विकासन्युज

पोखरा विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरू लागू गर्दै

काठमाडौं । पोखरा विश्वविद्यालयले व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरू लागु गर्ने भएको छ । व्यवस्थापन अध्ययन संकाय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूमध्ये स्नातक तहको बीबीए, बीबीए (फाइनान्स) र बीबीए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए ग्लोबल बिजनेसका पाठ्यक्रमहरू यसै शैक्षिक सत्र २०२४ बाट लागू हुने गरी नयाँ परिमार्जित र परिष्कृत गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ । बीएचएम र बिसिएस आइटी कार्यक्रमहरूमा भने शैक्षिक सत्र २०२३  देखि नै पाठ्यक्रम लागू भई पठनपाठन भइरहेका छन्। अहिलेको बद्लिँदो विश्व परिवेश , आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायीहरूका लागि दक्ष मानव संशाधन उत्पादन गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम सुरु गरेको विश्वविद्यालयले जनाएको छ । हाल लागू गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेस्टर प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकल कोर्षहरू, प्रोजेक्ट वर्क र कम्युनिटी इङ्गेजमेन्ट प्रोजेक्टजस्ता कोर्सहरू समावेश गरिएका छन्। अन्तिम आठौं सेमेस्टरमा इन्टर्नसिप राखिएको छ, सो सेमेस्टरमा कलेजमा हाजिर हुनेगरी कुनै पनि कोर्ष नराखेको जनाइएको छ । यसरी कलेज आउनु नपर्ने हुँदा सात सेमेस्टरपछि विद्यार्थीहरू इन्टर्नसिपसहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्नेछन्।  विद्यार्थीहरूका लागि याे अति नै उपयोगी, रोजगारमुखी र व्यवसायमुखी हुने विश्वविद्यालयको विश्वास छ । नयाँ पाठ्यक्रममा बीबीए – बीआई कार्यक्रमलाई बीबीए (फाइनान्स) नामकरण गरिएको छ । यस कार्यक्रममा फाइनान्समा विशिष्टीकरण कोर्षसँगै बैंकिङ बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजा मध्ये कुनै दुईवटा विधामा विशिष्टीकरण गर्न सकिनेछ । स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू एमबीए, एमबीए फाइनान्स र एमबीए ग्लोबल बिजनेसमा बजारको आवश्यकताअनुसारका नयाँ कोर्सहरू राखिएको हो ।  यी कार्यक्रमहरू अध्ययनको सिलसिलामा इन्डस्ट्री अथवा रिसर्चमध्ये एउटा रोज्न पाइनेछ । जुन नेपालको व्यवस्थापन शिक्षामा नयाँ प्रयोग हो । यसरी स्नातकोत्तर तहमा पनि इन्टर्नसिपलाई विशेष प्राथमिकता दिइएको छ ।  पोखरा विश्वविद्यालयले नेपालमै व्यवस्थापन संकायअन्तर्गत मात्र सेमेस्टर  प्रणालीमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए ग्लोबल बिजनेस कार्यक्रमहरू अध्ययन अध्यापन गराउने गरेको दाबी गरेको छ ।  

चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

काठमाडौं । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । जीवाश्म इन्धन (डिजेल पेट्रोल) मा आधारित अटोमोबाइल निर्माताहरूले विश्वको सबैभन्दा ठूलो कार बजारमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेका छन् । जहाँ तीव्र रूपमा नयाँ ऊर्जा सवारीसाधनहरू देशकाे आधाभन्दा बढी कार बिक्री कब्जा गर्ने ध्येयमा छन् । यदि विदेशी ब्रान्डहरूले ‘छिट्टै चीनको बजारमा प्रतिस्पर्धात्मक स्वच्छ ऊर्जा सवारीसाधनहरू ल्याउन सकेनन् भने कुनै पनि बजार हिस्सा बचाउनको लागि सम्भवतः स्थानीय कम्पनीसँगको साझेदारी नै एकमात्र उपाय हुनेछ,’ सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक टु लेले भने । तर यो सम्भवतः धेरै विदेशी ब्रान्डहरूका लागि निकै ढिला भएको उनी बताउँछन् । सन् २०१९ देखि २०२३ को अवधिमा अमेरिकी अटो निर्माता जनरल मोटर्स, जर्मनीको फोक्सवागन र जापानको निसानले चीनमा आफ्नो आम्दानी घटेको देखेका छन् । सन् २०२३ मा दक्षिण कोरियाको कियाले चीनमा २०२० भन्दा ३० प्रतिशतभन्दा कम बिक्री रिपोर्ट गरेकाे छ । यसको तुलनामा टेस्लाले २०१९ देखि २०२३ सम्म चीनको बिक्रीमा छ गुना वृद्धि भएको जनाएकाे छ । लगानीकर्ताहरूको चिन्ता बढ्दै जाँदा व्यवस्थापनले योजनाहरूमा विचार गरिरहेका छन् । जीएमकी सीईओ मेरी बर्राले चीनमा नाफा सुधार गर्न ‘पुनर्संरचना’को विषयमा सेयरधनी र संयुक्त उद्यमका बोर्ड सदस्यहरूसँग बैठकहरू तय गरिएको बताइन् । एक समय राजस्वको हिसाबले जीएम शीर्ष स्थानमा थियो । अमेरिकी, जर्मन र अन्य विदेशी अटोमोबाइल कम्पनीहरू जो दशकौं अगाडि चीनमा प्रवेश गरेका थिए, उनीहरू स्थानीय कम्पनीहरूसँग संयुक्त उद्यमका लागि साझेदारी हुन बाध्य पारिएका थिए । सन् २०२२ मा मात्र चिनियाँ अधिकारीहरूले विदेशी कार कम्पनीहरूलाई उनीहरूको स्थानीय उत्पादनको पूर्ण स्वामित्व लिन अनुमति दिएका थिए । तर यो एक आकर्षक बजार थियाे, जहाँ २०२२ सम्म पनि जीएम र फोक्सवागनले बजार हिस्साको शीर्ष दुई स्थान कब्जा गरेका थिए । त्यसपछि चीनको बीवाईडी र गीलीले क्रमशः बजारको पहिलो र दोस्रो स्थान लिएको चीनको यात्रु कार संघको अक्टोबरको तथ्यांकले देखाउँछ । ‘पश्चिमी [अटोमोबाइल निर्माता]हरू यस तथ्यप्रति जागरुक भैरहेका छन् कि उनीहरू अब चुपचाप बसेर आफ्ना बजार स्थिति खस्किँदै गएको हेर्न सक्दैनन् । उनीहरूले केही न केही गर्नुपर्छ, ठूलो केही गर्नु पर्छ,’ हङकङमा आधारित मर्जर र अधिग्रहण कानुनी विशेषज्ञ डेविड नर्मनले भने । गत वर्ष उनले नेदरल्यान्ड्सको स्टेललान्टिसको तर्फबाट चिनियाँ विद्युतीय कार कम्पनी लिपमोटरको २० प्रतिशत हिस्सामा झन्डै १.५९ अर्ब डलरको खरिदमा प्रतिनिधित्व गरेका थिए । ‘भविष्यको सम्भावना हेर्ने हो भने मलाई लाग्छ- थप साझेदारीहरू पक्कै पनि देखिनेछ,’ नर्मनले भने, ‘चिनियाँ नयाँ ऊर्जा सवारीसाधन कम्पनीहरूको प्राविधिक अग्रता उल्लेखनीय छ र अझ बढिरहेको छ ।’ चिनियाँ विद्युतीय कार कम्पनीहरूले तीव्र प्रतिस्पर्धी स्थानीय बजारमा टिक्न स्मार्टफोनजस्ता मनोरञ्जन डिस्प्ले, प्रोजेक्टर र ड्राइभर-सहायक प्रविधिजस्ता फिचर आफ्ना सवारीसाधनमा राखेका छन् । टेस्लाको ड्राइभर-सहायक संस्करणले अझै चीनमा पूर्ण अनुमोदन पाएको छैन, जबकि स्वदेशी कम्पनीहरूले आफ्ना संस्करणहरू विकास गरिसकेका छन् । एक्सपङ, बीवाईडी र अन्य स्थानीय कम्पनीहरूले एनभीडीया चिप प्रयोग गर्छन्, जबकि चिनियाँ दूरसञ्चार जायन्ट हुवावेले अन्य अटोमोबाइल निर्माताहरूका लागि ड्राइभर-सहायक र इन-कार मनोरञ्जन प्रणाली निर्माण गरेको छ । ‘चीनमा प्रतिस्पर्धात्मक सवारीसाधन बनाउनका लागि [विदेशी] कम्पनीहरूलाई उन्नत ड्राइभर प्रणाली चाहिन्छ, जुन केही चिनियाँ सवारीसाधनहरूमा देखिने सुविधासँग तुलनीय होस्,’ एलिक्सपार्टनर्सको एशिया अटोमोटिभ प्राक्टिसका स्टेफन डायरले भने । विदेशी अटोमोबाइल निर्माताहरूले ड्राइभर-सहायक प्रविधिका लागि चिनियाँ बजारका लागि मात्र नभइ विदेशी बजारका लागि पनि चिनियाँ कम्पनीहरूसँग साझेदारी गर्ने उनकाे अपेक्षा छ । फोक्सवागनले गत वर्ष चिनियाँ विद्युतीय कार स्टार्टअप एक्सपङमा ७०० मिलियन अमेरिकी डलर लगानी गरिसकेको छ, जसले चीनमा २०२६ सम्म वितरणका लागि मोडलहरू सिर्जना गर्नेछ । त्यसको अघिल्लो वर्ष जर्मन अटोमोबाइल निर्माताले आफ्नो कार सफ्टवेयर सहायक कम्पनी र चिनियाँ स्वचालित ड्राइभिङ चिप निर्माता होराइजन रोबोटिक्सबीच साझेदारीका लागि २.४ बिलियन युरो लगानी गर्ने योजना घोषणा ग‍रेको थियाे । उन्नत ड्राइभर-सहायक प्रविधिमा अन्य महत्त्वपूर्ण साझेदारीमा टोयोटाको गत वर्षको घोषणा पनि समावेश छ । यो साझेदारीले चिनियाँ स्वचालित ड्राइभिङ स्टार्टअप पोनी.एआईसँग कारहरूको ठूलो मात्रामा उत्पादन गर्न संयुक्त उद्यम स्थापना गर्नेछ । चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो विदेशी अटोमोबाइल निर्माताहरूले उही बजारमा आफ्नै कार वा प्रविधि बेच्ने चिनियाँ कम्पनीहरूसँग साझेदारी गरेर प्रभावकारी लाभ बनाउन सक्ने वा नसक्ने भन्नेबारे अझै अन्याैल छ । ‘स्वदेशी नयाँ ऊर्जा सवारीसाधन ब्रान्डहरू धेरै प्रतिस्पर्धात्मक छन्,’ साङ्घाईमा रहेको मर्जर र अधिग्रहण साझेदार वेङ याजुनले चिनियाँ भाषामा भने, ‘तपाईंले सबै प्रयास गर्न सक्नुहुन्छ, तर पनि केही कारमात्र बेच्न सक्नुहुन्छ ।’ चीनका अटोमोबाइल निर्माताहरूले खरिदकर्तालाई आकर्षित गर्न मूल्य घटाएका छन्, साथै उनीहरूले एकै वर्षमा धेरै नयाँ मोडलहरू सुरु गरेका छन् । जबकि राज्य स्वामित्वका कार कम्पनीहरू पनि संघर्ष गरिरहेका छन् । यसले विदेशी अटोमोबाइल निर्माताहरूले कुनै पनि स्थानीय अधिग्रहणका लागि राज्य-स्वामित्वका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अर्थ लगाउँछ । विश्लेषकहरू चिनियाँ स्टार्टअपहरूले घाटामा काम गरिरहेका भए तापनि आफूलाई बेच्न चाहने अवस्थामा नभएकाे बताउँछन् । चीनको बजारमा विदेशी अटोमोबाइल निर्माताहरू र चिनियाँ विद्युतीय कार स्टार्टअपहरूबीच अहिलेसम्मकै सबैभन्दा चर्चित साझेदारी फोक्सवागनको एक्सपङमा रहेको हिस्सादारी हो । जर्मन कम्पनीले आफ्नो बजार हिस्सा पुनःस्थापित गर्न अन्य रणनीतिहरू पनि प्रयोग गर्दैछ । अडी ब्रान्डले चिनियाँ राज्य-स्वामित्वको अटोमोबाइल निर्माता एसएआईसीसँग मिलेर चीनमा नयाँ विद्युतीय कार ब्रान्ड सुरु गरेकाे छ, जसले चारवटा रिङ लोगो हटाएर गोलाकार ठूला अक्षरमा ‘अडी’ लेखेको छ । चीनमा विदेशी अटोमोबाइल निर्माताहरूको बजार हिस्सा अर्को वर्ष घट्नेछ र केही ब्रान्डहरू देशबाट मूलतः बाहिरिने फिच रेटिङ्सका एसिया-प्रशान्त कर्पोरेट रेटिङ्सकी निर्देशक जिङ याङले बताइन् । (एजेन्सीहरूको सहयोगमा)

आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको हिमालय एअरलाइन्सको स्पष्टिकरण

काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सले यस्तो जनाएकाे हाे । काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भन्ने जनगुनासो आएसँगै हिमालय एअरलाइन्सले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको हो । एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न विभिन्न कदम अपनाएकाे पनि जनाएकाे छ । उसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै बुकिङ निलम्बन गरिसकेको जनाएकाे छ । सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकिएको हिमालय एयरलाइन्सले विज्ञप्तिमा उल्लेख गरेकाे छ । साथै ट्राभल एजेन्टहरूलाई हप्तामा कम्तीमा दुई पटक ईमेल पठाइरहेको र यदि कसैले कालोबजारी गरेमा कानुनअनुसार कारबाही गरिने पनि जनाइएकाे छ । यात्रुहरूलाई सहज बनाउन हिमालय एयरलाइन्सले २१ नोभेम्बर २०२४ देखि वाई क्लासको भाडा उच्च श्रेणीको भाडा दरमा टिकट बिक्री नगर्ने निर्णय गरिसकेकाे छ । यसैगरी, यात्रुहरूले आफूसँग अत्यधिक भाडा लिएको खण्डमा एयरलाइन्सलाई सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ । हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार

काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कूल (पीजीएस)ले नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपीएलसँग साझेदारी गरेको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्का र पीजीएसका अध्यक्ष लक्ष्मण केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । पीजीएसले बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको पीजीएसले जनाएकाे छ । पीजीएस र एनपीएल एकसाथ मिलेर नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहकार्य गर्दै नयाँ उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको जानकारी गराइएको छ । पीजीएसले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिंग र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ । एनपीएलले नेपाली क्रिकेटलाई अर्को उचाइमा पुर्‍याउने विश्वास पीजीएसले लिएको छ ।

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन् । नेकपा (एमाले) काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताए । ‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पलाई पूरा गर्न अघि बढ्नेछन् । नेपाली जनता भ्रममा पर्दैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हुन् । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ ।’’ प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौँ रुपैयाँका मालिक बनेकाहरूले आफ्नाविरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट पार्दै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए । अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताए । बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे ।

रिडी पावरको २३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामान्य प्रस्तावहरूमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आषाढ ३१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालीन ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले विशेष प्रस्तावहरूमा कम्पनीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्ने, कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियामक निकायहरूमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा सो कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी स्क्रापलगायत अन्य सेयर सम्पत्तिहरू बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ । त्यसैगरी सभाले सन्तोष अधिकारीलाई सञ्चालक समितिमा समेत अनुमोदन गरेको छ ।

लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेकपा (एमाले) काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने । आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘तपाईहरु लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ’, उनले भने ।

४ महिनामा साढे ८ अर्बको ईभी गाडी भित्रियो, ७२ प्रतिशत चाइनाबाट आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कातिकसम्म) ८ अर्ब बढीको विद्युतीय गाडी (ईभी) आयात भएको छ । चार महिनामा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको ३ हजार ४ सय ८७ वटा ईभी गाडी (कार, जीप र भ्यान) आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार अधिकांश ईभी गाडी चाईनाबाट भित्रिएका छन् । यो चार महिनामा चाईनाबाट मात्रै २ हजार ५ सय १० वटा ईभी गाडी भित्रिएका छन्, जुन कुला ईभी गाडी आयातको ७१.९८ प्रतिशत हो । चाईनाबाट धेरै जसो ५१ देखि १०० वाटका गाडी भित्रिएका छन् । यसैगरी, भारतबाट ९ सय ६९ वटा गाडी भित्रिएका छन् । भारतबाट १०० वाटसम्मका गाडी भित्रिएका हुन् । जर्मनीबाट ६ र अमेरिकाबाट २ वटा गाडी भित्रिएका हुन् । जर्मनीबाट १०१ देखि २०० वाटसम्मका ४ वटा र २०१ वाटदेखि ३०० वाटसम्मका २ वटा गाडी भित्रिएका छन् । अमेरिकाबाट भने १०१ वाटदेखि २०० वाटसम्मका २ वटा गाडी भित्रिएको विभागको तथ्यांकले देखाउँछ । कति क्षमताका ईभी गाडी कति भित्रिए ? विभागको तथ्यांकअनुसार ५० किलो वाटसम्मका १ हजार ४० वटा गाडी भित्रिएका छन् भने ५१ वाटदेखि १०० वाटसम्मका २ हजार १ सय १५ वटा, १०१ देखि २०० वाटसम्मका ३ सय १६ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा ईभी गाडी भित्रिएका छन् । उक्त गाडी आयातबाट ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।