सञ्चालन नहुँदै जीर्ण भयो बसपार्क, शौचालयमा परिणत
पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क ६ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका-६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख ३ हजार २५० रुपैयाँ मात्र खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल भवनका झ्यालढोका र सिसा फुटिसकेका छन् । साथै यो स्थान शौचालयमा परिणत भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले कुश्मा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरिसकेको भए पनि त्यसलाई सञ्चालन गर्ने नीतिको अभावमा यो उपयोगविहीन भएको हो । कुश्मा नगरपालिका-६ का अध्यक्ष शिव गिरीले शीघ्र नीति तर्जुमा गरी बसपार्क सञ्चालन गर्न माग गरेको बताए । १२ रोपनीमा फैलिएको बसपार्कमा यात्रीकक्ष र पसल कबल, टिकट बिक्रीकक्ष, चमेनागृह, हलुका तथा भारी सवारीसाधन राख्ने संरचना छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले कुश्मा बजारबाट हरेक दिन काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायत गन्तव्यका निम्ति सार्वजनिक यातायातका सवारीसाधन प्रस्थान गर्ने गरेका तथा तिनले सडकमै पार्किङ गर्दा सवारी व्यवस्थापनमा समस्या भएको बताए । यसैबीच, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठकबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर यथाशीघ्र सञ्चालन गरिने बताए ।
१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु, लागत ३२.३० करोड अमेरिकी डलर
काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ । आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ । आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको विज्ञप्तिमा जनाइएको छ । आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
काठमाडौंको तापक्रम ९.५ डिग्री सेल्सियस, पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडा्ैं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।
नेपालमा आयात घटाउन र निर्यात बढाउन युएईमा चासो
काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । त्यस अवसरमा नेपालका उद्योगी-व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली सङ्घ, युएई,नेपाल विजनेस काउन्सिल युएई तथा यूएईमा रहेका उद्योगी-व्यवसायीबीच नेपाल र युएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै युएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा गहन छलफल भएको उक्त दूतावासले जनाएको छ । नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए । यसैबीच, मङ्सिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो । मेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल निर्यात व्यावसायी महासङ्घका प्रतिनिधि सहभागी थिए । विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो ।
४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युतको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सब इञ्जिनियर रबिन कोइरालाले जानकारी दिए । उनका अनुसार शुक्रबार एक युनिटबाट ५ मेगावाट बिजुली उत्पादन भएको छ । सो आयोजनाको बाँकी रहेको दुई युनिटको पनि आइतबारसम्म परीक्षण गरेर केन्द्रीय प्रणालीमा जोडिने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए । ‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो । कुल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारीक रुपमा बिजुली प्रवाह गरिरहेको छ । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२/११ केभी सबस्टेसन निर्माण कार्य सम्पन्न गरेको थियो । चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रुपमा बिक्री गरी हालसम्म करिब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको छ । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड-१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । हालै चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सम्पन्न हुने बित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमूना आयोजना रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ । उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिने उनको भनाइ छ । नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनीका सचिव घनश्याम श्रेष्ठले बताए । नेपालमा नमूना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यासकेड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए । जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रुपमा ठूलो राहत दिने सकिने श्रेष्ठले बताए । सोही विशेषताका कारण काठमाडौं विश्वविद्यालयले उक्त आयोजनाको नमूना आफ्नो प्रयोगशालामा समेत सञ्चालन गरेको छ । हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमूना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन-अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजनको सिभिल निर्माण कार्य इसिआई बर्जगुरु, इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्वकै ठूलो टर्वाइन निर्माणकर्तामध्ये एक चिनियाँ कम्पनी डोङफोङले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण स्वदेशी कम्पनी नेपाल हाइड्रोले गरेको हो । कम्पनीले निर्माणाधिन ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको समेत सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । यसबाट हिउँद महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
गण्डकीमा बैंकको निक्षेप साढे ५ खर्ब र कर्जा साढे ३ खर्ब, क्याम्पसको सङ्ख्या २.८२% घट्यो
काठमाडौं । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७.७ प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा ४ लाख ३७ हजार ९७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने २.०७ प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत र ८.३८ प्रतिशतले कमी आएको छ । प्रमुख कृषि बालीको उत्पादनमा भने ४.७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४.७१ प्रतिशत, तरकारी उत्पादनमा ५.४४ प्रतिशत, फलफूल उत्पादनमा ३.८० प्रतिशत र मसला उत्पादनमा ४.५२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन ३.३८ प्रतिशत, अण्डाको उत्पादन १५.२९ प्रतिशत र मासुको उत्पादन १ प्रतिशतले ह्रास आएको छ भने माछाको उत्पादनमा ४.९९ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६.१९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा २८ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१४ प्रतिशत रहेको छ । त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९।२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२.४ प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छ भने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८८ प्रतिशत अर्थात् ३१ अर्ब १ करोड रुपैयाँ कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या ६.०१ प्रतिशतले वृद्धि भई ५५ हजार १४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४.३ प्रतिशतले वृद्धि भई ७३ हजार १२६ रहको छ भने होटलहरुको अकुपेन्सी ३०.७३ प्रतिशत छ । जुन गत वर्ष २४.६१ प्रतिशत थियो । आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार ४८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत थियो । सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः ३.४० प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत २.८२ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कुल कर्जा प्रवाह भने १.०७ प्रतिशतले ह्रास भई ३ खर्ब ४९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९.९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने
काठमाडौं । वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ । केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ । “‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो । इस एयरलाइन्सले रहेर भाडादर कायम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।
अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकाका खर्बपति एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग कुराकानी गरेका हुन् । ओलीले पनि समाजिक सञ्जालमा एलनसँग कुरा गरिरहेको छु भनेर स्टाटस राखेका छन् । उनले के विषयमा कुराकानी गरे भन्ने विषय भने खुल्न सकेको छैन । मस्कका कम्पनीले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्ने योजना बनाएको छ । उनले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग पनि गरिरहेका छन् । स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ । स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो यसअघि नै दिइसकेको छ । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरेका थिए ।