कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै तीजको शुभकामना दिएको छ । बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित
फाइल फोटो काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको हो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ । यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो । प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सुरसण्ड–जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुखविरुवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले उल्लेख गरे । प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए । उनले भने, ‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ, फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्छ नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नु पर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ ।’
यातायात कार्यालय झापाद्वारा ९३ करोड बढी राजस्व संकलन
भद्रपुर । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार ८ सय १३ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा ५ करोड १४ लाख ७९ हजार ५ सय ६६ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड ६ लाख ८७ हजार २ सय ४७ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कुल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० रुपैयाँ सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार ४ सय ४१ र रुट अनुमति ५ सय ३४ दिएको थियो । गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७ सय ५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस १ सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप १ सय ६०, कार दुई सय ७०, भ्यान १ सय ३६, पिकअप एकस २९, ट्र्याक्टर १ सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् । दर्ता भएका जम्मा सवारीमध्ये १ हजार दुई सय ५७ सार्वजनिक, ९ हजार ४ सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ । निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए ।
डोङफेङ नामीको शोरुम नागपोखरीमा खुल्दै
काठमाडौं । डोङफेङ नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरीमा खुल्ने भएको छ ।कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने जनाएको छ । कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने छन् । नेपालमा नामीको आधिकारिक बितरक एमएडब्लु ग्रुप हो र यो देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो । यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुपले गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको जनाएको छ । कम्पनीका अनुसार नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ । हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको कम्पनीको भनाई छ । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरुबाट निकै नै प्रशंसा र माया पाएको थियो । प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको छ ।
अवरुद्ध कान्तिलोकपथ खुल्यो
मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उहाँले छ ।
अस्ट्रेलियाको जिडिपीमा गिरावट
काठमाडौं । अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (१.०५ प्रतिशत) को रिपोर्ट गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १.०५ प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२/२३ मा ३.०१ प्रतिशत थियो । एबिएसका अनुसार सन् १९९१/९२ को आर्थिक मन्दीपछि ०.०४ प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो । त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र ०.०२ प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम ३ महिना र सन् २०२४ को पहिलो ३ महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ । विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाए । उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताए । उनका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ । एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा ०.०२ प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा ०.०१ प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च १.०४ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो २ त्रैमासिकमा गिरावट आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात ५.०६ प्रतिशतले वृद्धि भएको छ ।
चीनले बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्ने
काठमाडौं । चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ । चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ । कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ । यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ । ‘सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,’ सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पभने । चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ । यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ । बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो । साथै बोनस दर बीमाङकीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्म जारी गरेका १ लाख ५२ हजार ८९० बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ ।