ब्याज बोझले थिचिँदै बैंकहरू, सकसमा पनि प्राइम र सिटिजन्सको उत्कृष्ट ‘पफर्मेन्स’
काठमाडौं । कुनै बेला कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत पार भएर सकसमा रहेका बैंकहरू अहिले सीडी रेसियो कम भएर दबाबमा छन् । हाल वाणिज्य बैंकहरूको सीडी रेसियो ६० देखि ८० प्रतिशतको बीचमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७९.१४ प्रतिशत कायम भएको हो । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको छ । यस बैंकको सीडी रेसियो ६०.३९ प्रतिशत छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल बैंकको ७२.४४ प्रतिशत, नेपाल एसबिआई बैंकको ७३.५६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७५.८६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७६.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७७.७४ प्रतिशत, कृषि विकास बैंकको ७८.४६ प्रतिशत, एनआइसी एसियाको ७९.१४ प्रतिशत र प्रभु बैंकको ७९.७९ प्रतिशत सीडी रेसियो छ । यस्तै, सिद्धार्थ बैंकको ८०.२ प्रतिशत, एभरेष्टको ८०.२७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ८०.४६ प्रतिशत, सानिमाको ८०.८३ प्रतिशत र कुमारी बैंकको ८२.९३ प्रतिशत सीडी रेसियो कायम भएको छ । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार माछापुच्छ्रे बैंकको सीडी रेसियो ८३.२१ प्रतिशत, नबिलको ८३.६ प्रतिशत, हिमालयनको ८३.७८ प्रतिशत, एनएमबिको ८३.८९ प्रतिशत, सिटिजन्सको ८४.०७ प्रतिशत र प्राइम कमर्सियलको ८६.३ प्रतिशत सीडी रेसियो छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ । यदि सीडी रेसियोले ९० प्रतिशतको सीमा नाघ्यो भने बैंकहरूलाई राष्ट्र बैंकले कारबाही गर्छ । ९० प्रतिशतको सीडी रेसियोको सीमा पार हुनु राष्ट्र बैंकको व्यवस्थाले राम्रो मान्दैन । सीडी रेसियोको न्यूनतम सीमा भने तोकिएको छैन । बैंकको सीडी रेसियो ५०/६० प्रतिशतमा झरेर समस्या सिर्जना हुन सक्ने विषयको राष्ट्र बैंकले कल्पना नै नगरेर सीडी रेसियोको न्यूनतम सीमा तोकेको छैन । तर, अब यस विषयमा पनि सोंच्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता भागवत आचार्यले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत सीमा नाघेमा राष्ट्र बैंकले हेर्ने भए पनि कम सीमा हेर्दा खासै चासो नहुने बताए । ‘अहिले बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह सोंचेजस्तो नभएका कारण सीडी रेसियो पनि कम भएको हो, सीडी रेसियो कम हुँदै जाँदा बैंकको व्यवसायमा पनि केही कमी पक्कै आउँछ, न्यूनतम बिन्दुभन्दा कममा आयो भने यसले जोखिम पनि ल्याउन सक्छ,’ उनले भने । बैंकहरूका अनुसार कर्जा लगानी हुन नसक्दा सीडी रेसियो न्यूनतम बिन्दुमा झरेको हो । सीडी रेसियो कम हुँदा बैंकको ब्याज आम्दानी बढ्ने हुन्छ । यसले समग्र बैंकको व्यवसाय र नाफामै प्रभाव पार्ने उनीहरूको भनाइ छ । ‘सीडी रेसियो न्यूनतम बिन्दुमा झर्नु भनेको बैंकले निक्षेप संकलन गरेर कर्जा लगानी गर्न नसकेको बुझ्न सकिन्छ, अहिले अधिकांश बैंकले कर्जा लगानी हुन नसकेको समस्या भोगिरहेका छन्, बैंकमा कर्जाको माग छैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । उदाहरणका लागि कुनै बैंकले १०० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ र उसको सीडी रेसियो ६० प्रतिशत छ भने उसले ६० करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेको बुझ्नुपर्छ । सो बैंकले ३० करोड रुपैयाँ निक्षेप लगानी गर्न सकेको हुँदैन । बैंकले ४० करोड रुपैयाँको ब्याज भार मात्र बाेकेकाे हुन्छ । पछिल्लो तथ्यांकअनुसार प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकको सीडी रेसियो सन्तोषजनक नै छ । किनकि बैंकको अधिकतम् सीमाभन्दा धेरै तल छैन । यसले बैंकहरूले निक्षेप संकलन गरेवापत लगानी पनि गरिरहेका छन् भन्ने बुझिन्छ । तर, सीडी रेसियो ६० प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंक भने लगानी गर्न नसकेर ठूलो समस्यामा रहेको बुझिन्छ । अहिले बैंकिङ क्षेत्रमा साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विगतमा तरलताको समस्यामा बजारमा कर्जाको माग धान्न नसकेका बैंकहरू अहिले कर्जा प्रवाह हुन नसकेर व्यवसायीको घरमै पुगेर कर्जा लिनका लागि आग्रह गर्ने अवस्था देखिएको एक बैंकरले बताए । कर्जाको माग नभएर लगानीयोग्य रकम थुप्रिएकै कारण अहिले बैंकहरूले निरन्तर ब्याज पनि घटाइरहेका छन् । यसले निक्षेपकर्तालाई प्रवाहित गरिरहेको छ । किनकि निक्षेपको ब्याज निरन्तर घटिरहेको छ । विगतमा बढी ब्याज हुँदा ब्याज आम्दानीबाटै मनग्य कमाउने निक्षेपकर्ताहरू अहिले न्यूनतम ब्याजमा पनि बैंकमा पैसा राख्न बाध्य छन् ।
चीनले अफ्रिकालाई ५० अर्ब डलर दिने
बेइजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे । सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी छन् । अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भने । ‘चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ,’ उनले भने, ‘आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।’ उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे । बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए । ‘गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ,’ उनले भने । एजेन्सी
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्ध विस्तार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्धका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात नगर प्रमुख कार्कीले जापानको ओत्सुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए । उनले जापानको ओत्सुकी शहर र कागेश्वरी मनोहरा नगरपालिकाबीच आपसी सहयोग आदानप्रदान र प्रवद्र्धनका लागि फ्रेण्डसिप सिटी एक्सचेन्जका लागि दुई शहरबीच भगिनी सम्बन्ध कायम गरिएको बताए । मेयर कार्कीले दुई शहरकाबीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने जानकारी दिए । उनले संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गरे । नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुशरण गर्ने बताए । सम्झौता पत्रमा हस्ताक्षर पश्चात जापानका उच्च अधिकारीहरुले पनि नेपालको शहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार पुग्यो
गोदावरी । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार ९ सय १५ पुगेको बताए । सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या ३ लाख ९ हजार १२ र पुरुषको संख्या २ लाख ७७ हजार १ सय ९० रहेको साउदले बताए । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ९९ हजार १ सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार ४ सय २० र अछाममा ५७ हजार ९ सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ४२ हजार १ सय २, बाजुरामा ३६ हजार ५ सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार ९ सय २८ र दार्चुलामा १६ हजार १ सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ । प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ । बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् । सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।
उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरू
काठमाडौं । धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिइ कुवेत पठाइदिने प्रलोभन देखाए । घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत जाने निधो गरिन् । तर उनले घरमा कसैलाई पनि थाहा नदिइकन रमेशसँग भारत हुँदै कुवेत जानका लागि घरबाट निस्किइन्। रमेशले कुवेत भनेर आफूलाई भारतको वेश्यालयमा लगेर बेचिसकेको कुरा उर्मिलालाई पछि मात्रै थाहा भयो । केही महिनापछि उर्मिला त्यस ठाउँबाट भाग्न सफल भइन् । त्यसपछि उनी नेपाल फर्किएर अहिले गलैँचा बुन्ने कारखानामा काम गर्छिन् । त्यसैगरी, सिन्धुपाल्चोककी सुनिताका दुई ओटी आमा छन् । बाबुले अर्की आमा बिहे गरेर छुट्टै बस्छन् तर सुनिता, उनकी आमा र दुई भाइलाई हेर्दैनन् । सुनिताले घरको दुःख देखेर १० कक्षा पढ्दापढ्दै साथीको लैलैमा कामको खोजीमा काठमाडौं छिरिन् । सुनिता काठमाडौं छिरेको पनि आज छ वर्ष भयो । यो छ वर्षको बीचमा सुनिताको जीवनमा धेरै उतारचढावहरू आए । आफू पालिन र घरमा भाइहरूलाई पाल्नका लागि उनले होटलमा भाडा माँझ्नेदेखि घर बनाउने ठाउँमा मजदूरको कामसमेत गरिन् । घर बनाउने ठाउँमा मजदूरी गर्दैगर्दा सुनिताको एक दलालसँग भेट भयो, बोलचाल चिनजान भयो र कुराकानी हुँदैजाँदा ती दलालले सुनितालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाए । महिनामा एक लाखसम्म तलब पाउने कतारको एक कम्पनीमा काममा लगाइदिने दलालले प्रलोभन देखाएका थिए । जानका लागि लाग्ने खर्च पछि तिर्ने शर्तमा ती दलालले कतार पठाउने भनेका थिए । सुनितालाई होला त नि भन्ने लाग्यो । त्यही दलालको लैलैमा उनी भारत हुँदै कतार जाने भइन् । ती दलालले भारत लगेर आठ दिनसम्म आफूसँगै होटलमा राखे । त्यसपछि सुनितालाई भारतको वेश्यालयमा लगेर बेचिदिए । सुनितालाई आफू बेचिएको भन्ने थाहै थिएन । पछि मात्रै थाहा भयो । भारतमै काम गर्ने एक आफन्तको सहारामा उनी नेपाल फर्किन सफल भइन् । अहिले सुनिताले सीप सिकेर काठमाडौँमै सिलाइ पसल खोलेकी छन् । उनले आमा र दुई भाइबहिनीलाई पाल्ने गरी आम्दानी गर्न सकेकी छन् । त्यसैगरी, नुवाकोटकी उजेलीलाई कुनै दिन यस्तो लाग्थ्यो कि विदेश जान पाइयो भने त जति पनि पैसा कमाउन सकिन्छ । चालीस वर्षकी उजेलीले गत साल विदेश जाने निर्णय गरिन् । तर दलालले भारत हुँदै कुवेत पुर्याउने भनेर भारतको वेश्यालयमा पुर्यायो । ‘घरमा श्रीमान् जहिल्यै रक्सी खाने, केही काम पनि नगर्ने, पैसा पनि नकमाउने, चार छोराछोरी पाल्न पनि गाहे भएको थियो । एकपटक म आफैँ भए पनि विदेश गएर पैसा कमाएर ल्याउँछु भन्ने सोचले हुन्छ त नि विदेश जान्छु भनिहालेँ तर दलालले भारत लगेर बेश्यालयमा पुर्यायो’, उनले सुनाइन् । तर आफन्तको सहारामा नेपाल फर्किएपछि भने अहिले उजेलीको जीवन फेरिएको छ । नेपाल आएपछि उनले ऋण/धन गरेर कुखुरा फार्म खोलेकी छन् । त्यही कुखुरापालनबाटै उनले आफन्तसँग लिएको ३० हजार रुपैयाँ पनि तिरिसकेकी छन् । अहिले उजेलीको कुखुरा फार्ममा ४० वटा बोइलर खुकुरा छन् । उजेलीले भनिन्,’इन्डियामा तीन महिना बस्दा नर्कको जीवन जीउन बाध्य भएकी थिएँ, तर अहिले मलाई यहाँ स्वर्ग जस्तै लागेको छ, आफ्नै घरमा कुखुरा पालेर खेतीपाती गरेर छोराछोरीलाई स्कुल पढाउन, खान र लाउन पुगेकै छ ।’ उजेलीका दुई भाई छोरा कलेज पढ्ने भएका छन् । दुई वैनी छोरीहरु भने स्कूलमा पढ्दैछन् । ‘महिला भएर खाली विदेश विदेश मात्र भनेर नहुँदो रहेछ, आफू जान्ने बुझ्ने नभएपछि दलालको हातमा परिँदोरहेछ, त्यो दलालले मैले ऋण काडेर दिएको ९० हजार रुपैयाँ पनि खाइदियो, त्यो ९० हजारले बरु घरमै कुखुरा/बाख्रामा लगानी गरेको भए अहिले कति फाइदा हुँदो रहेछ, अब त म कसैले सित्तैमा लैजान्छु भने पनि जान्न’, उनले भनिन् । उनी विदेशबाट फर्किएर कुखुरा फार्म खोलेपछि अहिले उनका श्रीमान् पनि सुध्रिएका छन् । जाडरक्सी खान छोडेका छन् । अहिले श्रीमान् हरिराम पनि खेतबारीमा तरकारी खेती गर्नमै व्यस्त छन् । हरिराम अहिले खेतबारीमा सिमी, बोडी, धिरौला, करेलालगायतका तरकारी उत्पादन गरेर बजारसम्म पुर्याउँछन् । ‘अहिले त जे गरे पनि हामी बुढाबढी सरसल्लाह गरेर मात्रै घर व्यवहार चलाएका छौँ, उहाँ पनि अहिले त खेतबारीमै व्यस्त हुनुहुन्छ, अरु भन्दापनि बुढाले रक्सी जाँड छोडेर घरमा समय दिएकोमा खुसी लाग्छ’, उजेलीले सुनाइन् । रोजगारीको सिलसिलामा दलालले भारत लैजाने क्रममा झापाको विर्तामाडबाट माइती नेपालको उद्धारपछि उजेली जस्तै रामेछापकी कमला पनि अहिले आफ्नै व्यवसाय सुरु गरेकी छन् । ‘म पनि त्यही विदेश जाने चक्करमा दलालको हातमा परेको रहेछु, धन्न माइती नेपालले बचाएर ल्यायो, मलाई त पछि अरुले भनेपछि मात्रै थाहा भयो, भारतमा लगेर नराम्रो काममा लगाउने रहेछ भनेर’, कमलाले सुनाइन् । सिन्धुपाल्चोककी सावित्राले अहिले सिलाइबुनाइको पसल खोलेकी छन् । अहिले कमलाको हातमा सीप र पैसा दुवै छ । विहे गरेको तीन वर्षमा श्रीमानले अर्को बिहे गरेपछि भौंतारिएर विदेश जाने चक्करमा लागेकी कमलाले अहिले आफ्नै पसलबाट महिनामा २५/२६ हजार रुपैयाँ कमाई गर्छिन् । उनले अहिले आफूले कमाएको पैसाबाट बचत गरेर सहकारीमा समेत जम्मा गर्ने गरेकी छन् । यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उर्मिला, सुनिता, उजेली र कमला उदाहरण मात्रै हुन् । विदेशमा महिनामा दुई/तीन लाख रुपैयाँ कमाई हुन्छ भन्दै ललाइफकाई गरी भारत लैजाने क्रममा विभिन्न नाकाबाट उद्धार गएिका महिलाहरु आफ्नै देशमा उद्यम गर्ने धेरै महिला छन् । अहिले उनीहरु विदेश जानभन्दा स्वदेशमै केही सीप सिकेर आफू आत्मनिर्भर हुन गाउँका अन्य महिलाहरुलाई सल्लाहसुझाव दिने भएका छन् । पछिल्लो समयमा मानव बेचबिखनको मुख्य कारण अशिक्षा र रोजगरी, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी शिकार हुने गरेका छन् । हिंसामा परेकाहरू सधैंँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइन्छ । पछिल्लो समयमा बन्धक बनाइएका धनुषाका सात र सिरहाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ पुरुषका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इन्डियामार्फत जानकारी हुन आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा ती पीडित/प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको जनाइएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितहरुको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले पछिल्लो समय सञ्चार, सूचना र प्रविधिको विकासका कारण मानव बेचविखन तथा ओपसार गर्ने स्वरुपमा परिवर्तन आएको बताइन् । ‘पहिलापहिला मानिससँग आफ्नो फोन हुँदैन थियो, गाउँका साझासाझा महिला बढी बेचबिखनमा पर्ने गर्थे, तर अहिले सबैको हातहातमा फोन छ, प्रविधिको विकास भएको छ, त्यसैले शहरमा बस्ने एकदम टाठाबाठा पनि नजानिदो तरिकाले बेचिन पुगेका छन्, यो हाम्रा लागि पनि चुनौती हो’, उनले भनिन् । उनले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने तर्क गरे । नेपालले मानव बेचबिखनलाई गम्भीर अपराधको रूपमा स्वीकार गरेको छ । यससम्बन्धी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारलाई स्पष्ट परिभाषित गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मानव बेचविखन रोकथाममा सक्रिय अभियान्ता रेणु सिजामतीले बताइन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ सँगै वैदेशिक रोजगार ऐन २०६४, अध्यागमन ऐन २०४९, बाल श्रम (निषेध र नियन्त्रण) ऐन २०५६, श्रम ऐन २०७४, कानुनी सहायता ऐन २०५४, पारस्परिक कानुनी सहायता ऐन २०१४, राहदानी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता, २०७४ सङ्गठित अपराध निवारण ऐन २०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० लगायतका कानुनको समेत प्रभावकारी कार्यान्वयन नसक्दा पनि मानव बेचविखनले प्रशय पाएको छ । मानव बेचविखनलाई न्यूनीकरण गर्दै अन्त्य नै गर्नका लागि सरकारले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समावेश गर्न जरुरी देखिन्छ । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि सम्बन्धित मन्त्रालय लागि पर्नुपर्ने देखिन्छ । महिला मन्त्रालयले मानब बेचबिखनसँग सम्वन्धित ऐन/कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ । मानव बेचविखनविरुद्ध क्रियाशील सरकारी र गैरसरकारी सङ्घ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सीमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ । रासस
नेपाली उपभोक्ताको भरमा टिकेको भारतीय बजार रुपैडिहा, दैनिक १ करोडको कारोबार
राँझा । बाँकेको सीमावर्ती बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । सीमा पारी भारतीय बजार रुपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजाराैंको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् । अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैयाँ र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपाली राखेर भाषाको सहजता गरेका छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताए । रुपैडिहा बजारमा खाद्यान्नको किराना पसल गर्दै आएका वैश्यले नेपाली चाडपर्व तीज अनि दशैं-तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफूहरूलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गरे । यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उनको भनाइ छ । चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ । दैनिक करिब १ करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ । नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन । उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचन पछि सेलाउदै जाने गरेको छ । सङ्घका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसाय धराशायी भएको बताए । सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ । ‘हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं,’ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव रानाभाटले भने, ‘भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।’ पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ । तीजको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।
न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय आगन्तुक सर्वेक्षण अनुसार न्युजिल्याण्डको अन्तर्राष्ट्रिय पर्यटन कोभिड १९ महामारीको प्रभावपछि पुनः सुरु भएको छ । अन्तर्राष्ट्रिय पर्यटनले यस वर्षको दोस्रो त्रैमासिकमा न्युजिल्याण्डको अर्थतन्त्रमा २.६ बिलियन न्युजिल्याण्ड डलर योगदान गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी रहेको सर्वेक्षणले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन न्युजिल्याण्डको दुग्ध उत्पादनपछि दोस्रो योगदानको हो । न्युजिल्याण्ड सरकारले सार्वजनिक सेवा र उच्च गुणस्तरीय अनुभवहरूमा आगन्तुकहरूको योगदान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन शुल्कमा उल्लेखनीय वृद्धि गरेको छ ।
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान
बागलुङ । उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान बनेको छ । बाटोको दूरावस्था र सुरक्षा चुनौती देखाउँदै व्यवसायीले आफ्ना सवारी साधन बसपार्कमा नराख्दा सुनसान भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मंगलबारमात्रै चालक र सहचालकलाई टीका लगाए बसपार्क उद्घाटन गरेका थिए । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ ? ’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘नगरले सुरक्षा दिनुपर्यो नि, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।’ बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुंगो लाग्छ’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।’ उनले बसपार्कलाई दिगो बनाउन यातायात व्यवसायीसँग लिखित रूपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए । निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।