सीट भन्दा बढि यात्रु नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो । रिट निवेदकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरित सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा सवार नचढाउन नराख्न तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित नेपाल कानुनको प्रभाकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनिय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुदा सो लाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो । त्यसैगरी सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन र चाँडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग गरिएको थियो । यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए भने वरिष्ट अधिवक्ता लुईटेल र अधिवक्ता वाग्लले वहस गरेका थिए । सवारी तथा यातायात व्यवस्था ऐनमा स्पष्ट व्यवस्था भएपनि सार्वजनिक यातायात सञ्चालकहरुले पालना नगरेको नियमन निकायहरुले कार्यान्वयमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौं, महानिर्देशक यातायात व्यवस्था विभाग मिनभवन काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं, काठमाडौं महानगर पालिका कमलादी काठमाडौं, ललितपुर महानगरपालिका पुल्चोक ललितपुर र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई विपक्षी बनाएको सो रिटमा निवेकको माग बमोजिम नै सर्वोच्चले अन्तिरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ–निवेदकले अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा निवेदकले निवेदनमा उठाएका धेरै विषयहरु भएको र अधिकांश विषयमा लिखित जवाफ पेस भई प्रस्तुत निवेदनको अन्तिम सुनुवाई हुँदा सम्वोधन हुने प्रकृतिको देखिदा हाललाई सर्वोच्च अदालत नियामावली २०७४ को नियम ४९९२० को ९ख० बमोजिम देहायका विषयहरुमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ, सो पालना गर्नु,गराउनु भन्दै हाललाई पाँच वटा विषयमा आदेश भएको हो । पहिलो नम्बरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु र सवारी भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउनु । त्यसैगरी उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ । त्यस्तै चाँडवाडको समय नजिकिै गरेको अवस्थामा यात्रु बाहक सवारीमा यातायातको चाप अत्याधिक बढ्न गई सडह दुर्घटना समेत बढ्न सक्न जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवम् निगरानीको व्यवस्था मिलाउन विपक्षीका नाममा आदेश भएको छ ।
दशैं र तिहारमा सिप्रदीले ल्यायो ‘उपहारै उपहार’ कार्यक्रम
काठमाडौं । सिप्रदी अटोपार्टसले दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक गरेको छ । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्क्र्याच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ । यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरूमा लागु गरिएको कम्पनीले बताएको छ ।
आर्थिक मन्दीको प्रभाव : मकवानपुरमा ६ सय उद्योग बन्द
फाइल फोटो बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए । मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए । आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो । सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ । नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार नौ सय १० रुपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले बताए । रासस
दमौली अस्पताललाई उपकरण सहयोग
दमौली । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैली तथा स्त्रीरोग र हड्डीको शल्यक्रिया गर्ने तयारी गरेको उनले बताए ।
उपत्यकाबाट हराएका ९६ वटा मोटरसाइकल फिर्ता, एउटै नम्बरका ५ वटा
काठमाडौं । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । यस्तै, चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार ५ वटा मोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको थियो । उक्त चोरीमा सङ्लग्न व्यक्ति पनि पक्राउ परेका छन् । कार्यालयले बुधबार मात्रै २२ वटा हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको प्रहरी नायब महानिरीक्षक बोहराले बताए । गत वैशाख १५ गतेदेखि भदौ २४ गतेसम्म परेका निवेदनका आधारमा खोजतलास गर्दा ती मोटरसाइकल फेला परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलङ्की, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेवीलगायत स्थानबाट हराएका उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी चोरी तथा हराउनबाट रोक्न सकिने भन्दै सुरक्षा विधि अपनाउन प्रवक्ता खड्काले सबैमा अनुरोध गरे । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
सरकारले नागरिकमैत्री सेवा प्रवाह दिन्छ : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताए । मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे । मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताए । ‘विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पु¥याउनु आवश्यक छ,’ उनले भने, ‘देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ ।’ सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ । ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । ‘कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको,’ उनले भने ।
विदेशी मुद्राको मूल्य उच्च घटबढ, कुन देशको मुद्रा भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४८.१८ रुपैयाँ र बिक्रीदर १४८.८४ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ कायम छ । हिजो अमेरिकी डलर एकको खरिददर १३४.३४ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ, एक युरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ तोकेको थियो । यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.४५ रुपैयाँ र बिक्रीदर १५९.१६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.३९ रुपैयाँ र बिक्रीदर ८९.७९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१७ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.९७ रुपैयाँ र बिक्रीदर १०३.४३ रुपैयाँ, जापानिज येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ कायम छ । हिजो फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.१७ रुपैयाँ र बिक्रीदर १५८.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८१ रुपैयाँ र बिक्रीदर ९९.२५ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानिज येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९६ रुपैयाँ र बिक्रीदर ३१.१० रुपैयाँ तोकिएको छ । हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ तोकिएको थियो ।
बीमाको पहुँच १.११ प्रतिशतले घट्यो, कूल जनसङ्ख्याको ४३.२७ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा १.११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४.३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा उक्त पहुँचमा सङ्कुचन आउँदै कूल जनसङ्ख्याको ४३.२७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १.११ प्रतिशतले बीमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए । वीरगञ्जमा आयोजित बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रममा निर्देशक सुवेदीले अघिल्लो आवको तुलनामा गत आवमा बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कट प्रमुख्य कारण रहेको बताए । ‘गत आवमा लघुवित्त र सहकारी क्षेत्रमा धेरै सङ्कट देखापर्याे । यसले लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बीमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको देखिन्छ,’ उनले भने । प्राधिकरणका निर्देशक सुवेदीले आव २०७९/८० को तुलनामा आव गत आवमा कूल जीवनबीमा शुल्कमा भने वृद्धि भएको जानकारी दिए । ‘आव २०७९/८० मा जीवनबीमा शुल्क १ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ सङ्कलन भएको थियो । गत आवमा १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ सङ्कलन भएको छ, अघिल्लो आवको तुलनामा गत आवमा कूल निर्जीवन बीमा शुल्क पनि २.८० प्रतिशतले बढेको छ,’ उनले भने । सुवेदीले कूल ग्राहस्थ उत्पादनमा कूल बीमा शुल्कको अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको बताए । उनकाअनुसार आव २०७९/८० मा कूल ग्राहस्थ उत्पादनमा तीन दशमलव ४२ प्रतिशत हिस्सा ओगटेको थियो भने आव २०८०/८१ मा ३.४७ प्रतिशत हिस्सा ओगटेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशका अधिकांश भूभाग बाढीपहिरो र आगजनीको उच्च जोखिममा रहेकाले प्रदेश सरकारले सबै जनताको एकमुष्ट जीवनबीमा गर्नुपर्ने धारणा व्यक्त गरे । ‘कर्णाली प्रदेश सरकार आफैँले प्रदेशका १३ लाख नागरिकको बीमा गरिदिएको छ । मधेश प्रदेश सरकारले पनि यहाँका नागरिकको बीमातर्फ ध्यान दिन जरुरी छ, मधेश प्रदेशका धेरै नागरिक गरिबीको रेखामुनि रहेकाले पनि बीमा गर्न आवश्यक देखिन्छ,’ उनले भने । अध्यक्ष सिलवालले सीमावर्ती जिल्लाका सर्वसाधारणले भारतीय कम्पनीमा बीमा गर्न नहुने बताए । ‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विभिन्न लोभ देखाएर भारतीय कम्पनीमा बीमा गर्ने गलत परिपाटीको अन्त्य हुन जरुरी छ, त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले बीमाको व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने । नेपाली बीमा कम्पनीमा बीमा गर्ने विषयमा प्राधिकरण, स्थानीय र प्रदेश सरकारबीच आवश्यक सहजीकरण र समन्वय गरी योजना बनाउनुपर्नेमा अध्यक्ष सिलवालले जोड दिए । भारतीय कम्पनीमा बीमा गर्ने काम नगर्न स्थानीय सबैलाई उनले अनुरोध गरे ।