विकासन्युज

जनतालाई सेवा दिँदा बर्दी र पद नहेर्ने, चाडपर्वमा यात्रुहरूलाई घरसम्मै पुर्‍याउने

काठमाडौं । नेपाल सरकारका सचिव एकनारायण अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्य’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चाडपर्वको समयमा राजनीतिक झाेला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस्, पद र बर्दी पनि बिर्सिदिनुहोस्,’ उनी भन्छन्, ‘सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।’ चाडपर्वको समयमा कुनै पनि बहानामा मिशावट भएको वा मूल्यवृद्धि भएको कुरा आउन नहुने सचिव अर्यालले बताए । ‘कुनै पनि बहानामा मिशावट भएको, मूल्यवृद्धि भएको भन्ने कुरा जनताको गुनासो आउनु भएन,’ उनी भन्छन्, ‘कसैबाट कालोबजारी भइरहेको छ भन्ने कुरा आउनु भएन । त्यहीअनुसारले काम गर्नुपर्‍याे सबैजनाले ।’ जनताको हकहितमा काम गर्दा कुनै समस्या भए आफूलाई सम्पर्क गर्नसमेत सचिव अर्यालले  भनेका छन् । ‘नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्‍याैं भन्ने कुरा हेर्छौं । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ,’  उनी भन्छन्, ‘निर्धक भएर जनताको सेवामा खटिनुपर्‍याे, जनताको सेवामा खटिँदा कुनै समस्या आए मलाई सम्पर्क गर्नुस् त्यसको समाधान म गरौंला ।’ त्यस्तै, कार्यक्रममा यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वलाई ध्यानमा राख्दै असोज महिनाभर यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राखेर सेवा दिन व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उनले सो समयमा धेरै यात्रुहरूलाई घरसम्म पुर्‍याउनुपर्ने जिम्मेवारी भएकोले अन्य नम्बर प्लेटका सवारीसाधनभन्दा पनि कालो नम्बर प्लेटका गाडी अर्थात् यात्रुबाहक सवारीसाधनलाई प्राथमिकता दिन उनले आग्रह गरेका हुन् । उनले चाडपर्वको समयमा यात्रा गर्दा टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गरेका छन् ।  चार्डपर्वको समयमा हुनसक्ने दुर्घटनाका घटनाहरू नियन्त्रण गर्नका लागि पनि टिकट गरेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन् । ‘चाडपर्वको समयमा यात्रा गर्दा अनलाइन होस् या जुनसुकै माध्यमबाट होस्, टिकट काटेर मात्रै यात्रा गर्न म सबैमा अनुरोध गर्न चाहन्छु,’ उनी भन्छन्, ‘टिकट काटेर मात्रै यात्रा गर्नाले चाडपर्वको समयमा हुने दुर्घटनाहरूबाट समेत जोगिन सकिन्छ ।’ त्यस्तै, नाप तौल विभागकी महानिर्देशक ज्योति जोशीले चाडपर्वको समयमा कति कतै नापजाेख वा ताैलमा समस्या भएको देखेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेकी छिन् । उनी भन्छिन्, ‘हामीले अनुगमन लगायतको कार्य पहिलेबाट नै गर्दै आएका छौं । त्यसमा पनि चाडपर्वमा विशेष प्राथमिकताका साथ अनुगमन गरिरहेका हुन्छौं । त्यसैले यदि कसैले उपभोक्ता ठगिने कार्य गरेको थाहा पाउनुभयो भने हामीलाई तत्कालै जानकारी गराइदिनुहुन म आग्रह गर्दछु ।’

लगानी बोर्डको सीईओमा ज्ञवाली, यस्ता छन् मन्त्रिपरिषदका १७ निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको जानकारी दिएका हुन् । उनका अनुसार सरकारले २०८१ साउन २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने वर्ल्ड हेल्थ समिटर २०८१ को असोज २९ देखि कार्तिक १ गतेसम्म इटालीको रोममा आयोजना हुने ह्याण्ड इन ह्याण्ड एचआईएस इन्भेष्टमेण्ट फोरममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गरेको छ । त्यस्तै, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई २०८१ असोज ८ देखि ११ सम्म चनिको बेइजिङमा आयोजना हुने फिप्थ प्लेजनरी मिटिङ अफ दि ग्लोवल अप्रेशनल नेटवर्क अफ एनटी करप्शन ल इन्फर्समेन्ट अथोरिटीज नेटवर्कमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ । त्यस्तै, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट रिजिलेण्ट हाइ भ्याल्यु एग्रिकल्चरल प्रोग्रामका लागि प्राप्त हुने ५३.४ मिलियन युएस डलर (करिव ९ अर्ब ४५ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिने निर्णय भएकाे छ ।  दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एशियाली विकास बैंकसमेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिको लागि नेपाल सरकारको तर्फबाट एशियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । त्यस्तै, सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन कार्यालय लगायतका आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को लागि २१० अस्थायी दरबन्दी स्वीकृत गरेको छ । नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.३ क्षेत्रफल ५–१४–०–० रोपनी सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई उपयोग गर्न स्वीकृति दिने, हुलाकी राजमार्ग चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने, गल्छी त्रिशुली मैलुङ्ग स्याफ्रुवेसी रसुवागढी सडकको स्याफ्रुवेसी बजार खण्डमा ११ मिटर चौडाईमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनासमेतका आयोजना÷योजनाहरूमा ३५१ राजपत्राङ्कित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए ।

ऋणले थिचिएको नेपाल वायुसेवा निगम, ऋण तिर्न फेरि ऋण लिँदै

काठमाडौं । पुरानो ऋण तिर्न नसकेको र ऋणमा थिचिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले फेरि ऋण लिने भएको छ । निगमले एक सूचना जारी गर्दै ऋण तिर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने जनाएको छ । वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्दा लिएको ५५ अर्ब रुपैयाँ ऋण अहिलेसम्म तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ गरी कुल ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । तर, समयमै किस्ता बुझाउन नसकेपछि दायित्व बढेर ५५ अर्ब रुपैयाँ पुगेको हो । निगमले उक्त ऋण तिर्न, नयाँ जहाज खरिद र जहाज मर्मत गर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋणको खोजीमा दौडधूप गरिरहेको छ । न्यून ब्याजदरमा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाबाट निगमले ऋण लिन खोजेको हो । यसअघि कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट महँगो ब्याजदरमा ऋण लिएको थियो । उक्त ऋण चुक्ता गर्ने र बाँकी रकम जहाज खरिद र मर्मतमा खर्च गर्ने योजना रहेको निगमले जनाएको छ । निगमले यसअघि नै उक्त ऋणको खोजी गरेको थियो । तर, एउटा कम्पनीको मात्रै आवेदन परेको र सो कम्पनीले ऋण दिने टुंगो नभएपछि पुनः आवेदन आह्वान गरिएको निगमको भनाइ छ । निगमलाई ऋण दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले ४५ दिनभित्र पेस गर्नुपर्नेछ ।

एक महिनामै सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ । सलिकाे निर्जीव बीमा व्यवसाय गर्ने कम्पनी हाे । यसले  नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेकाे छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक-आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो । सलिकोको हाल देशभर १२० वटाभन्दा धेरै शाखा कार्यालयहरू रहेका छन् ।

बजाजको दुई पांग्रे सवारी किन्दा समृद्धि फाइनान्सका ग्राहकलाई छुट

काठमाडाैं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झाैताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीकाे दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् । साथै दुई पांग्रे सवारीसाधनका पार्टपुर्जा र हेलमेटमा १२ % छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा नि:शुल्क सर्भिसिङ पनि गरिने जनाइएकाे छ । फाइनान्सका ग्राहकहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्नछ । यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिने फाइनान्सले जनाएकाे छ । समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू नि:शुल्क प्रदान गरिरहेको छ ।

नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश घोषणा, प्रिमियममा एफपीओ जारी गर्ने

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गते ग ३३औँ वार्षिक साधारण सभा ललितपुरमा बोलाएको छ । कम्पनीको सभाले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता भएकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर भएको हाे । सम्झाैतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर माेह्युन कोङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र मुगु अस्पतालका स्वास्थ्य व्यवस्थापक डा. निर्मल नगरकोटीले हस्ताक्षर गरेका थए । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पताल कोइकाको अनुदान सहयोगमा स्थापना भएका हुन् । सम्झौतापश्चात मुगु अस्पतालका बिरामीहरूले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार पाउनेछन् । दुवै अस्पतालहरूले बिरामी व्यवस्थापनलाई व्यवस्थित बनाउने जनाइएकाे छ । कोइकाका कन्ट्री डाइरेक्टर कोङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीचको साझेदारीले स्वास्थ्य सेवा क्षेत्रमा भविष्यमा हुने सहकार्यका लागि उदाहरण प्रस्तुत गर्ने बताए । कार्यक्रममा मध्यपुर थिमि नगरपालकाका मेयर श्री सुरेन्द्र श्रेष्ठले समुदायलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । नेपाल कोरिया मैत्री नगरपालका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशनले बिरामीहरूलाई सम्भावित स्वास्थ्य सेवा प्रदान गर्न तत्पर रहेको बताए । याे पनि पढ्नूहाेस्: कोइका नेपाल कार्यालयद्वारा ‘फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना याे पनि पढ्नूहाेस्: कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

एक्शन प्लान बनाइ बजार अनुगमन गर्न मुख्यसचिव अर्यालले दिए निर्देशन

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए । स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीस्को दायरामा ल्याउन आग्रह गरे । उनले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गरे । जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताए । प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रस्तुत गर्न पनि आग्रह गरे । सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिए । ‘तपाईंहरूले बजारको नियमित निरीक्षण गर्नुस् । पर्फमेन्स दिनुपर्छ । कति जना कारबाही गर्नुभयो । त्यो म हेर्न चाहन्छु’, उनले भने । जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरूकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गरे ।