्वजनिक गरेको छ । यसयोजनाबाट सबैलाई मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । भिबोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोनको टबेल र छाता सितैमा दिनेछ । उक्त योजना नेपालभरीका डिलरहरूमा उपलब्ध हुने छ भने सीमित अवधिका लागि मात्रै रहेको कम्पीको भनाइ छ ।
एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को अवितरित हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको अवितरित हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ । कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो ।
हिमाल चढ्न १३२ जनाले लिए अनुमति, उठ्यो डेढ करोड रोयल्टी
काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागका अनुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका ७ र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका ५ जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।
मलेसियन रिंगिटको मूल्य बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ तोकेको छ । यसअघि हिजो अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको थियो । आज एक युरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.८० रुपैयाँ कायम भएको छ भने बिक्रीदर १७६.५९ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.९२ रुपैयाँ र बिक्रीदर ९९.३६ रुपैयाँ तोकिएको छ । यसअघि हिजो एक युरोको खरिददर १४७.९८ रुपैयाँ र बिक्रीदर १४८.६४ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९६ रुपैयाँ र बिक्रीदर १७६.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.०१ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.९३ रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकिएको थियो ।
भैँसीपालन पेसा सङ्कटमा, वितरण गरियो मुर्रा भैँसी
काठमाडौं । इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण गर्न थालेको छ । भैँसीपालनप्रति कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा पाडापाडी वितरण गर्न थालेको कार्यालय प्रमुख पवनकुमार झाले जानकारी दिए । बढ्दो सहरीकरण, फेरिएका गाउँबस्ती, चरिचरणको अभाव तथा फेरिँदो जीवनशैलीका कारण पछिल्लो समय भैँसीपालन पेसा सङ्कटमा पर्दै आएकाले कृषिकको उत्साहका लागि पडापाडी प्रदान गर्ने गरिएको उनले बताए। भैँसीपालन गर्न तथा उन्नत जातका बीउ उत्पादनका लागिसमेत स्थानीय किसनको मागका अधारमा वर्षिक रूपमा २० देखि ३० वटासम्म पाडापाडी वितरण गर्दै आएको कार्यालयले जनाएको छ । हाल अधिकांश परिवारले राँगो, भैँसी पाल्न छाडेपछि राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमअन्तर्गत मुर्रा र रैथाने जातका पाडापाडी न्यूनतम शुल्कमा वितरण गर्न थालेको कार्यालय प्रमुख झाले जानकारी दिए । ‘उन्नत नश्लको बीउ राँगाको व्यवस्था गरी कार्यालयले कृषकका लागि पाडापाडी वितरण गर्नुका साथै दूध उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ तर जनशक्ति र बजेट अभावले प्रभावकारी हुन सकेको छैन् । पाडापाडीको माग बढे पनि सोअनुसार वितरण गर्न सकिएको छैन,’ उनले भने । प्रत्येक वर्ष ७० देखि ८० वटा कृषकबाट उन्नत जातका पाडापाडीको माग आए पनि २० देखि ३० जनालाई मात्र वितरण गर्न सकिएको उनको भनाइ छ ।
विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशत बढ्यो, ७ महिनामा भित्रिए ७ लाख बढी
काठमाडौं । सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने उनले विश्वास व्यक्त गरे । बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए । कुन महिनामा कति पर्यटक मार्च महिनामा सबैभन्दा बढी १ लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, जनवरीमा ७९ हजार १ सय, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । के छ पर्यटक बढाउने सरकारी योजना ? कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।
आज तीन प्रदेशमा भारी वर्षा, यस्तो छ २४ घण्टाको पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।