‘बैंकको ऋण तिर्नु हुँदैन’ भन्ने प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ गर्न अनुमति दिएको हो । प्रसाईंले चरित्र हत्या गरेको भन्दै प्रहरी साइबर ब्युरोमा उजुरी परेको थियो । साेही उजुरीकाे आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाे हाे । प्रसाईंसहित २ युट्युबरविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाे छ । बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे । प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे । उनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका छन् ।
लुमिनस ब्याट्रीको डिलर मिट सम्पन्न, लुमिनस इन्डियाका प्रतिनिधि पनि उपस्थित
काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई ‘ब्राइटर विद लुमिनस’ नाम दिइएकाे थियाे । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरि रहेका डिलर, एमट्रेड प्रालिका प्रतिनिधि र लुमिनस इन्डियाका प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । सञ्चालन प्रमुख योगराज ढुगांनाले पावर ब्याकअप सोलुसनमार्फत नेपालमा योगदान पुर्याएको एक दशक पुरा भएकोमा सबैमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा लुमिनस ब्राण्डका उत्पादन, बजार अवस्था तथा भविष्यको रणनीतिलगायतका विषयमा पनि छलफल भएकाे थियाे । साथै विभिन्न विधामा उत्कृष्ट काम गर्न सफल डिलरलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै लक्की ड्रमार्फत एक जोडीलाई दुबई टुर प्याकेज पनि प्रदान गरिएकाे थियाे ।
१६ अर्बको लागतमा बन्यो खुदी २२० केभी सबस्टेसन
काठमाडौं । मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यममर्स्यांदी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो । सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमर्स्यांदीको स्वीचयार्डतर्फ विद्युत प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्यांदी–ममर्स्यांदी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ, उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’ मर्स्यांदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ । तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३/र३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । ६ वटा टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
टाटाको इभी पन्च एकैपटक चार सहरमा लन्च
काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार सहरमा लन्च भएको छ । एकैदिन औपचारिक रूपमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए । पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । टाटा पन्च इभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च इभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।
लगातार तीन दिन घट्यो सेयर बजार
काठमाडौं । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता सेयर किनबेच भएको छ । याे पनि पढ्नूहाेस् : सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल
सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा पुगेका छन् । सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा पुगेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै सेयर बजार निरन्तर उकालो लाग्दै २ हजार बिन्दुबाट ३ हजार पुगेको थियो । कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारप्रति लगानीकर्ता पनि उत्साहित भएका थिए । सरकार गठनपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको थियो भने ३० अर्ब रुपैयाँ बराबरको कारोबा भएको थियो । तर, भदौदेखि निरन्तर अोरालो लाग्दै ३ हजार बिन्दुबाट पुरानै बिन्दुमा पुग्न थालेपछि मन्त्री पौडेलले चासो दिँदै नेप्सेको कार्यालयमा पुगेका हन् । उनी राजश्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालसहित पुगेका थिए । किन ३ हजार बिन्दु्बाट २५ सयको बिन्दुमा झरेको भनेर अर्थमन्त्री पौडेलले नेप्सेका कर्मचारीलाई प्रश्न गरेका थिए । यसको उचित जवाफ नपाएसम्म प्रश्न गरिरहने उनले बताए । नेप्से परिसूचकसँगै कारोबरा रकममा पनि गिरावट आएपछि उनले जिज्ञासा राखेका थिए । ३० अर्बको कारोबार भएको नेप्सेमा २५ अर्ब रकम कहाँ गयो भनेरसमेत प्रश्न गरेका थिए । साउन महिनामा सर्वाधिक कारोबार भएकोमा भदौ लागेपछि निरन्तर गिरावट भइरहेको छ ।
भाइरल ज्वरोका बिरामी बढे
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । उनले भने, ‘मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।’ अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले जानकारी दिए । उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेंगाी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताए । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । उनले भने, ‘दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन् ।’ मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । पुर्चौँडी क्षेत्रमा पनि अन्यको तुलनामा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचार गर्न पुग्नेमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए । मौसम परिवर्तनका साथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल सङ्क्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।’ पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्न उनले सर्वसाधरणलाई आग्रह गरे । प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हसने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापा दावी : शिक्षा ऐन छिटै टुंग्याउँछौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसदको सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको जानकारी दिए । उनले शिक्षा ऐन दशैंतिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए । महामन्त्री थापाले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउन सके छिटै शिक्षा विधेयक पारित हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।