भाइरल ज्वरोका बिरामी बढे
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । उनले भने, ‘मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।’ अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले जानकारी दिए । उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेंगाी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताए । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । उनले भने, ‘दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन् ।’ मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । पुर्चौँडी क्षेत्रमा पनि अन्यको तुलनामा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचार गर्न पुग्नेमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए । मौसम परिवर्तनका साथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल सङ्क्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।’ पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्न उनले सर्वसाधरणलाई आग्रह गरे । प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हसने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापा दावी : शिक्षा ऐन छिटै टुंग्याउँछौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसदको सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको जानकारी दिए । उनले शिक्षा ऐन दशैंतिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए । महामन्त्री थापाले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउन सके छिटै शिक्षा विधेयक पारित हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।
अपांगता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपालमा
काठमाडौं । अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए । सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ । अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । ‘हामीले कतिपय स्थानमा अपांगता मैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगतामैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं, जसले नेपाल सवलांगका लागि मात्र नभइ अपांगताहरूका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ,’ उनले भने । विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे । ‘नेपाल प्रकृतिको अनुपम उपहार हो, यो देश साँच्चिकै सुन्दर छ, यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ, विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका अपांगता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन्, यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ,’ उनले भने । नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए । ‘इच्छा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो, जुन इच्छा शक्ति र आत्मविश्वासले तपाईंहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित गर्यो, यसले अपांगता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ,’ उनले भने । इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
‘आउटबाउन्ड’ पर्यटनमा अघि बढ्दै नेपाल, हजारौं नेपाली दशैंतिहारमा घुम्न तयार
काठमाडौं । नेपालमा संसारका धेरै देशबाट पर्यटक घुम्न आउनु स्वाभाविक हो । तर, नेपालीहरू आफै पर्यटक बनेर विभिन्न देश घुम्न जानुलाई पनि अब स्वाभाविक नै मान्दा अतिशयोक्ति नहोला । केही वर्षयता सुरु भएको नेपालीहरूको विदेश घुम्ने क्रम पछिल्लो समय तीव्र गतिमा बढिरहेको देखिन्छ । यस्ता गतिविधिले व्यापकता पाउँदै गएको छ । नेपालमा सञ्चालित सयौं टुर तथा ट्राभल एजेन्सीहरूले दसैंतिहार र छठजस्ता चाडपर्व लक्षित गरेर विदेश भ्रमणका लागि आकर्षक ‘टुर प्याकेज’ ल्याउने गर्छन् । यस्ता प्याकेजले नेपालीहरूलाई विदेश भ्रमण गराउन धेरै नै सहज बनाइरहेको छ । यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पनि पर्यटक हुन् है भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको सम्बद्ध पर्यटन व्यवसायीहरू बताउँछन् । त्यस्तै, टुर तथा ट्राभल प्याकेजका कारण नेपालीहरूको ‘आउटबाउन्ड टुरिज्म’ गतिविधि उल्लेख्य हिसाबमा बढिरहेको छ । अरू समयभन्दा चाडपर्वका बेला लामो छुट्टी हुने र चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएका कारण नेपालीहरू दशैंतिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । यसबारे यो एउटा गतिलो उदाहरण काफी छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा थाइल्यान्डबाट २५ हजार ६ सय ७८ पर्यटक नेपाल घुम्न आएका थिए । तर, सोही वर्ष करिब २१ हजार नेपालीहरू पर्यटक बनेर थाइल्यान्ड घुम्न गएको एक पर्यटन व्यवसायीले जानकारी दिए । ‘यो संख्याले के पुष्टि गर्छ भने नेपालीहरू पनि पर्यटक बनेर संसार घुम्न सक्छन्,’ ती व्यवसायी भन्छन्, ‘विडम्बना, थाई पर्यटकलाई नेपालले अन अराइभल भिसा दिन्छ तर नेपालीलाई थाइल्यान्डले अन अराइभल भिसा दिँदैन । भिसा पाउन धेरै नै लामो प्रक्रिया पूरा गर्नुपर्छ । यसबारे सरकारले पहल गर्नैपर्छ ।’ सुलभ ट्राभल प्याकेज रामवाण नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तथा स्वाँ होलिडेजकी अध्यक्ष जिस्वाँ तुलाधर इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढ्न थालेको बताउँछिन् । उनका अनुसार स्वाँ होलिडेजले दशैंलक्षित गरेर महिलाहरूलाई माल्दिभ्स घुम्न जानका लागि ‘स्पेसल प्याकेज’ ल्याएको छ । स्वाँ होलिडेजले परिवार नहुने महिला तथा परिवारमा अरू बाहिर घुम्न जान इच्छुक नभएर एक जना मात्रै जान इच्छुक भएका, माल्दिभ्स जान इच्छुक भएका तथा पैसाका कारण जान नसक्ने महिलाका लागि यो अफर ल्याएको अध्यक्ष तुलाधर बताउँछिन् । ‘यो हामीले एनआईएमबी बैंकसँग सहकार्य गरेर मासिक ११ हजार रुपैयाँ किस्ता १८ महिनामा तिर्ने गरी मिलाएका छौं,’ उनी भन्छिन्, ‘अरू प्याकेज त रेगुलर अन डिमान्डमै कस्टिङ गरिरहेका छौं, यो एउटा स्किममात्रै स्पेसल हो ।’ माल्दिभ्स नै रोज्नुको कारण पहिलो पटक यात्रा गर्दा भिसाको समस्या नहोस् र अर्को परिवारसँग जाँदा ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्छ । महिलाहरूले पनि त्यहाँ फ्री भएर इन्जोय गर्न पाउने उनले जानकारी दिइन् । यो प्याकेज १ लाख ७७ हजार रुपैयाँमा आउँछ । अरू ट्राभल एजेन्सीहरूले दुबई (यूएई), भियतनाम, बाली (इन्डोनेसिया) लगायत देशका लागि पनि स्किमहरू निकालेका छन् । तर, स्वाँ होलिडेजले निकालेको यो स्किम महिला लक्षित भएको हुनाले बजारमा धेरै प्रतिस्पर्धा गर्नु नपरेको अध्यक्ष तुलाधर बताउँछिन् ।स्वाँ होलिडेजले दसैंतिहार ‘पिक सिजन’ भएकाले अन्य धेरै देशका लागि टुर तथा ट्राभल प्याकेज बेचिरहेको छ । तुलाधरका अनुसार अहिले नेपालीहरूको रोजाइको पर्यटन गन्तव्य दुबई हो । दुबईका लागि १ लाख १० हजार बढीको प्याकेज हुन्छ ।त्यस्तै, थाइल्यान्ड १ लाख हाराहारी, सिंगापुर र मलेसिया १ लाख ३० हजार रुपैयाँ हाराहारी हुने उनी बताउँछिन् । बालीका लागि १ लाख ५० हजार, भियतनामका लागि १ लाख ३० हजारदेखि ५० हजारसम्मका डेस्टिनेसन प्याकेज चलिरहेका छन् । अध्यक्ष तुलाधर नेपाली विदेश घुम्न जाने क्रम पहिलेभन्दा अहिले घटेको बताउँछिन् । ‘अहिले कस्ट एकदमै बढी भएको छ,’ उनी भन्छिन्, ‘अहिले पनि फ्लाइटहरू त म्याक्सिमम फुल नै छन्, टुरभन्दा पनि हवाई टिकट महँगो छ । अहिले भन्नुपर्दा नेपालीहरू दसैंतिहार र पछि ५० देखि ६० हजार विदेश भ्रमणमा जान्छन् ।’ उनका अनुसार अहिले धेरै संख्यामा कर्पोरेट संस्थाका माध्यमबाट घुम्न जान्छन् । कतिपय कर्पोरेट शुल्क महँगो भएर स्टाफ भएर बसेका छन् भने कतिपय घुम्न भ्याइसकेका छन् । त्यसैगरी, सन् २००० देखि नेपालमा चिनियाँ पर्यटक भित्र्याइरहेको सीएन्डके नेपाल ट्राभल कम्पनीका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ चाडपर्वको छुट्टीमा विदेश घुम्न जाने नेपालीको संख्या बढ्दै गएको बताउँछन् । ‘हामीले नेपाललाई पर्यटक ल्याउने देश भन्छौं, तर कतिपय देशमा त्यहाँबाट नेपाल आउनेभन्दा नेपालबाट त्यहाँ जाने पर्यटकको संख्या धेरै छ,’ उनी भन्छन्, ‘अहिले भियतनाम, इन्डोनेसिया र क्याम्बोडियाजस्ता गन्तव्य नेपालीको रोजाइमा परेको छ ।’ उनका अनुसार पहिला थाइल्यान्ड, मलेसिया, सिंगापुर र दुबई नेपालीका रोजाइमा पर्ने देश हुन् । तर, पछिल्लो समय यी देश धेरै घुमिरहेको हुनाले नयाँ गन्तव्य भियतनाम, कम्बोडिया आगाडि छन् । आउँदै गरेको दसैंतिहार लक्षित गरेर उनको सीएन्डके ट्राभलले भने अहिलेसम्म कुनै प्याकेज तथा स्किम ल्याएको छैन । ‘बजार प्रतिस्पर्धी छ र अरू ट्राभल कम्पनीहरूले यस्ता अफर सार्वजनिक गरिरहेका छन्, व्यापार पनि राम्रो गरिरहेका छन्,’ उनी भन्छन्, ‘यसपालि मैले टफ कम्पिटिसन भएकाले नै नल्याएको हो, म चाहिं पर्ख र हेरकै अवस्थामा छु ।’ श्रेष्ठका अनुसार वार्षिक साढे २ लाख नेपाली पर्यटक बनेर विदेश घुम्नकै लागि बाहिरिन्छन् । त्यसैगरी, अर्को ट्राभल कम्पनी जेनिथ एक्सपेरियन्सेस ट्राभल्सकी प्रबन्ध निर्देशक मिहिका शाह पनि अहिलेको दसैंतिहारलाई लक्षित गरेर कुनै पनि स्किम तथा प्याकेज आफ्नो कम्पनीले नल्याए पनि नेपालीहरू घुम्न जाने ‘ट्रेन्ड भने ह्वात्तै बढेको बताउँछिन् । उनका अनुसार अहिलेको अवस्थामा हवाई टिकट पाउनै सकस छ । हवाई भाडा महँगो भएकाले पनि त्यतातिर ध्यान नदिएको उनी बताउँछिन् । ‘अहिले हवाईजहाजकाे सिट पाउन मुस्किल छ,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘महँगो हुनु पनि एउटा कारण भइहाल्यो, हामीले इन्डिभिजुललाई प्याकेज पनि निकाल्दैनौं, रिक्वायरमेन्ट अनुसार मात्रै बनाउँछौं ।’ उनका अनुसार पछिल्लो समय नेपालीलाई विदेश भ्रमणमा पठाउनै सकस भएको छ । ‘घुम्न जानेभन्दा पनि पढ्न भनेर विद्यार्थीहरू नै बढी विदेश जान्छन्,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘यही कारणले सिट पाइँदैन, भ्रमण पठाउन एकदमै गाह्रो छ, घुम्न जानेको संख्या पनि कम छ ।’ उनका अनुसार महँगो हवाई भाडामा कहाँ घुम्न जाने भन्ने पनि छ । सरकारले हवाई टिकटमा पनि भ्याट लगाएको छ । टिकटमा १३ र प्याकेजमा ५ प्रतिशत जोड्दा १८ प्रतिशत कर हुन आउने भएकाले घुम्न जाने नेपाली समस्यामा छन् । ‘हवाई भाडा केही सरल हुन सके विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्ने देखिन्छ,’ प्रबन्धक निर्देशक शाहले भनिन्, ‘सम्बन्धित निकायले पहल गरे यो समस्या समाधान हुने देखिन्छ ।’ अध्यागमन विभागका अनुसार सन् २०२४ अगस्ट महिनामा ९५ हजार ६ सय ८२ पुरुष र ४४ हजार ३ सय २२ महिला र अन्य १३ गरी कुल १ लाख ४० हजार १७ नेपालीहरू विदेश गएका छन् । यो हिसाबमा हेर्दा नेपालबाट वार्षिक औसत १६ लाखभन्दा बढी नेपाली विदेश गइरहेका छन् । तर, लामो समयदेखि नेपालीहरूलाई टुर तथा ट्राभल प्याकेज बेच्दै आएका एक पर्यटन व्यवसायीका अनुसार पछिल्लो पटक वार्षिक औसत २ लाख हाराहारी नेपालीहरू पर्यटकका रूपमा विभिन्न देश घुम्न जाने गर्छन् ।
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदहरूले गरे माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा उनीहरूले सो ध्यानाकर्षण गराउँदै छुट्टै कानुनले गौरवका आयोजना समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । आजको बैठकमा महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ, भेरी बबई डाइभर्सन र सिक्टा सिँचाइलगायत अन्य राष्ट्रिय गौरवका आयोजनामा पछिल्लो समयमा देखिएका समस्यामाथि छलफल भएको थियो । बैठकमा समितिका सदस्य कृष्णबहादुर रोकायले सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर यसको लागि आवश्यक स्रोतको व्यवस्थापन नगर्दा समस्या देखिएको बताए । उनले भने, ‘हरेक सरकारले हतारमा राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तर त्यसको आवश्यक बजेटको व्यवस्था नगर्दा ती आयोजना अलपत्र परेका हुन् । यसलाई समाधान गर्नका लागि पनि राष्ट्रिय गौरवका आयोजनासम्बन्धी कानुन नै आवश्यक रहेको छ ।’ समितिका सदस्य इन्दिरा जोशी गौतम, जगप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, किरणबाबु श्रेष्ठ, शेखरकुमार सिंह र गोपीबहादुर सार्की अछामीले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न ढिलाइ हुँदा लागत बढेको बताए । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सिक्टा सिँचाइ आयोजनाको आर्थिक वर्ष २०८०/८१ सम्ममा ४१.५८ प्रतिशत भौतिक र ४०.६२ प्रतिशत वित्तीय रुपमा काम सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘सबै गौरवका आयोजनामा आयोजना स्वीकृत गुरुयोजना अनुरूप वार्षिक रुपमा विनियोजन हुने बजेट अत्यन्तै न्यून हुने गरेको छ । यस्ता आयोजनाका प्रमुख तथा अन्य कर्मचारीको छिटो सरुवा हुने हुँदा आयोजनाको प्रगतिमा असर पर्ने गरेको छ ।
स्पाइसजेटले कर्मचारीको सवा २ अर्ब टीडीएस र १ अर्ब ३५ करोड सञ्चय कोष तिर्न सकेन
काठमाडौं । आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटको समस्या झन् बढ्दै गएको छ । कम्पनीले अप्रिल २०२० र अगस्ट २०२३ को बीचमा कर्मचारीहरूको तलबबाट काटिएको करिब २ अर्ब २० करोड रुपैयाँको ‘टीडीएस’ (स्रोतमा कर कट्टी) सरकारलाई नतिरेको स्वीकार गरेको छ । साथै, कम्पनीले सोही अवधिमा कर्मचारीहरूलाई १ अर्ब ३५ करोड ३० लाखभन्दा बढीको ‘प्रोभिडेन्ट फन्ड’ (पीएफ) भुक्तान गरेको छैन । बम्बई स्टक एकसचेन्ज (बीएसई) मा दायर गरिएको एयरलाइन्सको प्रारम्भिक प्लेसमेन्ट कागजातले आर्थिक वर्ष २००९–१० देखि २०१३–१४ का लागि करिब ७२ करोड रुपैयाँको टीडीएस विवादित रहेको बताएको छ । यसका अतिरिक्त स्पाइसजेटले भन्सार शुल्क, सेवा कर र एक अप्रत्यक्ष संघीय बिक्री कर (जीएसटी) को महत्त्वपूर्ण बक्यौतालाई ‘विवादित’ का रूपमा सूचीबद्ध गरेको छ । एयरलाइन्सले महिनाको अन्त्यसम्ममा ३० अर्ब रुपैयाँ उठाउने प्रयास गरिरहेको छ ताकि यसले आफ्नो अस्तित्व बचाउन सकोस् । ‘प्रिएरेन्ज्ड पेमेन्ट एन्ड डिपोजिट’ (पीपीडी) मा भनिएको छ, ‘हाम्रो आर्थिक अवस्थाका कारण, हामी कथित रूपमा हाम्रा धेरै जहाज भाडा सम्झौता अन्तर्गत पूर्वनिर्धारित छौं । जसका कारण हाम्रो फ्लिटमा रहेका धेरै जहाज ग्राउन्डेड भएका छन् । त्यस्ता कथित पूर्वनिर्धारितहरूले हाम्रा जहाज भाडामा दिने कम्पनीहरू र अन्य विक्रेताहरूद्वारा हाम्रो विरुद्धमा कानुनी वा प्रवर्तन प्रक्रियाहरू सुरु गरेको हुन सक्छ । यसले कम्पनीको व्यवसाय, वित्तीय स्थिति र सञ्चालनमा प्रतिकूल असर पारेको छ ।’ एयरलाइन्सले आफ्नो आधाभन्दा बढी जहाज ग्राउन्डेड गरेको छ । कम्पनीसँग जम्मा ६४ जहाज छन्, जसमध्ये ३६ वटा ३० जुन २०२४ सम्म ग्राउन्डेड भएका छन् । स्पाइसजेटका अनुसार जहाज भाडामा लिने कम्पनीहरूको बक्यौता भुक्तानीमा कथित रूपमा त्रुटि भएका कारण यस्तो भएको हो । साथै, रकम अभावका कारण कम्पनीले जहाज मर्मत गर्न सकेको छैन । महामारीपछि कम्पनीको ट्राफिक र बजार हिस्सा दुवै घटेको छ । कम्पनीले प्रस्तावित पुँजीको ठूलो हिस्सा फ्लिट अफलोड गर्न खर्च गर्ने पीपीडीमा उल्लेख छ । एयरलाइन्सले विगत तीन आर्थिक वर्षमा घाटा बेहोरेको छ । एजेन्सी
विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । आईतबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताइन् । उनले हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिइन् । उनले मुलुकभर सञ्चालनमा रहेका यि संस्थाहरुलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको बताइन् । सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको जानकारी दिइन् । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको बताइन् । माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिइन् । शिक्षालाई मान्व पुँजी निर्माण गर्ने मात्रै नभइ सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने बताइन् । उनले शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताइन् ।
बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो, अब सातामा ३ उडान
फाइल फोटो काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ । काठमाडौंबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौंबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् ।