वैदेशिक रोजगार बीमामा पुल प्रणाली लागु, कसरी हुन्छ बाँडफाँट ?
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमामा अब सामूहिक बीमा कोष (पुल) प्रणाली लागु भएको छ । नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको निर्देशनअनुसार पुलको व्यवस्थापन भने दुई पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्सले गर्नेछन् कम्पनीहरुले दैनिक रुपमा कारोबारको विवरण पुल व्यवस्थापकलाई पठाउनु पर्नेछ । कम्पनीहरुले दिएको दाबी भुक्तानीको विवरण हरेक महिना समाप्त भएको ७ दिनभित्र पुल व्यवस्थापकलाई पठाउनु पर्ने कार्यविधिमा उल्लेख छ । सो रकम व्यवस्थापनका लागि पुल व्यवस्थापकको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्नेछ । र सो खातामा पुलमा सहभागी सबै कम्पनीहरुको वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गतको कारोबार जम्मा हुनेछ । कसरी हुन्छ बाँडफाँट ? सामूहिक कोषमा जम्मा भएको रकम खर्च र आयको हिसाब पुल व्यवस्थापकले गर्नेछ । जसमध्ये यस बीमालेख जारी गर्ने हरेक कम्पनीले चालु आर्थिक वर्ष २०८१/०८२ मा ४.६ प्रतिशत भाग पाउने छन् । यसैगरी, २०८२/०८३ मा ५.७ प्रशितशत हिस्सा हरेक कारोबार गर्ने कम्पनीले पाउने छन् । ऋार्थिक वर्ष २०८३/०८४ भने हरेक कारोबार गर्ने कम्पनीले ६.६६ प्रतिशत हिस्सा पाउने निर्देशनमा उल्लेख रहेको छ । चालु आवमा कुल व्यापारको ६९ प्रतिशत कोषमा रकम सबै कम्पनीलाई बराबार भाग गरिन्छ । र, ३१ प्रतिशत रकम कम्पनीले कारोबार गरेको आधारमा बाँडफाँट गरिन्छ । आव २०८२/०८३ मा ८५.५० प्रतिशत सबै कम्पनीलाई बराबर र १४.५० प्रतिशत कम्पनीको कारोबार अनुसार बाँडफाँट हुन्छ । आव ०८३/०८४ मा भने ९९.९० प्रतिशत सबै कम्पनीलाई बराबर र ०.१० प्रतिशत रकम गत आर्थिक वर्षमा यस पोलिसि जारी गर्ने १० कम्पनीलाई बराबार भाग गरिन्छ । निर्देशन अनुसार १५ कम्पनीले उक्त भाग पाउने छन् । हाल नेपालमा ३ लघु सहित १७ जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये विदेशिक जीवन बीमक द्वय मेटलाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । गत साउन महिनाको १ गते देखिको व्यवसाय नै पुल प्रणालीमा लागु हुने उल्लेख छ ।
दिनभर कलेज, राति अभ्यासपछि बनिन् पलेशा ऐतिहासिक ओलम्पियन
काठमाडौं । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, ‘दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।’ सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन । पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् । सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए । उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए । पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन् । नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो । नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो । त्यसैगरी पलेशालाई आज काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे । महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ । आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए । पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर ¥याली टुङ्गिएको थियो । पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित हुन पुगिन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन् । गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् ।
सहकारी क्षेत्रको कडा नियमन गर्न खोज्दैछौं : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको र अब प्रभावकारी नियमनका लागि पनि काम गरिरहेको बताएका हुन् । मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषदमा लिँदैछौं,’ उनले भने । मन्त्री अधिकारीले सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताए । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । ‘अर्थतन्त्रको तीन खम्बा मध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्छ’, उनले भने, ‘अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ । सहकारीप्रति अहिले भ्रम फैलाइएको छ, त्यसलाई हामीले चिर्नुपर्ने छ ।’ प्छिल्लो समय जनमानसमा सबै सहकारी खराब छन् भन्ने हल्ला र भ्रम फैलाइएको मन्त्री अधिकारीको भनाइ छ । ‘सहकारीमा एकै प्रकृतिका मानिस छैनन् । कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्’, सबैको स्वार्थ एउटै छैन,’ मन्त्री अधिकारीले भने । यस्तै, कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए । सहकारीका विषयगत संघ÷संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ । ‘सहकारी क्षेत्र नै संवेदनशील अवस्थामा छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनु पर्छ,’ उनले भने, ‘ऐन नियम विपरित काम भएका भए पत्रकारले बाहिर ल्याउनुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका विषय बाहिर ल्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले पत्रकारलाई सत्यलाई सत्य र असत्यलाई असत्यका भनेर समाचार सामग्री सम्प्रेष गर्न पनि आग्रह गरिन् । कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारी अभियानबाट केही कमीकमजोरी भएको बताउँदै अब यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले सरकार, अभियान र सञ्चार क्षेत्रले सहकार्य गरर अगाडि बढ्नुपर्ने धारणा राखिन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी क्षेत्रमा कलम चलाउने सिमित पत्रकारहरूको प्रयासबाट स्थापना भएको सीजेएनमा वर्सेनि सदस्यहरू बढ्दै गइरहेको बताउँदै संस्थाले गर्ने गतिविधिमा पनि गुणात्मक विकास र विस्तार हुँदै गएको बताए । संस्थाले विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यक्रम, पत्रकारिता तालिम, समसामयिक विषयवस्तुमाथिको छलफल लगायत कार्यक्रमहरू आयोजना गरेर सदस्यको कलम तिखार्ने काम सीजेएनले गरिरहेको उनको भनाइ छ । यस्तै, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईंले सहकारी पत्रकार समाजले सहकारी क्षेत्रमा भएका विकृति तथा विसंगतिमा कलम चलाउन आफ्ना सदस्यलाई उत्प्रेरि गराएर ठूलो योगदान गरेको बताए । आगामी दिनमा पनि यो क्षेत्रलाई व्यवस्थित बनाउन अझ सशक्त भूमिका खेल्नुपर्ने उनको भनाइ छ । कार्यक्रमका सभापति तथा सीजेएनका अध्यक्ष काजी श्रेष्ठले वि.सं. २०६८ साल भाद्र १९ गते स्थापित सीजेएन आज एउटा परपक्व र परिचित संस्थाका रूपमा स्थापित रहेको जानकारी गराए । उनले आफ्ना सदस्यहरूको सिप विकास तथा क्षमता अभिवृद्धि गर्दै सहकारीलाई एउटा प्रमुख बिटका रूपमा स्थापित गराउनका लागि संस्थाले ठूलो योगदान र भूमिका खेल्दै आएको धारणा राखे । कार्यक्रममा समाजले सहकारीको पुरुत्थान विषयमा सीजेएन स्मारिका पनि विमोचन गरेको छ । समाजले आफ्नो १४औं स्थापना दिवसको अवसरमा ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ अनलाइन खबरका पत्रकार विजय पराजुलीलाई प्रदान गरेको छ । पराजुलीले २५ हजार रुपैयाँ राशीको पुरस्कार पाएका छन् । यस्तै, समाजको १४औं स्थापना दिवसमा संस्थापक सम्मानबाट पत्रकार मदन कोइराला सम्मानित भएका छन् । कोइराला डिसी नेपालमा आवद्ध छन् । कार्यक्रमको सञ्चालन सचिव सन्तोष रोकायाले गरेका थिए भने कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष अर्जुन खतिवडाले गरेका थिए ।
धितोका गाडीले भरिन थाले बैंक, थुपार्न जग्गा खोज्दै
काठमाडौं । बुधबार जग्गा भाडामा चाहियो भन्दै महालक्ष्मी विकास बैंकले एक सूचना जारी गर्याे । केही संख्यामा सवारी साधन पार्किङ्ग तथा अन्य प्रयोजनको लागि ३ रोपनीसम्म क्षेत्रफल भएको जग्गा आवश्यक रहेको सूचनामा उल्लेख छ । भाडामा लिन चाहेको जग्गा रिङ्गरोडबाट ५ किलोमिटरसम्म टाढा र ५ वर्षसम्म लिजमा लिने बैंकले सूचनामार्फत् जानकारी गराएको छ । कम्पाउण्ड तथा सेड भएको जग्गालाई विशेष प्राथमिकतामा राखिने विषय सूचनामा उल्लेख छ । बैंकको सूचना सामान्य छ । तर, यसभित्रको अन्तर्य भने गम्भीर छ । बैंकहरूले कर्जा असुलीमा भोगिरहेको समस्यालाई यो सूचनाले उजागर गरेको छ । यस्तै, केही दिनअघि मात्रै एनआईसी एशिया बैंकले गैरबैंकिङ सम्पत्ति बेच्न वेबसाइट नै सञ्चालनमा ल्यायो । अनलाइन पोर्टलबाटै बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैर बैंकिङ एवम् धितो लिलाम तथा बिक्री गर्ने भन्दै बैंकले सो वेबसाइट सञ्चालनमा ल्यायो । बैंकहरू अहिले धितो बिक्री हुन नसकेर कत्तिसम्मको समस्या भोगिरहेका छन् भन्ने विषय यी दुई विषयले प्रष्ट पार्छ । पछिल्लो समय दैनिक पत्रपत्रिका हेर्दा धितो लिलामीका सूचनाले भरिभराउ देखिन्छन् । तर, बैंकहरूले बिक्रीमा राखेको धितो सहजै बिक्री हुन छाडेको बैंकरहरू गुनासो गर्छन् । धितो लिलामी नहुँदा बैंकहरूले आफैं सकार्नु पर्ने बाध्यता छ । यतिबेला बैंकहरू कोर बैंकिङ भन्दा पनि गैर बैंकिङ कारोबारमा केन्द्रीत छन् । घरजग्गा तथा सवारी साधन कारोबारी बनेका छन् बैंक तथा वित्तीय संस्थाहरू । महालक्ष्मी विकास बैंकले धितो लिलामीमा बिक्री नभएका सम्पत्ति थुपार्न नै जग्गा भाडामा लिन खोजेको हो । सामान्य सेवा विभाग प्रमुख राजेश लामिछाने कर्जा असुली नहुँदा बैंकले सकारेको सम्पत्ति थुपार्न जग्गा भाडामा लिन खोजेको बताउँछन् । ‘बैंकमा कर्जा असुलीसँग सम्बन्धित गाडीहरू छन्, धितोमा राखेका गाडीको कर्जाको सावाँ ब्याज उठ्न सकेको छैन, त्यस कारण बैंकले आफैं सकारेको हो, धितोका सवारी साधन र बैंककै पुराना गाडीहरू राख्नका लागि हामीले जग्गा खोजेका हौं,’ उनले विकासन्युजसँग भने । उनका अनुसार कुनै ग्राहकले कर्जा दिएन भने उसका गाडीहरू ल्याएर राख्ने हो । पैसा असुलपछि मात्रै गाडी फिर्ता दिने गरेको उनको भनाइ छ । ‘पार्किङ्गको लागि २/३ रोपनी जग्गा केही पनि होइन, काठमाडौं भित्रै राख्दा धेरै महँगो पर्ने भएकाले टाढा राख्न खोजिएको हो, बैंकले त्यो लागत पनि बियर गर्न सक्नुपर्छ, रिङ्ग रोडको नजिकै भयो भने सजिलो हुन्छ,’ उनले भने, ‘अहिले हामीले कुनै ठाउँमा सेयरिङमा गाडी पार्किङ्गमा राखेका छौं, अब आफ्नै पार्किङ्ग बनाउनुपर्छ कि भनेर जग्गा भाडामा लिन लागेको हो, आफ्नै भएपछि सुरक्षित पनि हुन्छ ।’ बैंकका कर्जा असुली विभाग प्रमुख रघुनाथ कोइराला धितो लिलाम नभएका सवारी पार्किङ्गमा राख्न जग्गा भाडामा लिन खोजेको बताउँछन् । बैंकसँग यस्ता सवारी साधन १२ वटा छन् । जसमध्ये केही ठूला सवारी (ट्रक) साधन पनि छन् । बैंकले विगतमा प्रवाह गरेको बिनाधितो हायर पर्चेज कर्जामा समस्या देखिएको उनको भनाइ छ । हायर पर्चेज कर्जामा गाडी नै धितो हुने गरेकाे र अन्य धितो नहुँदा डिफल्ट हुने गरेको उनको भनाइ छ । ‘अन्य धितो छैन, सवारी साधन पुरानो भएपछि कर्जा तिर्न मान्दैनन्, यदि अन्य धितो भए ऋणीलाई कर्जा तिर्नुपर्ने बाध्यता हुन्थ्यो र डर हुन्थ्यो । तर, गाडी मात्रै हुँदा कर्जा नै डिफल्ट हुन थाल्यो,’ उनले भने, ‘अन्य धितो भईदिए बैंकले नियन्त्रणमा लिएर असुलीको लागि प्रयास गर्थ्याे ।’ उनका अनुसार अब ती सवारी साधन लिलामीमा बिक्री गरेर असुल गरिने र अपुग रकम कानूनी प्रक्रियाका माध्यमबाट उठाइनेछ । ‘ऋणीहरू नै सम्पर्कमा नै छैनन्, समस्या परेको जानकारी गराए बैंकले सुविधा दिन सक्थ्यो । तर, ऋणी नै भेटिँदैनन्,’ उनले भने । बैंकसँग २/४ करोड रुपैयाँसम्मको यस्तो सम्पत्ति रहेको उनले बताए । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल कर्जा डिफल्ट विगतको तुलनामा बढेको बताउँछन् । कर्जा डिफल्ट हुँदा बैंकहरूको गैर बैंकिङ सम्पत्तिमा समेत वृद्धि भएको उनको भनाइ छ । ‘कर्जा डिफल्ट हुँदा समग्र आर्थिक प्रणालीमा नै प्रभाव पर्छ, कुनै समस्या काबु बाहिरका पनि हुन्छन्, ती समस्याले बैंकिङ क्षेत्रमा पनि दबाब पार्न सक्छ,’ उनले भने, ‘केन्द्रीय बैंकले यस्तो सम्पत्ति बढ्नुलाई राम्रो मान्दैन । यसलाई तत्काल घटाउन पनि मिल्दैन । किनभने अर्थतन्त्र नै सुस्ताएको हुन्छ । अर्थतन्त्र सुधारमा आएपछि आफैँ सुधार हुन्छन् ।’ राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, कसरी सञ्चालन गर्ने भन्ने विषयमा कुनै प्रक्रिया अघि बढेको छैन ।
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आबद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् । यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए । ‘भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्’, उनले भने । मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिए । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनको भनाइ छ । पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताए । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उनले जानकारी दिए । पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताए । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्ने उनले जानकारी दिए । आफूहरूले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताए । ‘हामीहरूले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ’ उनले भने, ‘भेडा पालेर पहिले मासु बेच्थ्यौँ। अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ।’ निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरू सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताए । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उनको भनाइ छ । मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोखे । उनले भने, ‘पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताए । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उनले जानकारी दिए । किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताए ।
कुमारी बैंकका ग्राहकले नेत्रालय सुपर इसपेसियालिटी आइ केयरमा छुट पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता भएको छ । कुमारी बैंक र नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै, उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।
मुस्ताङ र हुम्ला बाहेक सबै जिल्लामा फैलियो डेंगी, ६ हजार बढी संक्रमित
काठमाडौं । मुस्ताङ र हुम्ला बाहेक अरु सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला बाहेक अन्य सबै ठाउँमा डेंगी संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलदा संक्रमितहुनेको संख्या ६ हजार ८ सय ३१ पुगेको छ । महाशाखाका अनुसार हालसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा डेंगीका बिरामी देखिएका छन् । गण्डकीमा डेंगी पुष्टि हुनेको संख्या ३हजार २सय २९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै ११४९ जनामा डेंगी पुष्टि भएको छ। तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै बागमती प्रदेशमा १७२३ मा डेंगी देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगी संक्रमण देखिएको छ ।